राजनीतिक स्थिरता नहुनुको कारण शासकीय स्वरूप र निर्वाचन प्रणाली : साह
सारांश
- आजपा अध्यक्ष प्रभु साहले राजनीतिक अस्थिरताको कारण शासकीय स्वरूप र निर्वाचन प्रणाली भएको बताए।
- उनले संसद पुनर्स्थापनाको सट्टा ताजा जनादेशको लागि चुनावमा जानुपर्ने र वर्तमान व्यवस्था परिवर्तन गर्नुपर्ने धारणा राखे।
- साहले कांग्रेस र एमालेको अनैतिकता र सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तेस्रो जनआन्दोलनको आवश्यकता औंल्याए।
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशमा राजनीतिक स्थिरता नहुनुको कारण नेपालको शासकीय स्वरूप र निर्वाचन प्रणाली रहेको बताएका छन् । उनले संसद् पुनर्स्थापना नभई ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने बताए ।
बुधबार राजधानीमा आयोजित देशको वर्तमान विषम परिस्थितिको बारेमा आजपाको धारणा सार्वजनिक गर्दै उनले अहिलेको सिस्टमलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए । वर्तमान व्यवस्थालाई उनले दलतन्त्रको ओढारको संज्ञासमेत दिए ।
उनले देश अब चुनावमा गइसकेको बताउँदै चुनाव भाँड्न दायाँबायाँ गर्ने अधिकार कसैलाई पनि नरहेको बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको अनैतिकताले अहिलेको दुर्दशा भएको उनको आरोप छ ।
एमालेलाई संसद् पुनर्स्थापनाको पक्षमा टाउको नउठाउन उनले आग्रह गरे । संसद् पुनर्स्थापनाको कुरा जनताले उही बेलामा खारेज गरिदिइसकेको बताउँदै आजपा अध्यक्ष साहले फेरि गिजोल्ने काम आफूहरूलाई स्वीकार्य नभएको बताए ।
दलतन्त्रको लुट र भ्रष्टाचारविरुद्ध तेस्रो जनआन्दोलन आवश्यक रहेको बताउँदै उनले अहिलेको व्यवस्था रहँदासम्म देशलाई प्रगतिको दिशामा लान सकिँदैन भनेर आफूहरूले तेस्रो जनआन्दोलनको उद्घोष गरेको बताए । आफूहरूको तेस्रो जनआन्दोलनको बलमा जेनजीहरुले भ्रष्टाचारविरुद्धको अभियान उठान गरेको पनि उनले बताए । साहले गत भदौ २३ गते मात्रै जेन–जीको आन्दोलन रहेको र २४ गते हत्यारा सरकारको विरुद्ध आम जनता सडकमा आएको बताए ।
‘मेरो विचारमा केपी र देउवाको गठबन्धन थियो । ती दुईवटा गुटबाहेक जति पनि राजनीतिक दलहरू थिए, तिनीहरूको कुनै न कुनै ढंगको समर्थन जेन–जी आन्दोलनप्रति थियो । आम जनविद्रोहमा सहभागिता थियो भनेर यो कुरालाई स्वीकार गर्नुपर्छ,’ आजपा अध्यक्ष साहले भने ।
तर, जेन–जी आन्दोलनलाई संस्थागत गर्ने दिशामा जानुको सट्टा जेन–जीको नाम भजाएर विदेशीको पोल्टामा लगेर थुपार्दिने काम भएको बताए । आजको सरकार र सबै आन्दोलनको जस अबजस राजदूतावासले तय गर्ने स्थिति बनाइएको उनको टिप्पणी छ । आम नेपाली जनताले बदलावको लागि लडेको भए पनि जेन–जी आन्दोलन कसैलाई कुर्सी दिनका लागिमात्रै नरहेको उनको भनाइ छ ।
नेपाली जनताले कांग्रेस र एमालेको अपवित्र राजनीतिलाई निषेध गरिदिएको पनि उनले बताए । नेता साहले सुशीला कार्की आम जनताको स्वामित्वमा नभएर तिरस्कृत नेताहरूको प्रस्तावमा प्रधानमन्त्री बनेको टिप्पणी गरे । सरकार बनेपछिको गतिविधिहरू पनि अदृश्य र सन्दिग्ध रहेको उनले बताए ।
वर्तमान सरकारले सिंहदरबार, सर्वोच्च अदालतलगायतमा भएको तोडफोड र आगजनीको बारेमा कुनै चासो नदेखाएको पनि नेता साहले बताए । वर्तमान सरकारले आज हुकुमी शासन चलाइरहेको पनि उनले बताए ।
साथै, प्रधानमन्त्री कार्कीले करारको कर्मचारी हटाउने निर्देशन दिएर अन्याय गरेको पनि बताए । दरबन्दी सिर्जना गरेर उनीहरूलाई स्थायी गराउनुको सट्टा प्रधानमन्त्री कार्कीले गरिब जनतालाई दुःख दिने र रुवाउने काम गरेको बताए । उनले करारको कर्मचारी हटाउने निर्णय फिर्ता लिन पनि सरकारलाई सुझाव दिए ।
उनले पूर्व प्रधानमन्त्री केपी ओलीले नियुक्ति गरेको गलत मान्छेलाई हटाउनुको सट्टा प्रधानमन्त्री कार्कीले आयोग नै खारेज गरिदिएको भन्दै आपत्ति जनाए । प्रधानमन्त्री कार्कीले सुकुम्वासीलाई रुवाउने, श्रेणीविहीन कर्मचारीहरूलाई आतङ्कित बनाउनेजस्ता गरिबमारा काम गरिरहेको उनले बताए । सरकारका मन्त्रीहरूको बिजुलीको बिल सरकारले तिर्ने तर जनताको बिजुलीको बिल तिर्न नहुने सरकारको निर्णयप्रति असहमति जनाउँदै उनले उर्जामन्त्री कुलमान घिसिङलाई आफ्नो बिल आफै तिर्नुपर्ने चुनौती दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण