बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पर्यटकको पर्खाइमा हात्तीसार

आकर्षक पर्यटकीय गन्तव्य हुन सक्ने ऐतिहासिक महत्त्वको हात्तीसार सङ्ग्रहालय उपेक्षित

शाह वंशीय राजा र राणा शासकहरूले सिकारमा प्रयोग गरेका सामान हेर्न सकिने
बुधबार, ०५ कात्तिक २०८२, १० : २४
बुधबार, ०५ कात्तिक २०८२

सारांश

  • मकवानपुरको भीमफेदीमा रहेको राणाकालीन हात्तीसार सङ्ग्रहालय संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।
  • सङ्ग्रहालयमा बेलायती महारानी एलिजावेथ र जंगबहादुर राणाले प्रयोग गरेका ऐतिहासिक हौदा सुरक्षित छन्।
  • सङ्ग्रहालयलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकार र प्रदेश सरकारले योजना बनाउनुपर्ने देखिन्छ।

मकवानपुर । कुनै समय मकवानपुरको भीमफेदीलाई काठमाडौँ उपत्यकाको एकमात्र प्रमुख प्रवेशद्वारको रूपमा चिनिन्थ्यो । तराई र राजधानीलाई जोड्ने मुख्य सेतुको रूपमा रहेको यो बजार राणाकालमा निकै व्यस्त र महत्त्वपूर्ण मानिन्थ्यो । 

त्रिभुवन राजपथ बन्नुअघि पैदलयात्रीहरूको घुइँचो लाग्ने, उनीहरू बास बस्ने र व्यापारिक चहलपहल हुने यो ठाउँ ऐतिहासिक रूपमा निकै समृद्ध थियो । यही ऐतिहासिक भूमिको काखमा नेपालको एक विशिष्ट तर ओझेलमा परेको सम्पदा छ– राणाकालीन हात्तीसार सङ्ग्रहालय ।

2 (1)

भीमफेदी गाउँपालिका–६ मा अवस्थित यो सङ्ग्रहालय सामान्य भवनमात्र होइन, जसले नेपालको एक महत्त्वपूर्ण कालखण्डको जीवन्त इतिहास बोकेको छ । यो नेपालको राजतन्त्रात्मक र राणाकालीन इतिहासको एक जीवन्त सम्पदा हो । यस सङ्ग्रहालयले नेपालका राजाहरू, राणाहरू र विदेशी पाहुनाहरू सिकारका लागि तराईका घना जङ्गलमा जाने समयको कथा बोल्छ । 

कुनै समय राणा प्रधानमन्त्री, शाहवंशीय राजाहरू र तत्कालीन बेलायती महारानी एलिजावेथ द्वितीयजस्ता विशिष्ट व्यक्तिहरूको सिकार तथा भ्रमणको साक्षी बनेको यो स्थल अहिले भने पर्यटकको पर्खाइमा सुनसान प्रायः छ । संरक्षण र संवर्द्धन तथा प्रचारप्रसारको अभावमा यो ऐतिहासिक सम्पदा ओझेलमा परेको हो । 

हेटौंडाबाट करिब ३५ किलोमिटर उत्तरतर्फ भीमफेदी गाउँपालिका–६ मा रहेको यो सङ्ग्रहालय करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको छ । यो सङ्ग्रहालयमा ४२ वटा ऐतिहासिक हौदा (हात्तीको पिठ्युँमा राखेर बस्ने आसन) सुरक्षित राखिएका छन् । ती हौदाले पद र ओहोदाअनुसारको तत्कालीन सामाजिक संरचनालाई पनि झल्काउँछन् । विशिष्ट व्यक्ति, भाइ–भारदार, सुसारे र सिपाहीले प्रयोग गर्ने अलग–अलग हौदा, काँठी र गद्दाहरूले त्यसवेलाको रहनसहन र शक्तिको प्रमाण दिन्छन् ।

यी हौदा साधारण छैनन् । यहाँ सिकार खेल्ने मुख्य व्यक्तिले प्रयोग गर्ने ‘सिकारी हौदा’, सुरक्षामा खटिने भारदारहरू बस्ने ‘भारदारी हौदा’ र खानपिनको व्यवस्था गर्ने सहयोगीहरू बस्ने ‘सुसारे हौदा’ जस्ता विभिन्न प्रकारका हौदा छन् । यसले तत्कालीन समयको सान र व्यवस्थित सिकार प्रणालीलाई उजागर गर्दछ ।

3 (1)

सङ्ग्रहालयको मुख्य आकर्षण भनेको बेलायती महारानी एलिजावेथ द्वितीय र नेपालका प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाले प्रयोग गरेका हौदा हुन् । सन् १९६१ (वि.सं. २०१७) मा राजा महेन्द्रको निमन्त्रणामा नेपाल भ्रमणमा आउँदा तत्कालीन बेलायती महारानी एलिजावेथले उक्त हौदा प्रयोग गरेर चितवन र पर्साका जङ्गलमा बाघ तथा गैंडाको सिकार गरेकी थिइन् ।

इतिहासमा जानकार एवं मकवानपुरका पुराना लेखक केदार न्यौपानेका अनुसार त्यतिवेला उनीहरूले प्रयोग गरेका ४ वटा सिकारी हौदा आज पनि सुरक्षित छन् । सिकारका अत्यन्त सौखिन मानिने जंगबहादुर राणाले प्रयोग गरेको विशेष पिँजडासहितको हौदा पनि यहाँको अर्को महत्त्वपूर्ण ऐतिहासिक सामग्री हो । महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रसम्मका राजाहरूले पनि चितवन, कोशीटप्पु, शुक्लाफाँटा र बर्दियाका राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा यहीँबाट हौदा लैजाने गरेको उनले बताए ।

4 (1)

  • भविष्यको सम्भावनाः एक आकर्षक पर्यटकीय गन्तव्य

२०३९ सालमा मकवानपुरको सदरमुकाम भीमफेदीबाट हेटौंडा सारिएपछि यो ऐतिहासिक बजारको रौनक हराउँदै गयो । तर, यहाँ रहेका चिसापानी गढी, पृथ्वी–चन्द्र अस्पतालको पुरानो भवन, भीमसेन मन्दिर र हात्तीसार सङ्ग्रहालय जस्ता ऐतिहासिक धरोहरले भीमफेदीलाई पुनः एक महत्त्वपूर्ण पर्यटकीय केन्द्रको रूपमा स्थापित गर्ने अपार सम्भावना बोकेका छन् ।

स्थानीय सरकार र प्रदेश सरकारले सङ्ग्रहालय परिसरमा तत्कालीन बेलायती महारानी एलिजावेथ र जंगबहादुर राणाको प्रतिमा, हात्तीको मूर्ति स्थापना गर्ने तथा जीपलाइनजस्ता साहसिक पर्यटकीय गतिविधि सञ्चालन गर्ने योजना बनाएर अघि सर्नुपर्ने न्यौपाने बताउँछन् । सरोकारवाला निकायले ठोस योजनाहरूलाई मूर्त रुप दिई सङ्ग्रहालयको नियमित सञ्चालन, व्यवस्थित प्रचारप्रसार र यहाँको ऐतिहासिक कथालाई रोचक ढंगले प्रस्तुत गर्न सकेमा मात्र पर्यटकका लागि एक आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाइ छ ।

5 (1)

सङ्ग्रहालयमा केवल पुराना वस्तुहरूको सङ्ग्रहलाई ताल्चाभित्र कैद गरेर राख्नु भनेको आफ्नो गौरवशाली विगतलाई बिर्सनुसरह रहेको न्यौपानेले बताए । हात्तीसारको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरेर भावी पुस्ताका लागि नेपालको इतिहासलाई जीवन्त राख्नुपर्ने उनले प्रस्ट पारे ।

  • वर्तमान अवस्थाः प्रचारको अभावमा ताल्चाभित्रको इतिहास

ऐतिहासिक महत्त्व बोकेको यो सङ्ग्रहालय आज गुमनामजस्तै छ । यो सङ्ग्रहालय डिभिजन वन कार्यालय, मकवानपुरको रेखदेखमा रहे पनि यसको उचित प्रचारप्रसार र प्रवर्द्धन हुन सकेको छैन । 

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ बाट यसको संरक्षण र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न केही प्रयास थाले पनि सफल हुन सकेको थिएन । अतिक्रमणमा परेको जग्गा फिर्ता गराउने, पर्खाल लगाउने, ढुंगा छाप्ने र बगैंचा निर्माण गर्नेजस्ता कामले पूर्णता पाउन सकेको छैन ।

6 (1)

सङ्ग्रहालय अधिकांश समय ताल्चा लगाएर राखिन्छ र कोही अवलोकनकर्ता पुगेमा मात्र खोलिन्छ । यसले गर्दा यहाँसम्म पुग्ने पर्यटकहरू निराश भएर फर्कनुपर्ने अवस्था छ । सङ्ग्रहालयभित्र रहेका हौदा लगायत अन्य सामग्रीहरू (बाघको सिकारमा प्रयोग हुने सेतो कपडा, हात्ती बाँध्ने खम्बा, पुराना काठी र विभिन्न औजारहरू)लाई ट्यागिङ गरेर संरक्षण गरिए पनि तिनको कथा भन्ने र पर्यटकलाई आकर्षित गर्ने कुनै ठोस योजना देखिँदैन । एक समय तत्कालीन सांसद हिरण्यलाल श्रेष्ठको पहलमा राखिएका एक्युरियम आज प्रयोगविहीन छन् । 

डिभिजन वन कार्यालयका योजना शाखाका प्रमुख हेम पाठकका अनुसार हाल हात्तीसारमा २ कर्मचारीले संरक्षणको काम गरिरहेका छन् । चितवन राष्ट्रिय निकुञ्जले प्रदेशलाई संरक्षण संवर्द्धनका लागि हतान्तरण गरे लगत्तै २०७६ देखि एक जना माली र एक जना चौकीदार राखेर सुरक्षा तथा संरक्षणको काम गर्दै आएको उनले बताए ।

प्रदेश मातहत ल्याएर डिभिजन कार्यालयबाट सामान्य मर्मत र व्यवस्थापनको कामबाहेक अन्य कुनै योजना कार्यान्वयनमा ल्याउन नसकेको पाठकले प्रस्ट पारे । गोडमेल, फुटेका सामग्रीको व्यवस्थापन तथा चिनारी दर्शाउने पहिचान राख्ने बाहेकका काम गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

10 (1)11 (1)13 (1)hattisar 1

पाठकका अनुसार प्रदेश सरकारले हाल १ लाख रुपैयाँ बजेट दिएर बगैंचा गोडमेल तथा मर्मतको काम गरिएको छ । पर्यटकीय हिसाबले सञ्चालन गर्न कुनै कानुनी व्यवस्थासमेत नहुँदा अन्योल रहेको उनले बताए । कार्यविधि बनाएर सञ्चालनको मोडालिटीमा केही संरचना तयार गरेर सर्वसाधारणका लागि खुला गर्ने र अध्ययन अनुसन्धानको पाटोमा जान सके उत्तम हुने उनको सुझाव छ ।

7 (1)

‘हामीले स्ट्रक्चरको काम गर्न सकेका छैनौँ । बजेट हालेर पनि काम गर्ने अवस्था बन्दैन । पुरातत्वको अनुमतिविना कुनै पनि संरचना बनाएर काम गर्ने अवस्था छैन । त्यसैले जुन अवस्था छ, त्यसैमा संरक्षण र व्यवस्थापनको काम गरिएको छ,’ पाठकले भने, ‘अहिले कोही कसैले चाहेमा खोलेर हेर्न सकिन्छ । अन्यथा बन्द नै राखिएको छ । सधैँ बन्द गरेर राखेर पनि हुँदैन ।’

कार्यविधि बनाएर सञ्चालन गर्नु उपयुक्त हुने सुझाव दिँदै उनले पर्यटन र अध्ययन अनुसन्धानको पाटोमा जोड्न सके राम्रो हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप