बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आन्दोलनको उपलब्धि

सडकको ऊर्जा अब मतपेटिकातर्फ मोडियोः जेनजी आन्दोलनले जोसिए नयाँ मतदाता

शुक्रबार, ३१ असोज २०८२, ०८ : ५१
शुक्रबार, ३१ असोज २०८२

सारांश

  • जेनजी आन्दोलनपछि युवाहरू मतदानमार्फत देशको परिवर्तन चाहन्छन् र मतदाता नामावलीमा नाम दर्ता गराइरहेका छन्।
  • निर्वाचन आयोगले मतदाता नामावली दर्ता अभियान सञ्चालन गरिरहेको छ, जसमा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ।
  • युवा पुस्ताले देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध मतपेटिकामार्फत परिवर्तन ल्याउन चाहेको कुरा व्यक्त गरेका छन्।

मकवानपुर । जेनजी आन्दोलन पश्चात युवाहरू मतपेटिकामार्फत देशको मुहार बदल्न अग्रसर भएका छन् ।

फागुन २१ गतेका लागि घोषित निर्वाचनमा मतदान गर्न उत्सुक युवा पुस्ता मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन सक्रिय देखिएका छन् । निर्वाचन आयोगले निर्वाचनलाई लक्षित गरेर आगामी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यक्रम सञ्चालन गर्दैछ ।

मतदाता नामावलीमा नाम दर्ता गर्न नयाँ मतदाताको उत्साहजनक भिड देखिएको छ । असोज १० देखि सुरु गरेको नामावली दर्ता अभियानमा युवाहरूको उत्साहजनक सहभागिता देखिएको आयोगका कर्मचारी बताउँछन् ।

मकवानपुरस्थित बागमती प्रदेश निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ताका लागि जेनजी युवाहरूको बाक्लो उपस्थिति छ । कार्यालयका अनुसार असोज १० देखि २८ गतेसम्म मात्रै ९५९ नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन अधिकृत हरिप्रसाद ढकालले अनलाइन प्रणालीका कारण सेवा प्रवाह सहज भएको बताए । उनका अनुसार, सेवाग्राही बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म व्यवस्थित रूपमा सेवा लिन आइरहेका छन् ।

मतदाता नामावलीमा नाम दर्ता सम्बन्धमा विगतको तुलनामा अहिलेको परिस्थिति फरक रहेको निर्वाचन कार्यालयका एक कर्मचारी बताउँछन् । पहिले राजनीतिक दलहरूले मतदातालाई नाम दर्ताका लागि ल्याउने गरेकोमा अहिले युवाहरू आफैँ आउने गरेको उनको भनाइ छ ।

‘अनलाइन प्रणालीको प्रयोगले मतदाता दर्ता प्रक्रिया सहज भएको छ । सेवाग्राहीले अहिले सहज महसुस गरिरहेका छन्,’ ढकालले भने, ‘हामीले मतदाता दर्ता, नाम सच्याउने र स्थानसारी लगायतका सबै सेवा एकसाथ प्रदान गरिरहेका छौँ ।’

अनलाइनबाट आवेदन दिनेहरू आवश्यक कागजात बुझाउन र फोटो खिच्ने प्रयोजनका लागिमात्र निर्वाचन कार्यालय आउने गरेको उनको भनाइ छ ।

मतदाता नामावलीमा नाम दर्ता सम्बन्धमा विगतको तुलनामा अहिलेको परिस्थिति फरक रहेको निर्वाचन कार्यालयका एक कर्मचारी बताउँछन् । पहिले राजनीतिक दलहरूले मतदातालाई नाम दर्ताका लागि ल्याउने गरेकोमा अहिले युवाहरू आफैँ आउने गरेको उनको भनाइ छ ।

‘पहिले दलहरूले बसमा हालेर मतदाता ल्याउँथे, अहिले नागरिक आफैँ स्वतःस्फूर्त रूपमा नाम दर्ताका लागि आउँछन्,’ ती कर्मचारीले भने, ‘अहिले नाम दर्ताका लागि अधिकांश युवा आउने गरेका छन् । उनीहरू कार्यालय खोज्दै आफैँ आएका हुन् ।’

वर्तमान पुस्ता प्रविधिमैत्री भएकाले प्रक्रिया सहज भएको ती कर्मचारी बताउँछन् । उनले युवाहरूमा मतदानलाई लिएर उत्साह देखिएको बताए ।

नयाँ पुस्ताको नयाँ सोच

देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध आफूहरूले आन्दोलन गरेको युवा बताउँछन् । सोही आकाङ्क्षालाई मतपेटिकामार्फत प्रकट गर्न र युवा पुस्ताको रोजाइमा परेका उम्मेदवारलाई जिताउन पनि आफूहरू निर्वाचन प्रक्रियामा सहभागी हुन उत्साहित रहेको उनीहरूको भनाइ छ ।

हेटौँडा–६ का १९ वर्षीय विमोचन पहाडीले मतदाता नामावलीमा नाम दर्ता गर्दा आफू यो देशको जिम्मेवार नागरिक भएको महसुस गरेको सुनाए । राजनीतिक रूपमा देशमा परिवर्तन भए पनि प्रशासनिक क्षेत्रमा सुधार हुन नसक्दा जनताले परिवर्तनको प्रत्याभूति गर्न नसकेको उनले बताए ।

1-8f630ae8-2640-4603-bc8a-65c915626fa7

पहाडी कर्मचारीतन्त्रमा पनि सुधार आवश्यक रहेको औँल्याउँछन् । सडक आन्दोलनले जगाएको नागरिक चेतना अब मतपेटिकासम्म पुग्नुपर्ने उनको भनाइ छ । आगामी निर्वाचनबाट नेपाल र नेपाली राजनीतिको भविष्य निर्धारण गर्ने उनले बताए ।

पहाडीले भने, ‘पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराउँदा देशका लागि केही गर्न लागेको महसुस भएको छ । बुबा–आमाको पुस्ताले जे गरे, त्यसको योगदान अलग छ, तर नयाँ पुस्ताले देखाएको आत्मविश्वास र आवेगले भविष्य उज्यालो देखिन्छ ।’

अब नीति निर्माणमा युवाको आवाज समेटिनुपर्ने पहाडीले बताए । ‘ब्युरोक्रेसीमा सुधार र नयाँ पुस्ताको माग समेट्ने नीति आवश्यक छ,’ उनले भने, ‘पहिले निसास्सिएको जस्तो वातावरण थियो, अहिले हामीमा आशा छ ।’

अघिल्ला सरकारले गरेका काम र विकास जनअपेक्षाअनुसार अघि बढ्न नसकेको र दिगोपनमा सुधार आवश्यक रहेको पहाडीले औँल्याए । पुराना दल आए पनि नयाँ पुस्ताको माग समेटेर नीति परिवर्तन गरे अझ राम्रो हुने उनको भनाइ छ ।

2-14fed432-2946-4740-a22f-4c3db9a8ae15

भीमफेदी–९ की २३ वर्षीय इतिमाया लामा मतदाता नामावलीमा आफ्नो नाम सच्याउन निर्वाचन आयोगको कार्यालय आएकी थिइन् । जेनजी आन्दोलनपछि देशले राम्रो, इमानदार र देशप्रेमी व्यक्ति खोजेको उनको भनाइ छ । आगामी निर्वाचनमा आफूले सोही अनुसारको उम्मेदवारलाई मतदान गर्ने तथा अभिभावकलाई पनि यसबारे सम्झाउने उनले बताइन् ।

लामाले भनिन्, ‘पहिले राजनीतिबारे खासै बुझेकी थिइनँ । अब हामी राजनीतिको कुरा डराएर होइन, बुझेरै गर्छौं । अब राम्रो, इमानदार र देशप्रेमी व्यक्तिलाई मतदान गर्छु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप