तिहारलाई दियो र पाला : विद्युतीय सामग्री छ्यापछ्याप्ती हुँदा बिक्रीमै समस्या
सारांश
- जनकपुरधामका कुम्हारहरूले तिहार र छठ पर्वका लागि माटाका सामग्री बनाउँछन्, तर आधुनिकताका कारण उनीहरूको आम्दानी घट्दै गएको छ।
- राजेश्वर र रामबली जस्ता कुम्हारहरूले माटोका सामग्री बेचेर सिजनमा सीमित आम्दानी गर्छन्, र उनीहरूले पुर्ख्यौली पेशा जोगाउन संघर्ष गरिरहेका छन्।
- विद्युतीय सामग्रीको बढ्दो प्रयोग र सरकारको प्रोत्साहनको अभावले माटाका सामग्री बनाउने पेशा संकटमा परेको छ।
जनकपुरधाम । राजेश्वर पण्डित उमेरले ६० कट्नै लागेका छन् । तर माटाका सामानहरु बनाउन युवाभन्दा पनि सक्रिय छन् । उनलाई आउँदै गरेको तिहारको लक्ष्मीपूजा र छठ पर्वका लागि माटोको दियो, हाथी, ढकना, सर्वालगायतका सामग्री बनाउने चटारो छ ।
यी चाडपर्वमा माटोका सामग्रीको माग उच्च हुने भएकाले उमेरको ख्याल नगरी राजेश्वर बिहानैदेखि काममा खटिन्छन् । जनकपुरधाम उपमहानगरपालिका-२४ बसहियाका स्थानीय राजेश्वरले माटोबाट निर्माण हुने विभिन्न कलात्मक सामाग्रीहरु बनाउन थालेको ४० वर्ष भइसकेको छ । उनी घर चलाउन पुर्ख्यौली पेसाका साथै अन्य काम पनि गर्छन् ।
‘माटोको सामग्री कुनै विशेष पर्व वा सिजनमा मात्रै बिक्री हुने गर्छ । त्यसमध्ये दीपावली र छठ हो, यही पेसाको भर पर्ने हो भने घर चलाउन हम्मे पर्छ’, उनी भन्छन्, ‘त्यसैले घरपरिवार धान्न अन्य पेशा समेत अपनाएको छु’ ।
उनले माटोको सामाग्री बेचेर सिजनअनुसार अरुले ३० हजारदेखि १ लाखसम्म आम्दानी गरेको देखेका छन् । ‘म एक सिजनमा लगभग ३५ हजारसम्म मात्रै आम्दानी गर्न सक्छु’, उनी सुनाउँछन् ।
_CRdJJm6qzp.jpg)
राजेश्वरको जस्तै दैनिकी वडा नम्बर १२ का स्थानीय ५१ वर्षीय रामबली पण्डितको पनि छ । उनले माटाका भाँडाकुँडाको व्यवसाय सुरु गरेको १५ वर्ष भएको छ । रामबली पनि एक सिजनमा राजेश्वर जस्तै ३० देखि ३५ हजारसम्म कमाउँछन् । उनको घरपरिवारमा अरु कोही यो पेसामा संलग्न छैनन् ।
‘आफू एक्लैले जति सक्छु त्यतिसम्म बनाउने कोसिस गर्छु । एक सिजनमा लगभग ३० देखि ३५ हजारसम्म आम्दानी हुन्छ,’ रामबली भन्छन् ।
राजेश्वर र रामबलीजस्ता माटाका सामग्री बनाउनेहरुको आम्दानी घट्दै जानुमा पर्वहरुमा बढ्दै गएको आधुनिकता पनि हो । दियोको ठाउँ अहिले विद्युतीय बल्बले लिन थालेका छन् । कम खर्चमा झिलिमिली सामग्री पाउने भएपछि उपभोक्ताहरु यसतर्फै आकर्षित भएको देखिन्छ ।
‘आजभोलि विद्युत्तीय बल्ब, झिलीमिलीको अत्यधिक प्रयोग हुने गरेको छ, जसकारण हामीले दिनरात एक गरेर बनाएको दियो बेच्न निकै समस्या छ’, रामबली भन्छन्, ‘त्यसमा पनि यति मिहिनेत गरेर निर्माण गरेको सामाग्रीहरुको उचित मूल्य दिँदैनन् । घाटा सहेर पनि आफ्नो पुर्ख्यौली पेसालाई जोगाउन लागिरहेको छु ।‘
पाँच वर्षअघि ५० रुपैयाँमा बिक्री हुने कलशको भाउ अहिले पनि उही छ । दियोको अहिले २ रुपैयाँ मात्रै बढेको राजेश्वर सुनाउँछन् ।
जनकपुरधाम उपमहानगरपालिका-१२ कुवाका बिल्टु पण्डित उमेर ७० वर्ष पार गरिसकेका छन् । उनलाई सघाउने कोही छैन, तर आफ्नो पुर्ख्यौली पेसा जोगाउन काम गरिरहेका छन् ।
_seKd4HyiYW.jpg)
‘छोरी हुँदा उनले सहयोग गर्थिन् तर छोरीको बिहे भइसक्यो । अब काममा सहयोग गर्ने कोही छैन’, उनी भन्छन् ।
देशमा स्थानीय, प्रदेश र संघ गरी तीन तहको सरकार छ । तर राजेश्वर, बिल्टु र रामबलीजस्तो पेसा गर्नेहरुका लागि प्रोत्साहन मिलिरहेको छैन । रामबली भन्छन्, ‘नगरमा मेयर बने पनि, प्रदेशमा मुख्यमन्त्री बने पनि हाम्रा लागि कोही छैनन्’ ।
पिठो पिँधेभन्दा तीन गुणा बढी माटोलाई पिँधेर त्यसमा रहेका कंक्रिटहरु निकालेर निर्माण गरिने माटाका सुन्दर कलात्मक दियो र कलशहरु विद्युतीय सामग्रीका कारण ओझेल परिरहेका छन् ।
_m9zMfehi82.jpg)
बिल्टु भन्छन्, ‘हामी १० देखि १५ दिन लगाएर दियो, कलश तयार पार्छौँ । तर बजारमा बेच्न जाँदा त्यो पनि थोरै मात्रामा बिक्री हुन्छ । हाम्रो पेसा बचाउन हामी यसमा आवद्ध छौँ घाटा व्यहोरेरै भए पनि ।‘
जनकपुरधाम उपमहानगरपालिका-२४ का वडा सदस्य रामबाबु पण्डितका अनुसार कुम्हालहरुले यति मेहनत गरेर बनाएका कलात्मक सामग्रीले बजार पाउन नसक्दा युवापुस्तामा यस पेसाप्रति वितृष्णा जागेको छ ।
‘पहिला पहिला दीपावली र छठ पर्वमा माटोकै दियो वा भाँडोहरु प्रयोग हुन्थ्यो तर अब त्यस्तो रहेन’, उनी भन्छन्, ‘अब माटोको दियोको साटो विद्युतीय दियो र बल्ब तिहार र छठमा प्रयोग हुन थालेको देखिन्छ । यसले माटोका सामग्री बनाउनेहरुको पेसा नै संकटमा पारेको छ ।‘
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण