उत्तर कोरिया एक प्रकारको आणविक शक्ति हो : ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरिया आणविक शक्ति भएको बताएका छन्।
- ट्रम्प र किम जोङ उनबीच पुनः वार्ताको सम्भावना रहेको बताइएको छ, तर औपचारिक घोषणा भएको छैन।
- दुई नेताबीच सन् २०१९ मा अन्तिम भेट भएको थियो, तर आणविक हतियारबारे सहमति जुट्न सकेको थिएन।
एयर फोर्स वान (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उत्तर कोरियालाई ‘एक प्रकारको आणविक शक्ति’ भएको बताएका छन् । प्योङयाङका नेता किम जोङ उनसँगको सम्भावित भेटसमेत समावेश हुनसक्ने एसियाली भ्रमणका लागि अमेरिकाबाट प्रस्थान गर्नुअघि उनले त्यस्तो टिप्पणी गरेका हुन् ।
एयर फोर्स वानमा पत्रकारहरूले वासिङ्टनसँगको वार्ताका पूर्व सर्तका रूपमा उत्तर कोरियालाई आणविक राष्ट्रको रूपमा मान्यता दिनेबारे सोध्दा ट्रम्पले उत्तर दिए, ‘ठिक छ, मलाई लाग्छ उनीहरू एक प्रकारका आणविक शक्ति हुन् । जब तपाईं भन्नुहुन्छ कि तिनीहरूलाई मान्यता दिनुपर्छ, ठिक छ, उनीहरूसँग धेरै आणविक हतियार छन्, म त्यसो भन्छु ।’
राष्ट्रपति ट्रम्प आगामी बुधबार दक्षिण कोरियामा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । अमेरिकी सञ्चारमाध्यमहरूले यसअघि ट्रम्प प्रशासनका केही अधिकारीहरूले उनी र उत्तर कोरियाली नेता किमबिच पुनः वार्ताको सम्भावना खोज्दै अनौपचारिक छलफल चलाएको बताएका थिए ।
ट्रम्पले पनि किमलाई फेरि भेट्ने आशा व्यक्त गरेका छन्-सम्भवतः यही वर्षभित्र । उता, किम जोङ उनले हालै आफूलाई राष्ट्रपति ट्रम्पसँगका ‘सुखद सम्झनाहरू’ रहेको बताउँदै अमेरिकाले प्योङयाङलाई आफ्नो आणविक हतियार त्याग्न बाध्य पार्ने ‘भ्रमपूर्ण माग’ त्यागेमा वार्ताका लागि तयार रहेको उल्लेख गरेका थिए ।
दक्षिण कोरियाका एकीकरण मन्त्री चुङ डोङ–युङले पनि राष्ट्रपति ट्रम्पको आगामी भ्रमणका क्रममा किमसँग भेट हुने ‘पर्याप्त सम्भावना’ रहेको विश्वास व्यक्त गरेका छन् । तर एक वरिष्ठ अमेरिकी अधिकारीले भने नाम नखुलाउने सर्तमा सञ्चारकर्मीहरूलाई जानकारी दिँदै सो भेट ‘यस भ्रमणको आधिकारिक तालिकामा नरहेको’ बताए ।
हालसम्म दुवै नेताबिच भेटवार्ताको औपचारिक घोषणा गरिएको छैन । यद्यपि, दक्षिण कोरिया र संयुक्त राष्ट्रसङ्घीय कमान्डले अक्टोबरको अन्त्यदेखि नोभेम्बरको सुरुसम्मका लागि संयुक्त सुरक्षा क्षेत्र (जेएसए) भ्रमण रोकिएको जानकारी दिएका छन् ।
किम र ट्रम्पबिच अन्तिम भेट सन् २०१९ मा दुई कोरियालाई छुट्टाउने असैन्य क्षेत्र (डिमिलिट्राइज्ड जोन) भित्र पर्ने पान्मुन्जोमको जेएसएमा भएको थियो । यही स्थानमा दुवै देशका सैनिकहरू नियमित रूपमा आमनेसामने हुने गर्छन् । मन्त्री चुङका अनुसार यस वर्ष उत्तर कोरियालीहरू जेएसए नजिकको क्षेत्र सफा गर्ने, फुल रोप्ने, फोटो खिच्ने जस्ता गतिविधिमा व्यस्त देखिएका छन् ।
राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा किम जोङ उनसँग तीन पटक उच्चस्तरीय शिखर वार्ता भएको थियो । तीमध्ये एक भेट सन् २०१९ मा ट्रम्पले ट्विटरमार्फत अचानक निमन्त्रणापछि पान्मुन्जोममा भएको थियो । त्यहाँ दुवै नेताले सीमामा हात मिलाएका थिए । त्यसबेला ट्रम्प उत्तर कोरियाको भूमिमा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए ।
तर, उत्तर कोरियाले आफ्नो आणविक हतियार कति त्याग्ने र त्यसको सट्टामा पाउने लाभबारे सहमति नजुट्दा वार्ता अन्ततः असफल भएको थियो । त्यसयता प्योङयाङले आफूलाई ‘अपरिवर्तनीय आणविक शक्ति’ का रूपमा घोषणा गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण