मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
राजनीति

निर्वाचनमा भाग लिने कि नलिनेबारे नेकपामा अलमल

बुधबार, २९ असोज २०८२, १२ : ०३
बुधबार, २९ असोज २०८२

सारांश

  • नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निर्वाचनमा भाग लिने वा नलिने अन्योलमा छ।
  • सर्वोच्च अदालतमा रिट दायर भएपछि नेकपाले निर्वाचनमा भाग लिनेबारे निर्णय गरेको छैन।
  • पार्टीको नाम परिवर्तन र वामपन्थी घटकहरुसँग एकताको पहल भइरहेको छ।

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तरिम सरकारले फागुन २१ गते घोषणा गरेको निर्वाचनमा भाग लिने वा नलिने भन्नेमा अन्योल देखिएको छ ।

भदौ २३ र २४ गते जेनजी विद्रोहको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले संसद् विघटन गरी निर्वाचन घोषणा गरेको थियो । तर कार्की सरकार गठन र संसद् विघटन असंवैधानिक भएको भन्दै संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा झन्डै एक दर्जन रिट दायर भएपछि नेकपा अन्योलमा देखिएको हो ।

यद्यपि नेकपाले निर्वाचनमा भाग लिने निर्णय यसअघि नै गरिसकेको छ । स्थायी समिति सदस्य सन्तोष बुढाले निर्वाचनमा भाग लिने वा नलिनेबारे पार्टीले कुनै निर्णय नगरेको बताए ।

‘निर्वाचनमा भाग लिने भनेर हाम्रो पार्टीले पहिल्यै निर्णय गरिसकेको छ । तर जेनजी विद्रोहपछि बनेको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेको छ’, रातोपाटीसँग बुढाले भने– ‘निर्वाचन हुने वा नहुने निश्चित छैन । सर्वोच्च अदालतमा समेत यसबारे रिट परेको छ । निर्वाचन भयो भने भाग लिन्छौँ । नभएका के गर्ने भनेर अहिले नै निर्णयमा पुगेका छैनौँ ।’

यस्तै निर्वाचन आयोगका दल दर्ता प्रक्रिया जारी रहेको उनले जानकारी दिए । पार्टीको नाम सम्बन्धमा माओवाद, मार्क्सवाद, लेनिनवाद जस्ता पुच्छर नराख्नेगरि विभिन्न प्रस्ताव आएको उनले बताए ।

उनले भने– ‘समान विचारधारा र कार्यदिशा बोकेका वामपन्थी र कम्युनिस्ट घटकहरूलाई समेट्ने गरी पार्टीको नाम राख्नेछौँ ।’ नेकपाले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत पार्टीसँग एकता र ध्रुवीकरणको पहल गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप