शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
अपडेट

कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै

शनिबार, २७ असार २०८३, ११ : ५१
शनिबार, २७ असार २०८३

सारांश

  • शुक्रबार रातिदेखिको अविरल वर्षाले कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिने भएको छ ।
  • बाढीले सेन्टर डुबानमा पारेपछि ६५ परिवारलाई सुरक्षित स्थानमा सार्न लागिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।
  • यसअघि राहत रकम दिएर सेन्टर खाली गर्न सूचना जारी गरिए पनि हिचकिचाहट गर्दा नसारिएका सुकुमबासीलाई बाढीले विपद् सिर्जना गरेपछि खरीपाटी सारिएको हो ।

काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको ‘राधास्वामी होल्डिङ सेन्टर’ डुबानमा  परेपछि त्यहाँ राखिएका सुकुमबासीलाई भक्तपुरको खरीपाटी स्थानान्तरण गरिने भएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार सेन्टरमा बाढी पसेका कारण ६५ परिवारलाई सुरक्षित स्थानमा सार्न लागिएको हो ।

समितिका आयोजना निर्देशक महर्जनले कीर्तिपुरको सेन्टरमा बाढी पसेपछि प्रभावितहरूलाई सुरक्षित राख्न खरीपाटी लैजान लागिएको बताए ।

‘अहिले हाम्रो खरीपाटी होल्डिङ क्षेत्रमा ठाउँ खाली गराएका छौँ,’ आयोजना निर्देशक महर्जनले भने, ‘कीर्तिपुरका प्रभावितहरूलाई हामी उतै लैजान्छौँ होला र आवश्यक व्यवस्थापन मिलाउँछौँ ।’

समितिले यसअघि नै सुकुमबासीहरूलाई सुरक्षित स्थानमा सर्न र आफैँ कोठा खोज्नका लागि पहिलो चरणको राहत तथा पुनर्स्थापना स्वरूप प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराउँदै होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गरेको थियो । तर उनीहरुले सेन्टर छोड्न हिचकिचाहट गर्दा सोही स्थानमै बसिरहेका थिए ।

आयोजना निर्देशक महर्जनले भने, ‘अस्तिदेखि नै हामीले सार्नुपर्‍यो भनिरहेका थियौँ । उहाँहरू सर्न अलिकति नमानिरहनुभएको हुनाले मात्र स्थानान्तरणमा केही अलमल भएको हो ।’

उनका अनुसार समितिले सुरुमा आफ्नो व्यवस्थापन आफैँ गर्न सक्नेहरूलाई घरभाडा खोजेर बस्न र असक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारी तवरबाटै सुरक्षित ठाउँमा राख्ने योजना बनाएको थियो । तर, आकस्मिक रूपमा बाढी पसेर विपद्को स्थिति सिर्जना भएपछि अहिले प्रभावित सबैलाई खरीपाटीमा सार्न लागिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप