शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

बिवाइडीद्वारा एक करोड ४० लाख वटा गाडी उत्पादनको उपलब्धि हासिल

शुक्रबार, ३१ असोज २०८२, १५ : ३२
शुक्रबार, ३१ असोज २०८२

काठमाडौं । चिनियाँ अटो निर्माता कम्पनी बिवाइडीले आफ्नो एक करोड ४० लाखौं गाडी उत्पादनको उपलब्धि हासिल गरेको छ। उक्त ऐतिहासिक क्षणलाई चिन्हित गर्न कम्पनीले ब्राजिलको बाहिया राज्यस्थित कामाकारी शहरमा रहेको आफ्नो सवारी उत्पादन केन्द्रमा विशेष समारोह आयोजना गरेको छ।

उक्त अवसरमा उत्पादन गरिएको “सङ प्रो” नामक प्लग–इन हाइब्रिड गाडी ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई हस्तान्तरण गरिएको थियो।

बिवाइडीका अनुसार यो उपलब्धि कम्पनीको अन्तर्राष्ट्रिय विस्तार यात्रामा एक महत्त्वपूर्ण माइलस्टोन हो। कामाकारीस्थित कारखाना एशियाभन्दा बाहिर बिवाइडीको सबैभन्दा ठूलो र ल्याटिन अमेरिकाकै सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी उत्पादन केन्द्र हो। दक्षिण चाइना मर्निङ पोस्टका अनुसार, उक्त परियोजनामा करिब ५.५ अर्ब ब्राजिलियन रियाल (झण्डै ९७८ मिलियन अमेरिकी डलर) लगानी गरिएको छ।

समारोहमा ब्राजिलका उपराष्ट्रपति जेराल्डो आल्कमिन, ब्राजिलस्थित चिनियाँ राजदूत झु छिङछियाओ, विभिन्न राज्य तथा स्थानीय अधिकारीहरू, साथै बिवाइडीका अध्यक्ष वाङ छुआनफु समेत उपस्थित थिए।

कार्यक्रममा राष्ट्रपति लुलाले भने, “चीन पछिल्ला १५ वर्षदेखि ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ, र हामी एक–अर्कालाई ग्लोबल साउथका महत्त्वपूर्ण देशका रूपमा हेरिरहेका छौं। ब्राजिलले अन्तर्राष्ट्रिय सम्बन्धमा सम्मान र निष्पक्षता चाहन्छ, र चीनसँगजस्तै अन्य देशहरूसँग पनि समान साझेदारी निर्माण गर्न इच्छुक छ।”

त्यसैगरी बिवाइडी अध्यक्ष वाङ छुआनफुले भने, “हामी ब्राजिलमा ११ वर्षदेखि सक्रिय छौं। आज बिवाइडीका विद्युतीय बसहरू यहाँ सामान्य दृश्य बनेका छन्। ब्राजिलमा हाम्रा १ लाख ७० हजारभन्दा बढी ग्राहक छन्, र दुई वर्षदेखि हामी यहाँको अग्रणी विद्युतीय सवारी विक्रेता हौं।”

बिवाइडीले यस उपलब्धिलाई आफ्नो वैश्विकरण अभियानको नयाँ अध्यायका रूपमा व्याख्या गरेको छ। कम्पनीले अबका दिनहरूमा स्थानीय उत्पादन संयन्त्रसँगै अन्तर्राष्ट्रिय विस्तारलाई सुदृढ गर्दै इनोभेसन, विद्युतीकरण र दिगोपनतर्फ सवारी उद्योगको रूपान्तरणलाई अझ अघि बढाउने प्रतिबद्धता जनाएको छ।

हालसम्म बिवाइडीका छ वटा विदेशी कारखाना सञ्चालनमा छन् । जुन ब्राजिल, थाइल्याण्ड, हंगेरी, उज्बेकिस्तान, मलेसिया र कम्बोडियामा रहेका छन् । 
ब्राजिलमा मात्रै कम्पनीले तीन वर्षभित्र १ लाख ७० हजारभन्दा बढी सवारी बिक्री गरिसकेको छ। सेप्टेम्बर २०२५ मा मात्र १० हजारभन्दा बढी सवारी बिक्री भएको र जनवरीदेखि सेप्टेम्बरसम्म ७७ हजारभन्दा बढी बिक्री भएको कम्पनीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप