पदाधिकारी बैठकमा अल्पमतमा परेका भनिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबारदेखि सुरु केन्द्रीय समिति बैठकको सामना कसरी गर्लान् ? केन्द्रीय सदस्यहरूले कति खुलेर बोल्न सक्लान् ? नेतृत्वले केन्द्रीय सदस्यहरूको कुरा सुन्ला ? पूर्वराष्ट्रपति विद्या भण्डारीको स्थगित गरिएको सदस्यता केन्द्रीय समितिले खोल्न सक्ला ? लगायत विषयमा सोही पार्टीका नेता तथा निवर्तमान सांसद पदम गिरीसँग रातोपाटीका लागि रोहित दाहालले कुराकानी गरेका छन् । प्रस्तुत छ, गिरीसँग गरिएको कुराकानीको सम्पादित अंश–(पूरा भिडियोमा)
हाम्रो समाज कस्तो छ भने कसैको बारेमा उज्यालो देख्न थाल्यो भने अँध्यारो देख्दै नदेख्ने, मानौँ उसको अँध्यारै छैन । अनि अँध्यारो देख्न थाल्यो भने यसको जीवनको उज्यालो भाग नै छैन, सबै अँध्यारो मात्रै छ भनेर देख्ने । सतहमा आएका कुराहरूको आधारमा धारणाहरू निर्माण गर्ने । कहिलेकाहिँ मपनि यस्ता कुराबाट प्रभावित हुन्छु । मैले पनि त्यही आधारमा दृष्टिकोणहरू बनाउँछु र बोल्दै हिँडेको हुन्छु ।
जहानियाँ राणा शासन र पञ्चायतलाई फाल्यौँ । ठुलठुला राजनीतिक परिवर्तनहरू पनि गर्यौँ । आखिर यही नेपालका राजनीतिक पार्टी र यिनकै नेताहरूको बलमा परिवर्तन भएको हो । यो स्टुडियोमा बसेर हामी संवाद गरिरहेका छौँ, यो मिडिया स्वतन्त्रता हामीले पायौँ । जाति, भाषा, धर्म, संस्कृति सबै क्षेत्र, वर्गका मान्छेहरूले अधिकारहरू पाए, त्यो संविधान हामीले लेख्यौँ । तर अहिले पुराना पार्टीहरू भनेका केही पनि होइन, काम नलाग्ने हुन्, देशलाई बरबाद बनाए, यी पार्टीका नेताहरू भनेका अयोग्य हुन्, भ्रष्ट हुन् भनेजस्तो गरी जुन भाष्यहरू स्थापित गरिएको छ नि, वास्तवमा यसको वस्तुनिष्ठ समीक्षा गर्न सकिरहेका छैनौँ ।
नागरिकले अनुभूति गर्न सक्ने गरी समाजलाई नेतृत्वदायी भूमिका खेल्ने कुरामा चाहिँ दल, दलका नेताहरू काहीँ न काहीँ चुकेको अवश्य हो । यसकारण आम जनतामा एक किसिमको निराशा व्याप्त हुने स्थिति सिर्जना भयो । सरकारी अड्डामा नागरिकले घुस नखुवाईकन सेवा पाउँदैन । उद्योगी, व्यापारीदेखि सेवाग्राहीसम्मले सजिलै काम गर्न पाएँ भनेर भन्ने अवस्था छैन । विकास निर्माणका आयोजनाहरू हेर्ने हो भने वर्षौँदेखि त्यत्तिकै अलपत्र पारिएको छ । राज्यको लगानी बालुवामा पानी हालेजस्तो छ । ठेकेदारले समयमा काम गर्दिँदैन । जनता आजित भएका छन् । त्यसले आक्रोशहरू बढाएको छ । यी गुनासा सरकारले तुरुन्तै रेस्पोन्स गर्छ, सुन्छ है भन्ने विश्वास नै भएन ।
मैले पुराना दलका नेताहरूलाई धमाधम गाली गर्ने र अलि लोकप्रियतावादी कुरा गर्दिने हो भने तपाईंको टीआरपी बढ्छ । तर यसले समाधान त हुँदैन । तर जे हो अवस्था, त्यसको सही ढंगले समीक्षा चाहिँ गर्नुपर्छ । नेता वा पार्टी के कुरामा सफल थिए, के कुरामा चुके ? चुकेको कुरामा चाहिँ नेताहरूले आत्मसमीक्षा पनि गर्नुपर्छ ।
जनताले विरोध पनि गर्छन्, सँगसँगै माया पनि गर्छन् । नेताहरू अझै खुल्न सक्नुपर्छ । खुलेर बोल्नुपर्छ । हाँसेर बोल्नुपर्छ । जनतातिर फर्केर बोल्नुपर्छ । जनतासँग आँखा जुधाएर आनन्दसँग बोल्न सक्ने हुनुपर्छ ।
नेपाली आमाका छोराछोरीहरू, भर्खरै स्कुल तथा कलेज पढ्दै गरेका हाम्रा छोराछोरीहरू, भाइबहिनीहरूको मृत्युवरण भयो । यो धेरै ठुलो पीडादायी घटना हो । मैले मेरो घरको बच्चालाई सम्झिनुपर्छ । त्यो रगतको मूल्य सानो छैन । २३ गतेको घटना कसरी घट्यो ? यसको न्यायिक छानबिन हुनुपर्छ । यसमा दोषी जो भेटिन्छ त्यो मान्छेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ । यसमा सम्झौता गर्नुहुन्न ।
जुन दुःखद घटना भयो, त्यसमा मृतकलाई श्रद्धाञ्जली दिने, परिवारप्रति सहानुभूति व्यक्त गर्ने र यसको छानबिन गर्ने पक्षमा चाहिँ उहाँले अझै हाइ साउन्डमा आफ्नो कुरा राख्नुपर्छ । अर्को कुरा पार्टी न्यायिक छानबिन आयोगको पक्षमा छ ।
केपी शर्मा ओलीज्यूले आदेश दिनुभएको रहेछ, उहाँको कारणले घटना घटेको रहेछ भने उहाँलाई उन्मुक्ति दिनुपर्छ भनेर कसैले बोल्छ ? म बोल्दिनँ । उहाँले गल्ती गरेको हो भने सजायको भागिदार हुनुपर्छ । अरू नागरिकसरह उहाँले पनि कारबाही भोग्नुपर्छ ।
निश्चित रूपमा जिम्मेवारी हुन्छ । यसमा लुकाउनुपर्ने कुरा छैन । सरकारको नेतृत्व गरेको हिसाबले केपी शर्मा ओली देशको प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँकै नेतृत्वमा सरकार चलिरहेको सन्दर्भमा जुन घटना २३ गते घट्यो, त्यसको नैतिक जिम्मेवारी सरकारले अवश्य पनि लिनुपर्छ ।
हामीले आफूलाई सच्याउनुपर्छ । काहीँ न काहीँ कमजोरी त अवश्य पनि देखिन्छ । यसलाई लुकाउनुपर्ने कुरै छैन । त्यसबाट आत्मसमीक्षा नगर्ने हो भनेदेखि भोलिको बाटो हामीले तय गर्न सक्दैनौँ ।
यही कुरालाई बोध गरेर पार्टीले दुई महिनाभित्र नै महाधिवेशन गर्ने भन्ने निर्णय गरिसक्यो । महाधिवेशनको हलमा आउने प्रतिनिधिहरूले यी सबै विषय, त्यो बेलासम्म घटनाको बारेमा पनि सबै कुरा जान्छ ।
त्यो हैसियत त महाधिवेशनका प्रतिनिधिले राख्छन् नि त । सार्वभौम महाधिवेशनका प्रतिनिधिहरूलाई त्यो जिम्मा दिँदा हुन्छ । उहाँहरूले नै आफ्नो नेतृत्व क–सकले गर्दा अबको समय, परिस्थितिअनुसार सारा नेपाली जनताको भावना, चाहना के हो र अबको समयको माग के हो, त्यसलाई बुझेर प्रतिनिधिहरूले फैसला गर्नुहुन्छ ।
बहुमत सदस्यले तपाईं बिदा हुनुस् भन्यो भने म अध्यक्ष बसिरहन्छु भनेर किन भन्नुहुन्छ ? भन्नुहुन्न नि ।
दुःखसुखसँग जोडिएर आएका, संघर्ष गरेर आएका, लामो समय राजनीतिक जीवनमा बिताएका योग्य र सक्षम मान्छेहरूको पंक्ति अहिले नेतृत्व परिवर्तन गर्ने कि, दुई महिनापछि गर्ने कि, भोलि गर्ने कि, अलि पछि गर्ने कि वा के गर्ने भन्ने सन्दर्भमा निर्णय गर्न सक्षम छन् । केन्द्रीय सदस्यहरूलाई खुलेर बोल्न दिनुपर्छ । नेतृत्वले सुन्नुपर्छ । प्रतिशोध साँध्ने काम हुनुहुँदैन ।
अहिलेको सरकार एउटा विशिष्ट परिस्थितिमा बनेको हो । यसलाई त हामीले सामान्य स्थितिमा बनेको सरकार हो भनेर भन्नुहुँदैन । त्यस्तो भन्दाखेरि त्यो अर्घेल्याइँ पनि हुन्छ । र, जनताको बिचमा त्यो स्वीकार्य पनि हुँदैन । त्यति कुरो हामीले ख्याल गर्नुपर्छ । मैले केपी शर्मा ओलीज्यूसँगको भेटघाटमा पनि यो विषयमा कुरा गरेको छु ।

देश अत्यन्त जटिल मोडमा छ । म त भन्छु, देश इतिहासकै सबभन्दा सङ्कटको बिन्दुमा छ ।
हामीले विवेक पुर्याउन सकेनौँ भने हाम्रै अगाडि देश धेरै ठुलो बरबादीको खाडलमा जाने स्थिति छ ।
पाँच हजारभन्दा बढी कैदीहरू बाहिर छन् । चौध, पन्ध्र सय आधुनिक हतियार बाहिर छन् । कतिपयले त घरकै कम्पाउन्डभित्र भूतपूर्व आर्मी, पुलिसहरूलाई राखेर सलुट हान्न लगाइरहेका छन् । तिनै मान्छेका हातमा पनि यो हतियार नपुगेको होला भनेर कसरी भन्नुहुन्छ ? जातीय, क्षेत्रीय मुद्दा उठाएर देशलाई विखण्डन गर्न चाहने तत्त्वहरू छन् । देशको एकता र अखण्डतालाई भाँड्न चाहने मान्छेका हातमा यो हतियार पुग्दैन भन्ने के छ ? लुटपाट र आगजनी मच्चाउने मान्छेहरूलाई पुलिसले मुस्किलले पक्रेर ल्याएको हुन्छ तर गृहमन्त्रीले छोडिदिनुहुन्छ । पार्टीहरू पनि एक प्रकारले रक्षात्मक स्थितिमा छन् । यही अनुकूल बेला हो, यही बेलामा वितण्डा मच्चाउनुपर्छ भनेर आन्तरिक रिहर्लसलमा छन् ।
प्रतिक्रिया