शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीको सङ्घर्ष

१० लाखको क्लिनिकदेखि ५ अर्बको मेडिकल साम्राज्यसम्म

सुरुमा ५ जना कर्मचारी, अहिले ३ हजारभन्दा बढीलाई रोजगारी
मङ्गलबार, ०४ कात्तिक २०८२, १८ : ००
मङ्गलबार, ०४ कात्तिक २०८२

सारांश

  • डा. ज्ञानेन्द्रमान सिंह कार्कीले विराटनगरमा विराट नर्सिङ होम स्थापना गरे, जुन अहिले १३०० बेडको अस्पताल बनेको छ।
  • सुरुमा १० लाख लगानीबाट सुरु भएको अस्पताल, डाक्टर कार्कीको आत्मविश्वास र निरन्तर लगानीले ५ अर्बको मेडिकल साम्राज्य बन्यो।
  • डा. कार्कीले विराटनगरमा स्वास्थ्य सेवाको विकासमा पुर्‍याएको योगदान र उनले मेडिकल कलेज स्थापना गरेको कुरा उल्लेख छ।

विराटनगर । डाक्टर ज्ञानेन्द्रमान सिंह कार्की मेडिकल व्यवसाय क्षेत्रमा चिनिएको नाम हो । झन्डै ३० वर्ष अघि कुनै ठुलो शल्यक्रिया गर्नुपर्‍यो भने लामो समयसम्म बिरामीले कुर्नुपर्ने अवस्था थियो । साबिकको कोशी अञ्चलकै ठुलो कोशी अस्पतालमा वर्षभरिमा जम्मा ८–१० वटामात्रै ठुला शल्यक्रिया हुन्थे ।

पूर्वाञ्चल क्षेत्रमा त्योवेला शल्यक्रिया गर्न सक्ने स्त्रीरोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) जम्मा दुई–तीन जनामात्र थिए । सरकारी अस्पतालमा एउटै शल्यक्रिया कक्षमा सबै प्रकारका शल्यक्रिया गरिन्थ्यो । त्यो समयमा नेपालभरि बिरामीलाई कृत्रिम श्वासप्रश्वास दिन प्रयोग गरिने एउटा पनि भेन्टिलेटर थिएन ।

रोग पत्ता लगाउने आधुनिक उपकरण सिटी स्क्यान र एमआरआई सहज उपलब्ध थिएनन् । काठमाडौँमा एउटामात्र सिटी स्क्यान मेसिन थियो, त्योबाहेक कतै थिएन । काठमाडौँमा एक–दुई वटा साना नर्सिङ होमबाहेक देशका अन्य भागमा निजी अस्पताल वा क्लिनिकको अवधारणा नै थिएन ।

सेवाका लागि आममानिस पूर्ण रूपमा कमजोर र पूर्वाधारविहीन सरकारी अस्पतालमै निर्भर हुनुपर्ने बाध्यता थियो । त्यस्तै कहालीलाग्दो अवस्थामा विराटनगर–२ मा डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले झन्डै १० लाखको लगानीमा विराट नर्सिङ होम अर्थात् विराटनगर अस्पताल स्थापना गरे । त्यतिवेला उनीसँग ४–५ जना स्टाफ थिए । अहिले त्यो अस्पतालको क्षमता बढेर १३ सय बेड पुगेको छ भने ३ हजारभन्दा बढीले रोजगारी पाएका छन् ।

Birat Teaching (1)

१० लाखको लगानी बढ्दै ५ अर्ब पुगेको छ । ३० वर्षको समयमा यो विशाल मेडिकल साम्राज्य कसरी बन्यो ? त्यसका पछाडि डाक्टर कार्कीको आत्मविश्वास नै प्रमुख थियो । 

विराटनगर–२ मा विराटनगर अस्पतालको विशाल बिल्डिङ ठडिएको छ । मोरङको बुढीगंगा–२ मा रहेको विराट टिचिङ हस्पिटलका ठुला–ठुला बिल्डिङ देखिन्छन् । यी संस्थाले अहिले लाखौँलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छन् । 

यो विशाल संरचनाको जग एउटा सानो कोठा, एक बेडको क्लिनिक र एक डाक्टरको अठोटमा बसेको हो । 

झापाको दमकमा जन्मिएका डाक्टर कार्कीले विराटनगरको राधाकृष्ण माविबाट माध्यमिक शिक्षा हासिल गरे । दार्जिलिङमा बीएससी अध्ययनपछि उनले छात्रवृत्तिमा रुसमा एमबीबीएस गर्ने अवसर पाए । त्यहाँबाट एमडी गरेर नेपाल फर्किएका उनी दुई वर्ष नेपाल बसेर पुनः एमएस गर्न रुस नै फर्किए । अध्ययन सकेर उनी पुनः नेपाल फर्किए । त्यसक्रममा उनले काठमाडौँको प्रसूति गृहमा तीन वर्ष काम गरे । 

Gyanendar 1

२०४९ सालमा विराटनगरमा रहेकी आफ्नी आमाको अचानक निधन भएपछि डा. कार्कीलाई पश्चातापले पोल्यो । ‘यदि म विराटनगरमा भएको भए आमालाई बचाउन सक्थेँ कि !’ भन्ने प्रश्नले उनलाई सताउन थाल्यो । यही भावनात्मक चोट र जिम्मेवारी बोधले उनी काठमाडौँको स्थापित करियर छाडेर विराटनगर फर्किए ।

विराटनगर आएपछि उनले कोशी अञ्चल अस्पतालमा काम गर्न थाले, जहाँको अवस्था दयनीय थियो । शल्यक्रियाका लागि बिरामीले वर्षौं कुर्नुपर्ने बाध्यता देखेर उनले आफैँ केही गर्ने आँट गरे । उनले कोशी अस्पताल अगाडि एउटा सानो घर भाडामा लिएर निजी क्लिनिक सुरु गरे, र नाम राखे– विराट नर्सिङ होम एन्ड मेटर्निटी होम ।

यो सपनालाई साकार पार्न कार्कीको सुरुवाती लगानी ठुलो थिएन । ‘करिब ८ देखि १० लाख रुपैयाँको सामान्य उपकरण र भाडाको घरबाट सुरु गरेको हुँ,’ उनले भने । यो यात्रामा उनको साथमा जम्मा ४–५ जना कर्मचारी थिए । बाहिर साइनबोर्ड विशाल थियो, तर भित्र जम्मा एक बेडको अस्पताल थियो । 

दिनभरि कोशी अस्पतालमा काम गर्ने डा. कार्की साँझ परेपछि त्यहीँको शल्यक्रिया सेट बोकेर आफ्नो क्लिनिकमा आउँथे र बिरामीको उपचार गर्थे । उनको क्लिनिकमा एक हप्तामा सात जना बिरामी आए । ‘त्यो भवनको क्षमता नै सात जनाको थियो । बिस्तारै ६ बेड, त्यसपछि २० बेड हुँदै संस्था बढ्दै गयो,’ उनी त्यसवेलाको अनुभव सुनाउँछन् ।

सन् २००० मा उनले ५० बेडको आधुनिक विराट नर्सिङ होम बनाए । त्यतिवेला धेरैले उनलाई ‘यो मान्छे बौलायो, विराटनगर जस्तो ठाउँमा ५० बेडको अस्पताल कसरी चल्छ ?’ भनेर हाँसोमा उडाए, तर उनको मेहनतले अस्पताल सफल भयो । केही समय डाक्टर सुनिल शर्मासँग मिलेर समस्यामा परेको नोबेल अस्पताललाई संकटबाट बाहिर निकाल्न उनले मद्दत गरे । तर त्यहाँबाट उनी छुट्टिए । यही अनुभवले उनलाई आफ्नै मेडिकल कलेज खोल्ने आँट दियो ।

Gyanendra Karki (1)

जब डा. कार्कीले आफ्नो सपनाबारे डाक्टर सुनिल शर्मासँग कुरा राखे– शर्माले ‘सम्भव छैन’ भने । तर, यही शब्दले उनलाई थप ऊर्जा दियो । 

डा. कार्कीले भने, ‘कसैले हुँदैन भनेपछि मलाई झन् गर्नुपर्छ भन्ने लाग्छ । मैले सोचेँ, अब म खोलेरै देखाउँछु ।’ काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन लिएर उनले विराट मेडिकल कलेज स्थापना गरे ।

डा. कार्कीका अनुसार कुनै पनि संस्थाको सफलताको मुख्य सूत्र निरन्तर लगानी हो । ‘संस्थाले कमाएको ९०–९५ प्रतिशत रकम फेरि त्यही संस्थामा लगानी गर्नुपर्छ,’ उनले भने । बैंकबाट ऋण लिएर उनले संस्थालाई ठुलो बनाउँदै लगे । ‘यो संस्थाको ८० प्रतिशत मालिक त बैंक हो, म त केवल एक गोठालो (व्यवस्थापक) हुँ,’ उनी भन्छन् ।

आज विराट टिचिङ हस्पिटल १ हजार बेड र नर्सिङ होम ३ सय बेड गरी कुल १ हजार ३ सय बेडको विशाल स्वास्थ्य संस्था बनेको छ । यहाँ करिब ३ हजार कर्मचारीले रोजगारी पाएका छन् । यो संस्था यत्रो बन्नुमा कर्मचारीहरूको निरन्तरको मेहनत रहेको उनी सुनाउँछन् । 

यसका साथै यो सबैको पछाडि डा. कार्कीको व्यावसायिकता, मेहनत र उनकी श्रीमतीको प्रेरणा पनि छ । उनकी श्रीमतीले उनलाई सधैँ भन्थिन्, ‘विदेशमा गए तिमी तेस्रो दर्जाको नागरिक हुन्छौ, तर आफ्नो देशमा तिमी नम्बर एक हौ । आफ्नै देशमा आधा पेट खाएर भए पनि बस्नुपर्छ ।’

Gyanendraaf a

झन्डै तीन दशकको लगातार मेहनतले विराट मेडिकल एण्ड टिचिङ्ग अस्पताल देशकै गुणस्तरीय र भव्य भएको कार्कीको दाबी छ । जसले बर्सेनि एक सय डाक्टरलाई स्नातकसम्मको अध्ययन गराउने क्षमता राख्छ । निजी लगानी सुरु भएपछि नेपालको चिकित्सा क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । विश्वका विकासोन्मुख राष्ट्रमा नेपालले चिकित्सा क्षेत्रमा चमत्कारिक फड्को मारिसकेको उनी दाबी गर्छन् । 

विराटनगरमा मात्रै अहिले दर्जनौँ सिटी स्क्यान मेसिन, आधा दर्जनभन्दा बढी एमआरआई, मुटु परीक्षण गर्ने क्याथल्या छन् । विराटनगर अस्पताल र विराट मेडिकल कलेजमै क्यान्सरसमेतको उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप