बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
थुनछेक बहस

पूर्वसभामुख महराका वकिलले भने– नभेटिएको सुनको कथा बुनेर प्रतिवादी बनाइयो

सामान्य तारेखमा छाड्नुपर्ने जिकिर
बुधबार, २९ असोज २०८२, १५ : १२
बुधबार, २९ असोज २०८२

सारांश

  • पूर्व सभामुख कृष्णबहादुर महराको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ।
  • अधिवक्ताहरूले महरालाई सुन तस्करीको आरोप अनुमानको आधारमा लगाइएको दाबी गरे।
  • सरकारी वकिल कार्यालयले भने अनुसन्धानको आधारमा महरालाई तत्काल छुट दिन नमिल्ने जिकिर गरेको छ।

काठमाडौँ । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा बुधबारदेखि थुनछेक बहस सुरु भएको हो । 

महराको तर्फबाट सुरुमा अधिवक्ता मुरारी सापकोटा र अधिवक्ता सोमनाथ सापकाेटाले बहस गरेका छन् । मुरारी सापकोटाले महरालाई भेपमा सुन छ भन्ने अनुमानको भरमा अभियोजन गरिएको दाबी गरे । 

'कति परिमाणमा सुन जफत भएको हो त्यो अभियोगपत्रमा देखाउन सकेको देखिँदैन, मात्रै अन्दाजको भरमा ९ केजी सुन भेपमा थियो होला भन्ने आधार लिएको देखियो’, उनले भने । 

'सुन तस्करीमा अभियोजन गर्दा यति परिणाममा सुन आएको थियो भनेर भन्न सकेको छैन । कुनै व्यक्तिले सुन थियो भनेको आधारमा मात्रै अभियोजन लिइएको छ,’ अधिवक्ता सापकोटाले भने, 'डेढ महिना जफत भएको भेप भन्सार कार्यालयमा राखेर अनुमानको भरमा मात्रै अभियोजन गरिएको छ ।’

उनीपछि अधिवक्ता सोम सापकोटाले बहस गरेका थिए । उनले मुद्दा दर्ता गर्न वारदात स्थापित हुनुपर्ने जिकिर गरे ।

'अभियोजन गर्न माल बस्तु जफत हुनुपर्छ त्यो देखिँदैन,’ सापकोटाले भने, ’भेपमा सुन थियो भनेर कथा बुनेको आधारमा मुद्दा दर्ता भएको छ ।’ सुन तस्करीको विषयमा बनेको जाँचबुझ आयोगले दिएको प्रतिवेदनलाई प्रमाणको आधारमा लिन नहुने उनले जिकिर गरे ।

महराको तर्फबाट बहस सकिएपछि जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट तीन जनाले बहस गरे ।

जिल्ला सरकारी वकिल कार्यालयले जाँचबुझ आयोगको प्रतिवेदनको आधार र महराको कल डिटेललाई आधार मान्दा अहिले नै छुट दिन नमिल्ने जिकिर गरेको छ । 

सुन तस्करीको आरोपित महराको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएका आधारमा भाग्न सक्ने देखिएकाले पक्राउ गर्नु परेको दाबी सरकारी वकिलको कार्यालयले दाबी गरेको छ । 

तीन जना सरकारी वकिलले बहस गरेपछि महराको तर्फबाट जवाफी बहसमा अधिवक्ता चन्द्र गुरागाईँले हचुवाको भरमा महराविरुद्ध अभियोजन गरेको दाबी पेस गरे ।

'सुन तस्करीमा महरालाई किन अभियोजन गर्नु परेको हो सरकारी वकिलहरूले स्पष्टसँग राख्न सकेको देखिँदैन,’अधिवक्ता गुरागाईँले भने, ’मात्रै जाँचबुझ आयोगको प्रतिवेदन र सुन थियो भनी अन्दाजको आधारमा प्रतिवादी बनाएको छ ।’ 

तसर्थ महरालाई सामान्य तारेखमा छोड्नु पर्ने उनले जिकिर गरे । गुरागाईँको बहसपछि वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले जवाफी बहस गरेका छन् । वरिष्ठ अधिवक्ता श्रेष्ठले महराको सुन तस्करीमा कुनै संलग्नता नदेखिएको भन्दै सामान्य तारेखमा छाड्नु पर्ने जिकिर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप