शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'अब जेनजी पुस्तालाई पनि चलचित्रमा समेट्नुपर्छ'

आइतबार, ०२ कात्तिक २०८२, २० : १७
आइतबार, ०२ कात्तिक २०८२

सारांश

  • जेनजी आन्दोलनपछि फिल्म क्षेत्रको अवस्थाबारे फिल्मकर्मीहरूले बहस गरे, जसमा हल सञ्चालकलाई ठूलो क्षति पुगेको उल्लेख छ।
  • अन्तरक्रियामा नेपाली चलचित्रको बजार सुस्ताएको र विदेशी फिल्मको दबदबा रहेको कुरा उठ्यो, जसले गर्दा यसपटकको दशैंमा नेपाली फिल्मले राम्रो व्यापार गर्न सकेनन्।
  • जेनजी पुस्तालाई चलचित्रमा समेट्नुपर्ने र अभिभावकले आफ्ना छोराछोरीलाई नेपाली चलचित्र हेर्न अभिप्रेरित गर्नुपर्ने सुझाव दिइयो।

काठमाडौँ । एसबी क्रियसन प्रालिले तिहारको अवसर पारेर आयोजना गरेको ‘जेनजी आन्दोलनपछिको चलचित्र, गीत, सङ्गीत एवं मनोरञ्जन क्षेत्रको अवस्था’ शीर्षकको अन्तरक्रियामा फिल्मकर्मीहरूले जेनजी आन्दोलनपछि फिल्मको अवस्थाबारे बहस गरेका छन् । 

नेपाल चलचित्र संघका उपाध्यक्ष एवं वितरक गोपालकाजी कायस्थका अनुसार गत भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनले चलचित्र क्षेत्रमा सबैभन्दा ठुलो असर हल सञ्चालकहरूलाई परेको छ । जेनजी पुस्ताले मुलुकका पाँच वटा चलचित्र घरमा गरेको आगजनीका कारण चलचित्र घर सञ्चालकहरूलाई २० करोडभन्दा माथिको प्रत्यक्ष क्षति भएको उनले बताए । 

जेनजी आन्दोलनपछि चलचित्रको बजार सुस्ताएको र गत वर्षको दसैँको तुलनामा यसपटक दसैँमा चलचित्रको व्यापार निकै कम भएको पनि उनले जिकिर गरे । 

अग्रज कलाकार एवं नाट्यकर्मी हरिहर शर्माले जेनजी पुस्तालाई पनि चलचित्रमा समेट्नुपर्ने बताए । ६ दशकको यात्रामा नेपाली चलचित्र उद्योगले निकै ठूलो फड्को मारेको उल्लेख गर्दै अब समयसापेक्ष चलचित्र बन्नुपर्ने उनको सुझाव थियो ।

नेपाल फिल्म सोसाइटीका अध्यक्ष एवं अग्रज अभिनेता कृष्ण मल्लले अन्तरक्रियामा यसपटक दसैँमा तीनवटा नेपाली चलचित्र एकसाथ रिलिज हुँदा पनि राम्रो व्यापार गर्न नसकेको बताए । जेनजी आन्दोलनपछि नेपाली चलचित्रको बजार केही सुस्ताएको जनाउँदै उनले अहिले पनि नेपालमा विदेशी चलचित्रको दबदबा रहेको र दसैँमा रिलिज भएका तीन नेपाली चलचित्रभन्दा भारतीय चलचित्रले यसपटक राम्रो व्यापार गरेको जानकारी दिए । 

नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले सहरमा रहेका अहिलेका जेनजी पुस्तामा नेपाली चलचित्र हेर्ने बानी नभएको र उनीहरू हलिउड तथा कोरियन चलचित्रमा रमाउने गरेका बताए । त्यसैले अभिभावकहरूले नै आफ्ना छोराछोरीलाई चलचित्र घरसम्म पुर्‍याएर नेपाली चलचित्र हेर्ने बानी बसाल्नुपर्ने उनको सुझाव थियो । 

यस्तै अग्रज ब्युटिसियन सोनी कारञ्जितले जेनजी आन्दोलनले ब्युटिसियन क्षेत्रमा सुरुको हप्ता असर पारे पनि त्यसपछि त्यति ठुलो असर नपरेको बताइन् । 

समारोहमा सम्मान तथा साङ्गीतिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा गायक ओम सुनारले गायन र बाल कलाकार स्नेहा बुढाथोकीले नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा निर्माता निर्देशक रोशनी केसी, छायाङ्कार रामशरण उप्रेती, चलचित्र निर्देशक माधवराज खरेल, चलचित्र एवं फोटो पत्रकार बद्री थापा, गायक नरेश बिबिसी, व्यवसायी सकुमाया लिम्बू, साहित्यकार शनि लिम्बू, ब्युटिसियनहरू करुणा श्रेष्ठ, मैना श्रेष्ठ, सजना महर्जन, निर कमल प्रधान, अटोमोबाइल उद्यमी मेघबहादुर बुढाथोकी (विदुर), उद्यमी सुरेन्द्र गिरीलगायत सम्मानित भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप