मधेस प्रदेशमा नयाँ सरकार गठनबारे अन्योल बढ्दै
सारांश
- मधेस प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहलाई समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रयास भइरहेको छ।
- लोसपाको नेतृत्वमा नयाँ गठबन्धन बनाउने तयारी भइरहेको छ, जसमा जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनमत पार्टी सहभागी हुने सम्भावना छ।
- कांग्रेस, एमाले र जनमत पार्टीको गठबन्धनमा फाटो आएको छ र जनमत पार्टी विभाजनले कांग्रेसको बहुमतको सम्भावना कमजोर पारेको छ।
जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार गठनबारे अन्योल बढ्दै गएको छ । मुख्यमन्त्री सतिश कुमार सिंहलाई उनकै दलसहित सत्ता गठबन्धनमा रहेका सबै दलले समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको पहल भइरहेको छ ।
मुख्यमन्त्री सिंहले आज (मंगलबार) प्रदेश सभामा विश्वासको मत लिने योजना छ । यद्यपि, उनले विश्वासको मत प्राप्त गर्ने आधार साँघुरो छ । यससँगै प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आ–आफ्नो प्रयास तीव्र बनाएका छन् ।
आइतबारसम्म नेपाली कांग्रेस, एमाले र जनमत पार्टीको गठबन्धनमार्फत कांग्रेसको नेतृत्वमा सरकार बन्ने चर्चा चलेको थियो । दुई दिन नबित्दै उक्त गठबन्धनमै फाटो देखा परेको छ । कांग्रेस गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी हुने हल्ला चले पनि अहिले लोसपाकै नेतृत्वमा नयाँ गठबन्धन बन्ने चर्चा सुरु भएको छ ।
- लोसपाको नेतृत्वमा नयाँ समीकरण
मधेसी दलबिच ‘मधेस प्रदेशको नेतृत्व मधेसी दलले नै पाउनुपर्छ’ भन्ने मोटामोटी सहमति बनेको छ । लोसपा नेपालका केन्द्रीय महासचिव परमेश्वर साहका अनुसार लोसपाले जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनमत पार्टीसँग मिलेर नयाँ गठबन्धन बनाउने तयारी गरेको छ ।
साहले भने, ‘लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा गठबन्धन बनाउन उपेन्द्र यादवले पनि सहमति जनाइसक्नुभएको छ ।’ साहका अनुसार जनमत पार्टीसँग भने अहिले वार्ता भएको छैन, तर छिटै छलफल सुरु हुनेछ ।
सरकार गठनका विषयमा छलफल गर्न लोसपा अध्यक्ष महन्थ ठाकुर र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता तय भएको छ । दुवै अध्यक्ष अहिले जनकपुरधाममै छन् ।
१०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि कम्तीमा पनि ५४ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा लोसपा नेपालका ९, जसपा नेपालका १९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ सांसद छन् । यी चार दलसँग कुल ४४ सांसद छन् । जनमत लगायत अन्य साना दललाई विश्वासमा लिएर सरकार गठनको प्रयासमा यो गठबन्धन जुटेको छ ।
- कांग्रेस गठबन्धन धरापमा
यसबिच, कांग्रेस–एमाले–जनमत गठबन्धनमा दरार देखिँदै गएको छ । जनमत पार्टी गठबन्धनबाट निस्किएको खण्डमा कांग्रेस नेतृत्वको गठबन्धनसँग बहुमत पुग्ने छैन । अहिले मुख्य समस्या जनमत पार्टीभित्रै देखिएको छ । पार्टीका केही नेताहरूले सोमबार ‘जनस्वराज पार्टी’ दर्ता गरेका छन्, जसले सीके राउत नेतृत्वको जनमत पार्टीमा विभाजन ल्याएको छ ।
जनमत पार्टी विभाजित भएसँगै कांग्रेस नेतृत्वमा बहुमतको दाबी स्वतः कमजोर भएको छ ।
- लोसपाको धारणा अझ अस्पष्ट
लोसपा नेतृत्वको विषयमा अन्तिम निर्णय भने अझै भएको छैन । प्रवक्ता आभाष लाभका अनुसार, लोसपाले सरकारको नेतृत्व गर्ने कुरा अहिलेसम्म फाइनल भएको छैन । कसले नेतृत्व गर्ने भन्ने निर्णय अध्यक्ष ठाकुरले तय गर्ने उनको भनाइ छ ।
अध्यक्ष महन्थ ठाकुरले मंगलबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘आज मेरो महोत्तरीमा कार्यक्रम छ । त्यहाँको कार्यक्रम सकिएपछि पत्रकार सम्मेलन गरेर पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नेछौँ ।’
- मुख्यमन्त्रीको विश्वासको मत
मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने कार्यक्रम छ, तर दलहरूले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत पाउने सम्भावना अत्यन्त न्यून देखिएको छ । यस्तो अवस्थामा उनले प्रदेश सभा बैठकमा सम्बोधन गरी राजीनामा दिने सम्भावना बलियो बनेको छ ।
योसँगै मधेस प्रदेशको सत्ता फेरि एकपटक अस्थिर मोडमा पुगेको छ । लोसपाको नेतृत्वमा नयाँ गठबन्धन बन्ने वा कांग्रेसको पहल सफल हुने भन्ने विषय अब केही दिनभित्र स्पष्ट हुनेछ । यतिवेला भने मधेसको राजनीति पुनः उथलपुथलको चरण प्रवेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण