सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पुरानो युगका कम्युनिस्ट आन्दोलनको मृत्यु अवश्यम्भावी छ : आहुति
अन्तर्वार्ता

पुरानो युगका कम्युनिस्ट आन्दोलनको मृत्यु अवश्यम्भावी छ : आहुति

‘योजनाबद्ध रूपमा जेनजी विद्रोहको सामूहिक प्रसंगमाथि खेलबाड भयो’
शनिबार, ०८ कात्तिक २०८२

भदौ २३ र २४ गते भएको जेनजी विद्रोहले नेपालका सबै पार्टीभित्र पुनर्गठनको बहस चलेको छ । त्यसमध्ये पनि नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको चर्को बहस दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा देखिएको छ ।

दुवै दलले पार्टीभित्र र बाहिरको जनआक्रोशलाई मत्थर पार्न आगामी मंसिरको अन्तिम हप्ता महाधिवेशन गर्ने घोषणा गरे पनि पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरण हुने आधार देखिएको छैन ।

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीको शान्तिपूर्ण आन्दोलन भए पनि घुसपैठ गरी देशी–विदेशी शक्तिहरूले षड्यन्त्र भएको रूपमा राजनीतिक दलहरूले विश्लेषण गरेका छन् । विद्रोहपछिको विध्वंसले ठुलो मात्रामा जनधानको क्षति भयो । दशवर्षे माओवादी जनयुद्धमा पनि नभएको क्षति जेनजी विद्रोहको २८ घण्टामा भएको विश्लेषण भइरहेको छ ।

राज्यका प्रमुख अंग कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका लगायत देशका महत्त्वपूर्ण ऐतिहासिक तथ्य–प्रमाणसमेत यसपटक नष्ट गर्ने काम भयो ।

खासगरी जेनजी विद्रोहबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई कस्तो प्रभाव पार्छ ? आगामी दिनमा कम्युनिस्ट पार्टीहरूले आफूलाई टिकाउन सक्लान् ? यसै विषयमा वामपन्थी नेता तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल ‘आहुति’सँग रातोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, आहुतिसँग गरिएको कुराकानीको सम्पादित अंशः 

  • नेपालको हकमा वामपन्थी को हुन् ? कम्युनिस्ट को हुन् ?

वामपन्थ र कम्युनिस्ट पार्टीको बारेमा दुई वटा अलग–अलग परिभाषा विश्वमा निर्माण भए– जसले साम्यवादको अथवा वैज्ञानिक समाजवादको निर्माण गर्ने, वर्गविहीन समाज निर्माण गर्ने, निजी सम्पत्तिको अन्त्य गर्ने र श्रमिक वर्गको शासन स्थापना गर्ने भन्ने सिद्धान्त र उद्देश्य बोक्यो, त्यसलाई कम्युनिस्ट भनियो । अर्कोतिर यथास्थितिवादी, यथास्थितिको समाजमा जसले राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा परिवर्तन चाहिन्छ, ‘यो यथास्थितिले हुँदैन’ भन्नेहरूलाई वामपन्थी भन्ने चलन संसारभरि आयो ।

aahuti (3)

नेपालमा २००७ सालदेखि नै कम्युनिस्ट पार्टीहरूले वामपन्थी र कम्युनिस्ट भूमिका निर्वाह गर्नुपर्ने अवस्था आयो । वामपन्थीहरू व्यक्तिगत रूपमा त हुने भए, तर संगठनात्मक रूपमा छुट्टै वामपन्थी पार्टी, वामपन्थी शक्ति सुरुदेखि भएन ।  त्यसकारण वामपन्थीको भूमिका पनि कम्युनिस्टहरूले नै खेल्दै आएको स्थिति हो ।

नेपालमा वामपन्थी भनेको कम्युनिस्ट हो भनेर बुझ्ने चलन पनि चल्यो, तर यथार्थमा सबै कम्युनिस्ट वामपन्थी हुन्छन्, तर सबै वामपन्थी कम्युनिस्ट हुँदैनन् । नेपालमा फेरि लगातार वामपन्थीको भूमिका कम्युनिस्टहरूले नै खेल्दै आएको हुनाले कम्युनिस्ट भनेको वामपन्थी, वामपन्थी भनेको कम्युनिस्ट जस्तो देखा पर्‍यो ।

  • अहिलेको स्थितिमा कम्युनिस्ट पार्टी छ नि नेपालमा ?

अहिलेको स्थितिमा कम्युनिस्ट पार्टी छन्, किन नहुनु  ? कम्युनिस्ट पार्टीहरू छन् र वामपन्थी भूमिका खेल्न पाए हुन्थ्यो भनेर सोच्ने कम्युनिस्ट नामका पार्टी धेरै छन् । जस्तो संसदवादी कम्युनिस्ट पार्टीहरू कम्युनिस्ट रहेनन् । किनकि उनीहरूसँग वर्गसंघर्षको सपना पनि छैन, साम्यवादमा जाउँला भन्ने पनि छैन, निजी सम्पत्तिको उन्मुलन गरौँला भन्ने पनि छैन । वर्गविहीन समाज बनाउँला भन्ने पनि छैन उनीहरूको । उनीहरूको ध्येय यो देशमा कमसे कम वामपन्थी भूमिका खेल्न पाए हुन्थ्यो अथवा प्रतिगमनमा जान नदिने शक्तिको भूमिका खेल्न पाए हुन्थ्यो, यथास्थितिवादी बन्न पाए हुन्थ्यो भन्ने छ ।


संसदवादी कम्युनिस्ट पार्टीहरू कम्युनिस्ट रहेनन् । किनकि उनीहरूसँग वर्गसंघर्षको सपना पनि छैन, साम्यवादमा जाउँला भन्ने पनि छैन, निजी सम्पत्तिको उन्मुलन गरौँला भन्ने पनि छैन । वर्गविहीन समाज बनाउँला भन्ने पनि छैन उनीहरूको । उनीहरूको ध्येय यो देशमा कमसे कम वामपन्थी भूमिका खेल्न पाए हुन्थ्यो अथवा प्रतिगमनमा जान नदिने शक्तिको भूमिका खेल्न पाए हुन्थ्यो, यथास्थितिवादी बन्न पाए हुन्थ्यो भन्ने छ ।


अहिले मूलतः उनीहरू के हुन् भन्यो भने वामपन्थी भूमिका खेल्न पाए हुन्थ्यो भनेर इच्छा राख्ने यथास्थितिवादी पार्टीहरू हुन् । कांग्रेससँग एकता गर्छन्, कांग्रेसको घुँडामुनि बसेर चुनाव लड्छन् । सबै कुरा गर्छन् नि उनीहरू ! ती यथास्थितिवादी पार्टी हुन्, कम्युनिस्ट होइनन् । यद्यपि उनीहरूले बाहिर वामपन्थी भूमिका खेल्न पाए हुन्थ्यो भन्नेजस्तो भाव दिन खोज्छन् । उनीहरू कम्युनिस्ट त्यसकारणले होइनन् ।

संसद् बाहिर पनि संसदवादी, सुधारवादी छन्, तर संसद बाहिर नेपालमा वास्तविक कम्युनिस्ट आन्दोलन निर्माणको विभिन्न प्रयत्न चलिरहेको छ । त्यसकारण नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छ । कम्युनिस्ट पार्टीलाई सच्चा कम्युनिस्ट पार्टी बनाएर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने प्रयत्न हामी पनि गरिराख्या छौँ र विभिन्न समूहले पनि गरिराख्या छन् ।

  • जेनजी विद्रोहपछि नेपालमा कम्युनिस्ट पार्टी सायद पश्चिम बंगालको जस्तै हुन्छ कि भन्ने पनि चर्चा चलेको छ, त्यस्तै छ अहिलेको अवस्था ?

हाम्रो विश्लेषण पुरानो युगको कम्युनिस्ट आन्दोलन अथवा जसले यो युग लेनिनको युग हो भनेर व्याख्या गर्छ, त्यो पुरानो युगको कम्युनिस्ट आन्दोलन नेपालमा मात्रै होइन, संसारभरि मर्दै गएको आन्दोलन हो । यहाँमात्रै होइन, सोभियत संघ ढल्यो, रोमानिया ढल्यो, सबै ढल्दै–ढल्दै गएको हो । त्यसकारणले पुरानो युगको कम्युनिस्ट आन्दोलनको मृत्यु अवश्यम्भावी छ । त्यो मर्छ नै । दुई तरिकाले मर्छ– एउटा संसदमा गएर पुँजीवादसँग आत्मसमर्पण गर्दाखेरि पनि टिक्न नसक्ने पारेर तिनीहरूलाई सिद्ध्याउँछन् । तिनीहरू सकिन्छन् । अर्कोतिर सङ्कीर्ण भएर सिद्धान्तको ठुल्ठुलो जलप उराल्ने तर आजको अन्तरविरोधसँग काम गर्न नसक्ने हुँदै तिनीहरू मोहनविक्रम, रोहित र अहिलेकै अवस्थामा भन्ने हो भने मोहन वैद्य ‘किरण’ टाइपमा खुम्चिँदै जान्छन् र सिद्धिन्छन् । त्यसकारण पुरानो कम्युनिस्ट आन्दोलनको मृत्यु अनिवार्य छ । किनकि नयाँ युगमा छौँ हामी । भूमण्डलीकृत पुँजीवादको युगमा छौँ । संसारभरिका पुँजीपतिहरू एकअर्कासँग मिलेर बहुराष्ट्रिय कम्पनी, बहुराष्ट्रिय निगमहरू बनाउँदै एकताबद्ध भएर काम गर्ने युगमा छौँ ।

aahuti (11)

हो, त्यो युगको रणनीति नै पुरानो कम्युनिस्ट आन्दोलनसँग नभएको हुनाले त्यसको मृत्यु अनिवार्य छ । त्यसकारण हामीले भनेको नयाँ युग अनुसारको नयाँ कम्युनिस्ट आन्दोलनले मात्रै पुँजीवादसँग लड्न सक्छ । आज आफ्नो पार्टी कार्यालय जल्दा दुई जना कार्यकर्ता नआउने स्थितिमा पुगे ती पार्टी । त्यो अवस्थामा कांग्रेसमात्रै पुगेको त होइन, कम्युनिस्ट नामका पार्टीहरू पनि पुगे । कम्युनिस्ट नेताहरूलाई सेनाको ब्यारेकभित्र राखेर जोगाउनुपर्ने ठाउँमा पुगे । भनेपछि पुरानो कम्युनिस्ट आन्दोलन मरेको हो कि होइन ? हो नि यथार्थमा । फेरि कसरी उनीहरू काम गर्लान् ? फेरि के गर्लान् ? त्यो उनीहरूको कुरा हो । तर पुरानो कम्युनिस्ट आन्दोलन नयाँ युगको पुँजीवादसँग लड्नका निम्ति सक्षम छैन । नयाँ युगको पुँजीवादसँग लड्ने गरी नयाँ युगको नयाँ कम्युनिस्ट आन्दोलन चाहिन्छ अब । त्यसले मात्रै लड्न सक्छ ।

जस्तो कि म तपाईंलाई थोरै ऐतिहासिक उदाहरण भन्छु– मार्क्सवादको जन्म कम्युनिस्ट पार्टीको घोषणापत्र सँगसँगै सन् १८४८ मा भयो । त्यसपछि सन् १८७१ मा पेरिस विद्रोह भयो । पेरिस कम्युनको विद्रोह भयो । दुई–तीन महिनामात्रै त्यसले काम गर्‍यो । त्यसले संसारलाई गजब–गजबका उदाहरण पनि देखाइदियो । त्यसपछि पेरिस कम्युनमाथि दमन भयो र तहसनहस पारियो । हजारौँको हत्या गरियो । त्यसपछि युरोपभरि कम्युनिस्ट भनेको खिसीट्युरी गर्ने विषय बनेको थियो । कतैकतै किताबमा चर्चा हुने, नत्र मजदुर वा अन्य वर्गको बिचमा धेरै ठुलो आकर्षण नहुने चिज बन्दै गएको थियो त्यतिबेला । किन त्यस्तो भएको थियो भने मार्क्सले व्याख्या गरेको युग अन्त्य हुँदै थियो ।

मार्क्सवादको विकास गर्ने नयाँ आइसकेको थिएन । त्यसकारणले सन् १९०० सम्म मार्क्सवादीहरूको हालत चौपट, कम्युनिस्टहरूको हालत चौपट, खिसीट्युरी गर्ने खालको अवस्थामा पुग्यो । जब लेनिनहरू आए, उनीहरूले ‘अब मार्क्सको युग छैन, नयाँ युगमा गइसक्यो । यो एकाधिकार पुँजीवादको युगमा गइसक्यो । हामीले रणनीतिलाई विकास गर्नुपर्छ’ भने– त्यसपछि अक्टोबर क्रान्ति देखा पर्‍यो । फेरि संसारभरि कम्युनिस्टहरू एउटा सम्मानित, एउटा लहरको रूपमा, विश्व हल्लाउने लहरको रूपमा, संसारका मजदुरहरूको शासन स्थापना गर्ने, पुँजीपतिहरूलाई हायलकायल पार्ने आन्दोलनको रूपमा त्यो १९५८ सम्म गयो । चाइना, हिन्द–चीनको कम्पोचियाको पनि कुरा गर्ने हो भने सन् १९७५ सम्म पनि गयो पनि भन्न मिल्छ, तर त्यो राजा–महाराजा इत्यादि सब मिलाउने थियो, त्यसलाई नमान्दाखेरि क्युबाको क्रान्ति सन् १९५८ सम्म गयो ।

सन् १९५८ पछि हामीले संसारमा कहीँ पनि कम्युनिस्ट सत्ता जितेका छैनौँ । १९५८ देखि आजसम्म हामी हारिरहेका छौँ । स्थापना भएका समाजवाद ढलेका छन् र गर्न खोजेका क्रान्तिहरू भताभुङ्ग भएका छन् । यस्तो किन भयो भन्दाखेरि १९४५ को दोस्रो विश्वयुद्ध सँगसँगै पुँजीवादले आफ्नो चौथो चरणमा प्रवेश गर्‍यो । त्यसले विज्ञान प्रविधिलाई असाधारण विकास गर्दै चौथो चरणमा प्रवेश गर्‍यो । एकाधिकार पुँजीवादको चरणबाट त्यो भूमण्डलीकृत पुँजीवादको चरणमा गयो । अब कम्युनिस्टहरूको सिद्धान्त १९७६ मै अड्कियो । माओको मृत्युसँगसँगै कम्युनिस्टहरूको सिद्धान्तको विकास भएन । कम्युनिस्टहरूको सिद्धान्त लेनिन–माओको युगमा क्रान्ति गर्ने खालको थियो, तर संसार लेनिन–माओको युगभन्दा अगाडि गइदियो । अगाडि गएको युगको वर्गसंघर्ष पुरानै सिद्धान्त लिएर चलाइयो । पुरानो सिद्धान्तले धान्दैनथ्यो ।

सरल ढंगले बुझ्नका निम्ति सन् १९४५ पछि क्रमशः विश्व पुँजीवाद नयाँ युगमा गयो । सूचना प्रविधिदेखि लिएर विज्ञान प्रविधिका व्यापक आयाममा विकास गर्दै गयो र आफूलाई विश्वव्यापी रूपमा संगठित गर्‍यो । भारतीय पुँजीपति र चिनियाँ पुँजीपति एउटै बहुराष्ट्रिय कम्पनीमा संसारका १६ भन्दा बढी देशका पुँजीपतिहरू विश्व बैंकमा, आईएमएफमा विश्वव्यापी रूपमा उनीहरू संगठित भए । किन गए भने विज्ञान प्रविधिले उनीहरूलाई त्यो सजिलो बनायो ।

जनवादी केन्द्रीयताको सिद्धान्तलाई अब कम्युनिस्ट आन्दोलनले अगाडि बढाउन हुँदैन । नयाँ संगठनात्मक सिद्धान्त चाहिन्छ । त्यसैले हामीले सामुदायिक सार्वभौमिकता अबको कम्युनिस्ट आन्दोलन, नयाँ संगठनको सिद्धान्त हुनुपर्छ भनेका छौँ ।  त्यसले सामुदायिक जनवादको अभ्यास गर्दछ र केन्द्रीयता पनि फर्काउँछ समुदायमै ।

उदाहरणको रूपमा बुझ्नका निम्ति दुई जना साथीमध्ये दुई वटैले एकसाथ ब्राउन बेल्ट लिएका थिए कराँतेमा । एउटा साथीले थाहै नपाइकन गएर ‘टु डन’ बनेर आयो अथवा ब्ल्याक बेल्ट भएर आयो । अर्कोले सोच्यो कि मेरै साथी हो । दुवैले स्पाइरिङ गर्छन्, लड्छन्, तर सधैँभरि ब्राउन बेल्टवाला हार्छ । किन हार्छ भने त्यो अर्को साथी ब्ल्याक बेल्ट लिइसक्या थियो । कम्युनिस्ट आन्दोलन पुरानै युगको ब्राउन बेल्टमा थियो, तर पुँजीवाद ब्ल्याक बेल्टमा गइसक्या थियो । अनि पुँजीवादसँग कसरी जित्छ कम्युनिस्ट आन्दोलनले ? त्यसकारण सन् १९५८ देखि आजसम्म हामी हारेको हार्‍यै आयौँ । त्यसकारण पुरानो कम्युनिस्ट आन्दोलन मर्ने अनिवार्य छ । पुरानो कम्युनिस्ट आन्दोलनको पुनर्गठन हुँदैन । अब कम्युनिस्ट आन्दोलनको नवीन जागरण चाहिन्छ । नयाँ रणनीति, नयाँ संगठन, नयाँ संगठनात्मक सिद्धान्त, नयाँ वर्गसंघर्षको तरिका चाहिन्छ । त्यसो भएपछि अहिले बदनाम भएका राजनीतिक आन्दोलनहरू, बदनाम भएका कम्युनिस्ट पार्टीहरूको विकल्पमा साँच्चै लोकप्रिय, जनता आफैँले निर्माण गर्ने कम्युनिस्ट आन्दोलन फेरि ब्यूँतेर आउँछ । जसरी सन् १९०० पछि युरोपमा बदनाम गरिएको कम्युनिस्ट आन्दोलन फेरि क्रान्तिकारी उभार लिएर आयो, त्यस्तै गरी आउँछ । किनकि नयाँ युग अनुसारको नयाँ कुरा लिएर आफैँ आउँछ ।

aahuti (10)

  • त्यो आशा जीवितै छ ?

बिल्कुल जीवित छ । किनकि कम्युनिस्ट आन्दोलनले बाहेक विश्वव्यापी रूपमा केही समाधान कसैले दिनै सक्दैन । कम्युनिस्ट सिद्धान्तले बाहेक समाधान दिनै सक्दैन । कसरी दिन सक्छ ? अहिले पनि एक अर्ब मानिस एक छाकमात्रै खान्छन् संसारभरि । अहिले पनि शरणार्थी समस्या छ । त्यो कसरी हल गर्छ ? हल हुँदैन । करोडौँ मानिस शरणार्थी जीवन बिताइरहेका छन् । एउटै प्यालेस्टाइनमा ६५ हजार मानिस मर्दा पनि विश्व मानव अधिकारको यत्रो ठुलो कोरा हाल्ने विश्व पुँजीवाद चुपचाप छ । कसरी हल गर्छ यसले ? यसले हल गर्नै सक्दैन । त्यसकारण यो निजी सम्पत्तिको उन्मुलन गर्ने र सम्पूर्ण सम्पत्ति सामुदायिकरण गर्ने वैज्ञानिक समाजवादी व्यवस्थामा मात्रै हल हुन सक्छ । पुँजीवादमा कहाँ हल भयो ? सबैभन्दा विकसित भनिएका देशहरूमा आत्महत्याको रेट कति छ, तपाईं हिसाब गर्नुस् । जापानमा २० हजारभन्दा बढीले वार्षिक आत्महत्या गर्छन् । नेपालजस्तो अविकसित भनिएको देश र जापानजस्तो विकसित भनिएको देशको प्रतिशत बराबर छ । कहाँ हल गर्‍यो त्यसले ? भौतिक विकास भएका छन् तर हल भएको छैन । त्यसकारण पुँजीवादले हल गर्न सक्दैन । त्यसले सक्ने हतियार निर्माण गर्ने, युद्ध मच्चाइदिने हो बेला–बेलामा, ठाउँ–ठाउँमा युद्ध मचाइदिने, हतियार बेच्ने हो । अविकसित देशहरूको प्राकृतिक स्रोत कब्जा गर्ने हो । नाफा बटुल्ने हो र सय परिवारको हातमा ९९ प्रतिशत सम्पत्ति जम्मा गर्ने हो । के गर्छ त्यसले ? त्यो बदनाम छ संसारभरि । त्यसले कसरी हल गर्न सक्छ ? हल गर्न कम्युनिस्ट आन्दोलन नै आउनुपर्छ ।

विभिन्न ढंगले यो आफ्नै कारणले, यसले सिद्धान्तमा अपग्रेड गर्न नसक्नाले, सिद्धान्तमा विकास गर्न नसक्नाले यो अल्झिरहेको छ र यो बदनाम हुने भइहाल्यो । सकिएको जस्तो हुने पनि भइहाल्यो, तर यो अनिवार्य रूपमा व्यवस्थित रूपमा बौरिन्छ । त्यो प्रक्रिया नेपालमा सुरु भइसक्या छ ।

  • तपाईंले भनेजस्तो त्यो नवजागरण आउने कुरा सशस्त्र विद्रोहमार्फत् हुन्छ कि ‘इन्टेलेक्चुअल’बाट ?

वर्गसंघर्षद्वारा आउँछ, के को इन्टेलेक्चुअलले मात्र आउँछ ?

aahuti (8)

  • झन्डै दुई तिहाइ बहुमतको ओली सरकार तोप हाने पनि ढल्दैन भन्थे । त्यसलाई २८ घण्टामा ढाल्दियो जेनजी समूहले, यसलाई कसरी हेर्ने ?

उनीहरूले त्यसो भन्थे, हामीले त्यसो भन्दैनथ्यौँ । केपी ओलीजी र प्रचण्डजी सहितको करिब दुई तिहाइ सरकार बनेपछि मैले भनेको थिएँ– कुनै चिज पनि परिवर्तन हुँदैन । त्यतिबेला प्रत्येक नेपालीको टाउकोमा ३१ हजार ऋण थियो । मैले भनेको थिएँ कि चार वर्ष पनि बित्न नपाइ यो करिब ८० हजारभन्दा नाघ्छ । समृद्धिको केही पनि कुरा हुँदैन । यो दलाल पुँजीवादी संसदीय व्यवस्था बिल्कुल असफल छ, लागु हुनै सक्दैन भनेको थिएँ ।

आफ्नो पार्टी कार्यालय जलाउँदा कोही पनि बोल्ने मान्छे आउँदैन । तीन दिनपछि गएर खरानी हेर्नुपर्ने मान्छे रहेछ । आफ्नो अध्यक्ष, आफ्ना नेताहरूको रक्षा गर्न कोही पनि आएन अगाडि । विघटन भनेको त्यही हो । विघटन भनेको घर भत्किने भनेको हो र ? उहाँहरू विघटन भइसक्नुभयो । उहाँहरूबाट हल हुँदैन ।

त्यतिबेला हामीलाई अनेक भने, तर भयो त्यही । त्यसकारण उहाँहरूले भनेको कुरा हो । हामीले भनेको यो कम्युनिस्ट आन्दोलन मर्छ । यसको मृत्यु अनिवार्य छ भनेर हामीले त्यतिबेलै भनेको हो, जुन कुरा अहिले प्रकट भएको हो । कुनै नयाँ कुरा होइन यो । यही रूपमै आउँछ भनेर कसैले भन्न सक्दैनथ्यो, त्यो अर्कै विषय हो, तर पुरानो कम्युनिस्ट आन्दोलन मर्छ, यो व्यवस्था असफल छ, यी पार्टी असफल हुन्छन् भन्ने कुरा हामीले त्यतिबेलै भनेको हो । किनकि त्योसँग रणनीति नै थिएन । पुराना पार्टीहरूसँग के रणनीति छ ? विभिन्न दूतावास धाउने बाहेक केही रणनीति छ ? केही पनि छैन । कृषिमा के गर्ने भन्ने छैन । ८० लाख मानिस बाहिरभित्र नगरीकन समाज चलेको छैन, त्यसलाई कसरी हल गर्ने भन्ने कुनै आइडिया छैन । शिक्षा र स्वास्थ्यलाई कसरी जनताप्रिय बनाउने भन्ने कुनै आइडिया छैन । यहाँ वैदेशिक रोजगारका लागि नयाँ देश खुलाइदिएँ भनेर जस लिने काम भयो । महानगरपालिका जित्यो भने १० प्रतिशत निःशुल्क दिनुपर्ने रहेछ भनेको छ, त्यो म बाँड्छु, लेऊ भन्ने । यस्तो प्रगति, विचार छ मान्छेहरूको दिमागमा । तैँले बाँडेर हुँदैन, नदेलास्, म बाँड्छु । शिक्षालाई निजीकरणबाट कसरी मुक्त गर्ने, कसरी सामुदायिक विद्यालय र सामुदायिक शिक्षालाई अगाडि लाने, त्यहाँ कुनै ध्यानै छैन । लाइन नै थिएन पार्टीहरूसँग । त्यसकारणले त्यो असफल हुनु अनिवार्य थियो ।

  • नेपालको हकमा ७६ वर्षको कम्युनिस्ट इतिहासलाई हेर्दा जनता सन्तुष्ट देखिएन, कहाँ चुक्यो ?

कम्युनिस्ट पार्टीको एउटा आधारभूत मुद्दा के थियो ? क्रान्तिकारी भूमिसुधार हैन ? क्रान्तिकारी भूमिसुधारको च्याप्टर नै क्लोज गरियो यो संविधान बनाउने बेलामा । सामन्तहरूसँग भएको जमिन कहाँ पुग्यो ? भूमाफियाहरूकहाँ पुग्यो । किसानका हातमा आइपुगेन । क्रान्तिकारी भूमिसुधार सँगसँगै त्यसपछिको चक्लाबन्दी, त्यसको वैज्ञानिकीकरण, त्यसको औद्योगिकीकरणदेखि लिएर सबै कुरा जोडेर आउँथ्यो ।  क्रान्तिकारी भूमिसुधारै छोड्दियो कम्युनिस्ट पार्टीले । अर्को, राष्ट्रिय पुँजीको विकासको निम्ती यहीँ नै उत्पादन गर्नुपर्ने, औद्योगिकीकरणको जो नीति ल्याउनुपर्ने थियो, त्यो नीति ल्याउनको सट्टा आईएमएफसँग गएर संरचनागत समायोजन कार्यक्रम, जो पञ्चायतले सहमति गरेको थियो निजीकरण र उदारीकरणको, त्यही नीति लागु गरिदियो भनेपछि उद्योगधन्दा खुल्ने कुरा भएन ।

aahuti (4)

कृषि खत्तम, उद्योगधन्दा खत्तम भइसकेपछि दलाल पुँजीवादी अर्थतन्त्र बन्न पुग्यो । यहाँ सामान केही पनि उत्पादन नहुने, विदेशबाट ल्याउने, खाने । अनि काम गर्न कहाँ जाने ? बहुराष्ट्रिय कम्पनीले जहाँ बोलायो, त्यहाँ जाने । यस्तो दलाल पुँजीवादी अर्थतन्त्रको चक्र निर्माण भयो यहाँ । त्यो चक्रमाथि संस्कृति पनि त्यस्तै बन्ने भइहाल्यो, दलाल संस्कृति । उपभोक्तावाद पनि त्यसरी आउने भइहाल्यो, भनेपछि सबै सिद्धिएको हो ।

मूल कुरा त, क्रान्तिकारी कम्युनिस्ट आन्दोलनले लिएका आधारभूत नीतिमा टिक्नुपर्‍यो नि । भूमिसुधार गर्न तयार हुनुपर्‍यो । भूमिसुधार नभएसम्म म क्रान्तिकारी आन्दोलन अगाडि लान्छु भन्न सक्नुपर्‍यो । गोर्खा भर्ती सन्धि खारेज गर्छु भन्नुपर्‍यो । नेपालमाथि लागेका असमान सन्धिहरूको बारेमा दृढतापूर्वक लडाइँ लड्न जानुपर्‍यो र, आफ्नो देशलाई औद्योगिकीकरण नगरीकन हामी आत्मनिर्भर हुन सक्दैनौँ भनेपछि औद्योगिकीकरणको प्रक्रियामा जानु पर्‍यो कि परेन ? कम्युनिस्ट पार्टीहरू उद्योग खोल्नुको सट्टा बैंक खोल्न जान्छन् । बैंकिङ पुँजी भनेको दलाल पुँजी हो । त्यसले केही उत्पादन गर्दैन । ब्याज खाने पुँजी हो । त्यहाँ जान्छन् । त्यसपछि उनीहरू वन कब्जा गर्न जान्छन् । वन कब्जा किन गर्ने भने काठ बेचेर खाने भनेको हो । सामुदायिक वन भनेको अर्कै अवधारणा हो, तर वन कब्जा गर्न राजनीतिक पार्टीहरूले नीति बनाउने भनेको अर्कै हो । वन कब्जा गर्न गइरहेका छन् मान्छे । राजनीतिक पार्टीका कार्यकर्तालाई जग्गा किनबेच गर्न सिकाइरहेको छ । अनि कसरी हुन्छ ? त्यसकारणले कम्युनिस्ट आन्दोलनले आफ्ना आधारभूत एजेन्डा छोडिदिएको हो । पुँजीवादसँग आत्मसमर्पण गरेको हो पुरानो कम्युनिस्ट आन्दोलनले ।

आजको युवा हरेक ठाउँमा समानता खोज्छ, तर यो स्थापित पार्टीहरूको अफिसमा गयो भने उसको महासचिव बस्ने सिट अग्लो हुन्छ । यो मैले कुनै आरोप लगाएको होइन । सबै कम्युनिस्ट पार्टीको अफिसभित्र उसले समानता अनुभूति गर्न पाउँदैन भने त्यो युवा कसरी फर्किन्छ ? कहाँ पाउने उसले समानता ?

राजनीतिक क्रान्ति पहिले, त्यसपछि आर्थिक क्रान्ति भन्ने जो दृष्टिकोण छ, त्यो बिल्कुल पुरानो युगको हो । त्यो लागु नै हुँदैन अब । दुई वटा कुरा हुन्छ । अर्थतन्त्रविनाको राजनीतिक क्रान्ति अब टिक्दै टिक्दैन । अबको कम्युनिस्ट आन्दोलनले अर्थतन्त्र आफ्नो छुट्टै बनाउने, समानान्तर अर्थतन्त्र बनाउने ऊसँग नीति हुनुपर्दछ । समानान्तर पुँजीवादसँग समानान्तर अर्थतन्त्र भयो भनेमात्रै कम्युनिस्ट आन्दोलनको राजनीतिक क्रान्ति पनि हुनेवाला छ ।

राजनीतिक क्रान्ति भइसकेपछि राजनीतिक आन्दोलन सकिन्छ भनेको के ?  राजनीतिक क्रान्ति सकिन्छ त ? माओत्सेतुङले भनेको निरन्तर क्रान्ति के हो ? एक किस्ता अर्थतन्त्र, एक किस्ता राजनीति हुँदैन । राजनीति र आर्थिक क्रान्ति र राजनीतिक परिवर्तन सँगसँगै जानुपर्ने हुन्छ । हरेक राजनीतिक व्यवस्थालाई पनि परिमार्जन गर्दै लगेकोलग्यै गर्नुपर्ने हुन्छ । एकचोटि संविधान बनाइदिएपछि त्यो पूरै गीता पाठ गरेको जस्तो, कुरान पाठ गरेको जस्तो बस्ने, त्यसले प्रगति हुन्छ कहिल्यै ? त्यसकारण राजनीतिक परिवर्तन पनि लगातार हुनुपर्दछ, आर्थिक परिवर्तन पनि लगातार हुनुपर्छ । यो सिद्धान्तमा जानु पर्‍यो । एकचोटि जुलुस निकालेपछि जुलुस निकाल्न हुँदैन भनेको जस्तो गर्दिने, त्यस्तो छ नि थ्यौरी । राजनीतिक क्रान्ति पूरा भयो, अब आर्थिक क्रान्ति भनिदिने । ठुल–ठुला डाक्टर भनिएका नेताहरूले त्यसो भन्ने । आज देखे नि ! राजनीतिक क्रान्ति पुरा भएको रहेछ कि रहेनछ भन्ने कुरा । हामीले भन्दाखेरि मान्दैनथे । तिमीहरूले भनेको कुरा हुन्छ भन्थे, तर त्यस्तो कुरा थिएन । त्यसकारण कम्युनिस्ट आन्दोलन किन असफल भयो भन्दाखेरि एउटा उसले आफ्नो स्थापित जो मूल्य, मान्यता र उसको परिवर्तनको दिशा नै आत्मसमर्पण गरिदियो, छोडिदियो । अर्कोतिर नयाँ युग अनुसार नयाँ रणनीति जो बनाउनुपर्ने थियो, त्यहाँ ऊ जाँदै गएन । अनि हार्ने अनिवार्य थियो, हार्‍यो ।

  • आगामी दिनमा कम्युनिस्ट पार्टीले सर्भाइभ गर्न सक्छ ?

पुरानो कम्युनिस्ट आन्दोलनले सक्दैन । पुरानो कम्युनिस्ट आन्दोलन फर्किन सक्दैन । त्यो विघटन भइसक्यो । अब के गर्ने ? नयाँ बनाउने । हामी नयाँ बनाइराख्या छौँ ।

  • कसरी ?

बनाइराख्या छौँ हामीले । नयाँ कुरा गरिराख्या छौँ, नयाँ काम गरिराख्या छौँ । हामीले तीन वटा कुरा गरिराख्या छौँ । एउटा गडबडी कहाँ भएको हो भने कम्युनिस्टहरूले पनि जनवादी केन्द्रीयताको नाममा, संगठनात्मक सिद्धान्तको नाममा पुँजीपति वर्गले बनाउने जस्तै संगठन बनाए– पिरामिड आकारको । संगठनात्मक प्रणालीमा त्यहाँ पुगे लास्टमा ।

aahuti (2)

जनवादी केन्द्रीयताको सिद्धान्तले अब श्रमिक वर्गको प्रतिनिधित्व गर्न सक्दैन । लेनिनहरूले विकास गरेको हो जनवादी केन्द्रीयताको सिद्धान्त । त्यतिबेलाको कम्युनिस्ट आन्दोलनलाई त्यसले हाँक्यो । हाँक्न त हाँक्यो, तर प्रत्येक नेतालाई निरंकुश बनाएर जन्माइदियो । आफ्नै पार्टीभित्रका मान्छेलाई काटाकाट गर्नुपर्ने स्थितिमा पुर्‍याइदियो त्यसले । त्यसकारण जनवादी केन्द्रीयताको सिद्धान्तलाई अब कम्युनिस्ट आन्दोलनले अगाडि बढाउन हुँदैन । नयाँ संगठनात्मक सिद्धान्त चाहिन्छ । त्यसैले हामीले सामुदायिक सार्वभौमिकता अबको कम्युनिस्ट आन्दोलन, नयाँ संगठनको सिद्धान्त हुनुपर्छ भनेका छौँ ।  त्यसले सामुदायिक जनवादको अभ्यास गर्दछ र केन्द्रीयता पनि फर्काउँछ समुदायमै । पार्टी र राज्यसत्ता पनि पिरामिड आकारको हुँदैन, झाल र लहरा आकारको हुन्छ अथवा आयातकार आकारको बन्न थाल्छ । संगठनात्मक प्रणालीमा फेरबदल गर्नुपर्छ । त्यसपछि अगाडि बढ्छ कम्युनिस्ट संगठन ।

कम्युनिस्ट आन्दोलनको मूल, रिडको हड्डीको रूपमा त्यो अर्थतन्त्रको निर्माण भनेको दलाल पुँजीवादसँग नलडी हुँदैन । त्यसकारण अब वर्गसंघर्षको मूल चरित्र त्यो हुन्छ ।

दोस्रो, विज्ञान प्रविधिको विकासले के गरिदियो भने जनतासँग जोडिने सवाल सबभन्दा ठुलो कुरा हो । जनतासँग जोडिने भनेको जनतालाई सूचना पुर्‍याउने भनेकोमात्रै होइन, जनताको स्वार्थ पूर्ति हुनुपर्‍यो । वर्गको स्वार्थ पूर्ति हुनुपर्‍यो । आज पुँजीपतिविना नै अर्थतन्त्र बन्न सक्ने युग सुरु भयो । पुँजीपतिको जन्म किन भएको थियो भन्दाखेरि उत्पादनकर्ता र उपभोक्ताको बिचमा सिधा सम्पर्क नभएकाले बिचौलिया पुँजीपति जन्मेको थियो, तर आज विज्ञान प्रविधिको विकासले कुनै पनि मान्छे अर्को कुनै पनि मान्छेसँग २४ घण्टा लाइभ सम्पर्कमा बस्न सक्ने युग आयो । त्यसो हो भने बिचौलिया किन चाहिन्छ ? उत्पादनकर्ता र उपभोक्ता मिलेर उनीहरूले सबै चक्र पूरा गर्न सक्छन् । अहिलेदेखि समाजवादी अर्थतन्त्र बन्न सक्ने सम्भावना पैदा भयो । विज्ञान र प्रविधिले पुँजीपतिलाई मात्रै फाइदा गर्छ भन्ने होइन । श्रमिक वर्गलाई नै फाइदा गर्छ । त्यसकारण कम्युनिस्ट आन्दोलनले एक हातमा किताब, एक हातमा झण्डामात्रै बोकेर पुग्दैन । एक हातमा झण्डा, एक हातमा किताब चाहियो, तर साथमा काँधमा बोक्नुपर्‍यो आत्मनिर्भरताको एजेन्डा र उद्यम । प्रत्येक नेता आत्मनिर्भर, प्रत्येक कार्यकर्ता आत्मनिर्भर, प्रत्येक समुदाय आत्मनिर्भर, समुदाय नै उत्पादक, समुदाय नै उपभोक्ता र समाजवादी अर्थतन्त्रको समानान्तर रूपमा अर्थतन्त्रको निर्माण गर्ने ।

कम्युनिस्ट आन्दोलनको मूल, रिडको हड्डीको रूपमा त्यो अर्थतन्त्रको निर्माण भनेको दलाल पुँजीवादसँग नलडी हुँदैन । त्यसकारण अब वर्गसंघर्षको मूल चरित्र त्यो हुन्छ । अर्थतन्त्रविनाको कम्युनिस्ट आन्दोलन थियो विगतको युगमा, अब अर्थतन्त्रसहितको कम्युनिस्ट आन्दोलन हुन्छ । अर्थतन्त्रसहितको समुदाय भइसकेपछि त्यो समुदायलाई हराउन सम्भव नै छैन । आत्मनिर्भर समुदायमाथि टेकेर अनि राजनीतिक सत्ता, राजनीतिक संस्कृति, सबै चिजको निर्माण गर्दै अगाडि बढ्ने, समाजवाद लागु गर्ने, आजैदेखि समाजवाद । आजैदेखि अर्थतन्त्र बनाइन्छ भने आजैदेखि समाजवाद । जति प्रतिशत होला, अहिलेदेखि नै वर्गसंघर्षको तरिका फेरियो । अर्थतन्त्रले हो समस्या पारेको । अहिलेदेखि अर्थतन्त्र बनाउन सकिने सम्भावना पैदा भयो । त्यसकारण अहिलेदेखि नै समाजवादी अर्थतन्त्र बनाउने भनेको हो मैले ।

समाजवादी अर्थतन्त्र, कृषिमा, उद्योगमा पनि बनाउन थाल्ने । वर्गसंघर्षको तरिका फेरियो । जनतासँगै हुन्छ अब । उत्पादनमा गाँसिएको हुन्छ, अर्थतन्त्रमा गाँसिएको हुन्छ । जनता किन छुट्छ ? जनता छुट्ने भनेको उसको स्वार्थ छुटेपछि छुट्ने हो । अब छुट्दैन । हामी अहिलेदेखि समाजवादी अर्थतन्त्र बनाउने भएको हुनाले पुँजीवादले प्रहार गर्‍यो भने हामी लड्छौँ त्यससँग । हिजो आधार क्षेत्र बनाउनका निम्ति र त्यसको विस्तारको निम्ति लडिन्थ्यो भने अब हाम्रो समाजवादी अर्थतन्त्र निर्माण र विस्तारको निम्ति र रक्षाको निम्ति हामी प्रतिरोध संघर्ष विकास गर्छौं ।

  • आत्मनिर्भर अर्थतन्त्र नभएको कारणले नै पछिल्लो जेनजी विद्रोह र विध्वंश भयो भन्ने निष्कर्ष हो ?

बिल्कुल हो । एउटा कारण त्यही हो । निमित्त कारण सामाजिक सञ्जाल भए पनि जग त्यही हो । त्यसकारण आत्मनिर्भर अर्थतन्त्र बनाउँदै हामी समाजवादी अर्थतन्त्रतिर अगाडि बढ्छौँ । त्यसपछि जात व्यवस्था, पितृसत्ता, त्यसपछि उत्पीडित राष्ट्रहरूका समस्यादेखि लिएर सबै विषयलाई हामी लिएर अगाडि जान्छौँ । त्यसकारण जनतासँग अर्थतन्त्रमा समेत गाँसिएको हामी पार्टी र व्यवस्था हो, हामी बिल्कुल नयाँ बनाउँछौँ । त्यस्तो व्यवस्थामा प्रतिनिधिले शासन गर्न नपाउने । पुँजीवाद आएको यो चार–पाँच सय वर्षमा लोकतन्त्रको सार भनेको चुनाव हो । चुनावमा जनताले भोट हाल्ने, त्यसले प्रतिनिधि चुन्ने अनि प्रतिनिधिले पाँच वर्ष निर्णय गर्न पाउने, प्रतिनिधिहरू शासक बन्ने व्यवस्था हो । अब हामीले यसलाई उल्टाउनु पर्छ । त्यो कसरी उल्टाउनु पर्छ भन्दाखेरि सरोकारवालाहरूले निर्णय गर्ने, प्रतिनिधिले लागुमात्रै गर्न पाउने, निर्णय गर्न नपाउने, त्यस्तो व्यवस्थामा लानु पर्छ ।

aahuti (7)

  • तपाईंले भनेजस्तो अभ्यास हामीले राज्यपुनर्संरचना गरेर स्थानीय तहलाई अधिकार सम्पन्न गरेको होइन ?

अहिलेको स्थानीय तह पनि प्रतिनिधिले शासन गर्ने हो । कहाँ सरोकारवालाले शासन गर्छ र ? महिलाको बारेमा पुरुषले निर्णय गरिदिन्छ, दलितको बारेमा अर्काले निर्णय गरिदिन्छ, आदिवासी जनजातिले दलितको बारेमा निर्णय गरिदिन्छ ।

  • सबैले बुझ्ने भाषामा अलि प्रस्ट पारिदिनुस् न ?

हामी समाजवादमा जाँदा नयाँ सिद्धान्तमा जानु छ किनकि समाजवाद भनेको समुदायले शासन गर्ने भनेको हो । पुँजीवाद भनेको प्रतिनिधिले शासन गर्ने भनेको हो । त्यसकारण हामीले शासकीय स्वरूपमा उल्टो बनाउनुपर्ने हुन्छ । त्यो भनेको प्रतिनिधिहरूले शासन गर्न नपाउने, निर्णय गर्न नपाउने, सरोकारवालाहरूले निर्णय गर्ने । यसका लागि सरोकारवालाहरूको समूह बन्नुपर्ने हुन्छ । एकाइहरू बन्नुपर्ने हुन्छ, अहिले गाउँपालिका बनेको जस्तो । जहाँ–जहाँ जे–जे आवश्यक छ, त्यो अनुसार । 

यहाँ शिक्षकको प्रतिनिधित्व अर्काले गरिदिएको छ, अर्काको प्रतिनिधित्व अर्काले गरिदिएको छ । प्रतिनिधि दलाल पुँजीपति भइदिने । त्यसकारण सरोकारवालाहरूले निर्णय गर्ने, प्रतिनिधिहरूले केवल लागुमात्रै गर्ने ।

संसारमा मानव जातिको सात प्रकारको सरोकार छ । एक खाना, दुई वस्त्र, तीन आवास, चार स्वास्थ्य, पाँच शिक्षा, छ मनोरञ्जन र सात ती सबैलाई व्यवस्थापन । यत्ति हो संसारभरिका मान्छेहरूको सरोकार । यी सरोकारमा आधारित भएर हामीले संगठन बनाउने, सामाजिक एकाइहरू बनाउने हो भने उनीहरूले आफ्नो सरोकारवाला नै चुन्न पाउँछन्, अर्को चुन्नु पर्दैन । कुखुरा पाल्ने मान्छेले कुखुरा व्यवसायसँग नै सम्बन्धित मान्छे चुन्यो भनेमात्रै त्यो प्रतिनिधिले उनीहरूको प्रतिनिधित्व गर्न सक्छ ।

यहाँ शिक्षकको प्रतिनिधित्व अर्काले गरिदिएको छ, अर्काको प्रतिनिधित्व अर्काले गरिदिएको छ । प्रतिनिधि दलाल पुँजीपति भइदिने । त्यसकारण सरोकारवालाहरूले निर्णय गर्ने, प्रतिनिधिहरूले केवल लागुमात्रै गर्ने । हल्काराजस्तो प्रतिनिधि भयो भने त्यो प्रतिनिधि के हुन्छ ? शासक हुन पाउँदैन, सेवक हुन्छ । हामीले बनाउने राजनीतिक व्यवस्था समाजतिर फर्केको हुन्छ । समाजले निर्णय गर्ने, प्रतिनिधिहरूले लागु गर्ने । उल्टाइदिनु पर्छ यसलाई । यो हो नयाँ व्यवस्था भनेको ।

मैले संगठनात्मक प्रणालीको कुरा गरेँ, अर्थतन्त्रको कुरा गरेँ र यो कुरा गरेँ । यी आधारभूत कुरा गरियो भने नयाँ युगको पुँजीवादसँग लड्न सकिन्छ । कसरी लड्न सकिन्छ भन्दाखेरि पुँजीवादले पिरामिड जस्तो संगठन बनाउँछ, हामी सिङ्गो समाजसँग आधारित संगठन बनाउँछौँ, त्यसलाई जित्छौँ । त्यसलाई हल्लाउन सक्ने कुरा भएन । किनकि पुँजीवादमा प्रतिनिधिले शासन गर्छ, असन्तोष भइहाल्छ । हाम्रो व्यवस्थामा सरोकारवालाले निर्णय गर्छन्, त्यहाँ असन्तुष्टि कम हुन्छ । त्यसकारण उनीहरूलाई जित्न सकिन्छ, संगठनमा जित्न सकिन्छ । सिङ्गो समुदायले समाजवादको जिम्मा लिने भएको हुनाले हाम्रो जति ठुलो सेना पुँजीपतिसँग सम्भवै छैन । पुँजीपतिले ब्यारिकेड सेना बनाउँछ, हाम्रो समुदाय नै जिम्मा लिएर बस्छ आफ्नो व्यवस्थालाई । त्यसकारण हामी सैन्य क्षेत्रमा पनि पुँजीवादसँग डराउनुपर्ने, आत्तिनुपर्ने ठाउँमा हुँदैनौँ ।

  • यसलाई मास बेस्ड भन्न मिल्छ ?

समुदाय बेस्ड समुदायमा आधारित हुन्छ । त्यसपछि हाम्रो राजनीतिक व्यवस्था सरोकारवालाहरूले निर्णय गर्ने, प्रतिनिधिहरूले लागुमात्रै गर्ने हुनाले सरोकारवाला मालिक भए, समाज मालिक भयो । समाज मालिक भएको हुनाले समाजले आफ्नो व्यवस्थाको रक्षा गर्न तम्सिन्छ । किनकि समाज नै उत्पादनकर्ता हुन्छ, समाज नै उपभोक्ता हुन्छ । बिचौलिया हामी अन्त्य गरिदिन्छौँ । त्यहाँबाट हामी लड्न सक्छौँ । अहिलेदेखि नै अर्थतन्त्रमा समानान्तर अर्थतन्त्र बनाउने भएको हुनाले एउटामात्रै सामुदायिक उद्योग खुल्यो भनेदेखि त्यहाँ एक जनामात्रै भए पनि बेरोजगारी हट्छ । विदेश जान पर्दैन । त्यो समुदायको उत्पादन त्यही समुदायले उपभोग गर्ने भएको हुनाले बिचौलियाले अभाव सिर्जना गर्छु भने पनि सम्भव छैन । अर्थतन्त्रमा अहिलेदेखि हामी विशाल समुदायलाई सँगसँगै लिएर जान सक्छौँ । त्यसकारण संगठनको क्षेत्रमा नयाँ, वर्गसंघर्षको क्षेत्रमा नयाँ, राजनीतिक व्यवस्थाको परिकल्पना नयाँ । हो, यसो भयो भनेमात्रै आजको पुँजीवादलाई हराउने कम्युनिस्ट आन्दोलन जन्मिन्छ । हामी त्यही काम गरिराखेका छौँ ।

aahuti (6)

  • एमाले, माओवादी भनिएका कम्युनिस्ट दलभित्र पछिल्लो समय जुन पुस्तान्तरण, नेतृत्व हस्तान्तरणको बहस भइरहेको छ, त्यसको भित्री कारण के होला ?

माओवादी पार्टीसँग र एमाले पार्टीसँग आजको पुँजीवादसँग लड्ने विचार भएन । जस्तो कि आजको युवा हरेक ठाउँमा समानता खोज्छ, तर यो स्थापित पार्टीहरूको अफिसमा गयो भने उसको महासचिव बस्ने सिट अग्लो हुन्छ । यो मैले कुनै आरोप लगाएको होइन । सबै कम्युनिस्ट पार्टीको अफिसभित्र उसले समानता अनुभूति गर्न पाउँदैन भने त्यो युवा कसरी फर्किन्छ ? कहाँ पाउने उसले समानता ? समाजमा त असमानता छँदैछ । कम्युनिस्ट पार्टीको अफिसभित्र गयो, त्यहाँ पनि ऊ दुई नम्बरकै छ । भनेपछि हाम्रो पुरानो कम्युनिस्ट आन्दोलनको बुद्धि त्यस्तो छ क्या ! अनि त्यो पार्टी कसरी फर्किन्छ ? त्यसकारण मूल कुरा उहाँहरूको विचारमा समस्या परेको हो । धेरै मान्छेले प्रचण्ड, केपी ओली बिग्रेको हुनाले यस्तो भएको भन्थे । उनीहरू आफैँले बिग्रेको भनिराख्या छन् । अस्ति पत्रकारसँग प्रचण्डको कुरा सुन्नु, ‘कसरी बाँचियो नि बाबा !’ भन्छन् उनी । कति बिग्रेको रहेछु म भनेको पनि होला । नबिग्रेको मान्छेलाई कुट्ने कुरा भएन । भनेपछि उनीहरू कति बिग्रेका थिए, सबैलाई थाहा छ । उनीहरू आफैँले पनि दस्तावेजमा लेखेका छन् ।

कम्युनिस्ट पार्टीका नेताहरू, कम्युनिस्ट पार्टी भनिएका नेताहरूका छोराछोरीको बिहेमा अम्बानीको छोराछोरीको बिहेमा डिजाइन गर्ने डिजाइनरले कपडाको डिजाइन गर्नुपर्ने ठाउँमा पुगे । अनि मान्छेले बुझ्छ कुरा ?

आ–आफ्नो दस्तावेजमा । तर मूल कुरा त्यो होइन । मूल कुरा विचारमा विकास नभएर बिग्रेको हो । विचारमा विकास भयो भनेदेखि अलिकति खराब मान्छे छ भने पनि त्यो विचार बोक्दै ठिक हुँदैन ? हुन्छ नि । त्यसकारण पुरानो कम्युनिस्ट आन्दोलनसँग नयाँ पुँजीवादसँग लड्ने विचारधारा भएन । संगठनात्मक प्रणाली भएन । वर्गसंघर्षको तरिका भएन । त्यो नभइसकेपछि उनीहरू थला परे । बिग्रेको पार्टी जन्मिन्छ ? समाजमा चोर, फटाहा, लुच्चा, लफङ्गा, बहिनी बेचेर खाने, दाइ कुटुवा सबै हुन्छन्, होइन ? तर त्यहाँ विचार ठिक लिएर पार्टी बनाउन थालेपछि ती सबै राम्रो मान्छे हुँदै आउँछन्, होइन ? त्यसकारण विचारमा गडबडी भइसकेपछि ती पार्टीहरू थला परेका हुन् । उहाँहरूको पुस्तान्तरण गरे नि समस्या हल हुँदैन । विचार त्यही छ । मान्छे फेरे नि समस्या हल हुँदैन । कुरा त्यही हो । त्यसकारण समस्या विचारमा परेको छ । पछि गएर वर्गमा पनि परिहाल्यो । खराब विचारले उहाँहरूको वर्गै अन्त्य पारिदियो ।


त्यस्तो तालले हुन्छ कहिल्यै ? समस्या परिसक्यो, यत्रो भयानक समस्या आइसकेपछि, उनीहरू कान कुन औँलाले समात्ने भनेर बसिराख्या छन् । यसले समस्या हल हुन्न । उहाँहरूको विघटन अनिवार्य छ, भइनै सक्यो, तर नयाँ कम्युनिस्ट आन्दोलन चाहिन्छ, कुरा त्यही हो ।


गाला छेडेर बोटक्स गर्नलाई १२ लाख खर्च गर्ने ठाउँमा पुगे मान्छेहरू । हो कि होइन ? कम्युनिस्ट पार्टीका नेताहरू, कम्युनिस्ट पार्टी भनिएका नेताहरूका छोराछोरीको बिहेमा अम्बानीको छोराछोरीको बिहेमा डिजाइन गर्ने डिजाइनरले कपडाको डिजाइन गर्नुपर्ने ठाउँमा पुगे । अनि मान्छेले बुझ्छ कुरा ? त्यसकारण एउटा विचारमा विकास नभएको मुख्य कुरा । त्यसपछि वर्ग–विवर्गमा पलायन भयो नेतृत्व पंक्ति । यो दुई वटा कुरा समस्या हो । त्यसकारण उहाँहरू विचारमा नयाँ गर्न तयार हो कि होइन ? तयार भए ठिक छ, नत्र ठिक हुँदैन । समयले फाल्दिन्छ । फाल्दिसक्यो नि ।

अब संसदवादी पार्टीहरू विघटन भइसके, चिहान बाँकी छ । चिहानबाट कति खरानी बटुल्ने भन्ने अर्कै कुरा हो । विघटन भनेको के ? व्यक्ति छन्, तर भएर के गर्ने ? आफ्नो पार्टी कार्यालय जलाउँदा कोही पनि बोल्ने मान्छे आउँदैन । तीन दिनपछि गएर खरानी हेर्नुपर्ने मान्छे रहेछ । आफ्नो अध्यक्ष, आफ्ना नेताहरूको रक्षा गर्न कोही पनि आएन अगाडि । विघटन भनेको त्यही हो । विघटन भनेको घर भत्किने भनेको हो र ? उहाँहरू विघटन भइसक्नुभयो । उहाँहरूबाट हल हुँदैन । किन हल हुँदैन भने उहाँहरू नयाँ विचारमा आउन चाहिराखेको छैन । पुरानै विचारबाट, अझ हुँदाहुँदा पुरानै व्यक्तिबाट कान यताबाट समात्ने, दायाँबाट समात्न नसक्दा पछाडिबाट घुमाएर मैले कान समातेँ भन्ने भयो । त्यस्तो तालले हुन्छ कहिल्यै ? समस्या परिसक्यो, यत्रो भयानक समस्या आइसकेपछि, उनीहरू कान कुन औँलाले समात्ने भनेर बसिराख्या छन् । यसले समस्या हल हुन्न । उहाँहरूको विघटन अनिवार्य छ, भइनै सक्यो, तर नयाँ कम्युनिस्ट आन्दोलन चाहिन्छ, कुरा त्यही हो ।

aahuti (9)

  • जेनजी विद्रोह जुनसुकै आवरणमा भए पनि पहिलो दिन उनीहरूले राखेको माग जायज नै थियो । तर भोलिपल्ट जुन विध्वंश मच्चियो, योजनाबद्ध षड्यन्त्र थियो भन्ने चर्चा भइरहेको छ । विद्रोहको जगमा बनेको सरकारबाट छिमेकी मुलुक भारत उत्साहित हुँदा चीन किन मौन बस्यो ?

चाइना किन मौन बस्यो, त्यो उनीहरूले जान्लान् । म के बुझ्छु भने योजनाबद्ध रूपमा २०८४ को तयारी थियो । आफ्नो अलि बलियो खालको, व्यवस्थित खालको, कठपुतली ल्याउने तयारी पश्चिमको देखिन्छ । त्यो तयारीमा उसले विभिन्न दूतावासमार्फत कार्यक्रम चलाउने, एनजीओहरू चलाउनेदेखि लिएर सबै तयारी गर्दै गर्दै आएका थिए । यो सात–आठ वर्षदेखि प्रयत्न गर्दै आएको देखिन्छ । संसारभरि कतै निलो आन्दोलन, कतै रोज रिभोलुसन आइत्यादि इत्यादि चल्दै आइरहेका छन् । त्यसपछि उनीहरूले दुई वटा प्रयोग यहाँ गरेको देखिन्छ । एउटा, निलो क्रान्ति भन्दै व्यक्ति हिरो बनाएर राजनीतिक पार्टीकै रूपमा लिएर आउने । अर्को, व्यक्तिहरूलाई हिरो बनाउँदै स्वतन्त्र व्यक्ति लिएर आउने ।

दुई–तीन घण्टाकै बिचमा १९ जना मान्छे पनि मर्ने, ४०० जनाभन्दा बढी घाइते हुने भनेपछि त्यहीँबाट सुरु भइहाल्यो त्यसलाई हाइज्याक गर्ने क्रम । त्यो जेनजीको विद्रोहलाई टेकेर अन्त लैजाने कुरा त्यहीँबाट सुरु भइहाल्यो ।

दुई वटै प्रयोग यहाँ एकसाथ २०८४ को तयारी थियो । त्यसको निम्ति सबै चिज प्रयोग गर्ने । पात्र, संघ–संस्था सबै प्रयोग गर्ने योजना देखिन्छ । त्यो गर्दै आएको देखियो । त्यो सामाजिक सञ्जाल बन्द हुने मूर्खतापूर्ण कुरामा प्रकट भयो । किनकि सामाजिक सञ्जाल भनेको केटाकेटीहरू छलफल गर्ने, कुराकानी गर्ने ठाउँ मात्र हो भन्ने बुझे त्यो बुढो पुस्ताले । तर सामाजिक सञ्जाल नेपालको हकमा मध्यम वर्गको लाखौँ युवाको रोजगारीको स्रोत थियो । कमाइको स्रोत थियो । कैयौँ पत्रकार, कैयौँ युट्युबर, कैयौँ पसलेदेखि लिएर सबैले गुजारा गरिराख्या थियो । त्यसले सहरभित्रका लाखौँ मान्छेलाई प्रभाव पार्‍यो । गाउँमा केही पनि भएको छैन यसपटक । सहरमा रहेको ठुलो युवा पुस्ताको, लाखौँको जमातलाई त्यसले दशैँको मुखमा हानिदियो । निमित्त कारणको रूपमा जेनजी विद्रोहको रूपमा प्रकट भयो । त्यो स्तरमा प्रकट भइसकेपछि त्यहाँ स्वाभाविक रूपमा सबै डिजाइन तयार थिए । २०८४ भन्दा अगाडि गर्नका निम्ति सबै डिजाइन तयार थियो । तिनकुनेको घटना तयारीपूर्वक भएको देखिन्छ । रिहर्सल नै भएको थियो ।

जेनजी आन्दोलनमा पनि सबै तयार थिए । एक–दुई घण्टाको बिचमा १९ जना मान्छेको हत्या गरियो । किनकि नेपाली समाजमा २०३६ सालको आन्दोलन हेरियो, २०४६ हेरियो, २०६२/६३ हेरियो । सबै हेर्दाखेरि कयौँ हप्ताको आन्दोलनको क्रममा उत्कर्षमा पुग्ने बेलामा केही मानिस मारिने हो । त्यहाँ त दुई–तीन घण्टाकै बिचमा १९ जना मान्छे पनि मर्ने, ४०० जनाभन्दा बढी घाइते हुने भनेपछि त्यहीँबाट सुरु भइहाल्यो त्यसलाई हाइज्याक गर्ने क्रम । त्यो जेनजीको विद्रोहलाई टेकेर अन्त लैजाने कुरा त्यहीँबाट सुरु भइहाल्यो । प्रस्टै देखिन्छ । त्यसपछि सरकारले कर्फ्यु लगाउँछ तर सेना बाहिर आउँदैन । भोलिपल्ट आए । त्यसले योजनाबद्ध रूपमा अगाडि बढिराख्या छ भन्ने देखिन्छ । गुगलमा म्याप राखिएको छ, कसको घर कहाँ छ भनेर बाटो देखाइएको छ ।

त्यसको निश्चित उद्देश्य के थियो भन्दाखेरि यो देशको राज्यसत्ताका सबै अवयवहरू असफल बनाइदिने । खाली गराउने थियो । खाली गराइसकेपछि प्रतिगमनतिर लगे पनि भयो, अर्को दिशामा लगे पनि भयो । त्यसपछि अन्ततः राति ९ बजे  सेना आफैँले सम्बोधन गर्न आइहाल्यो । नेताहरू नजरबन्दको स्थिति, राष्ट्रपति छ, संसद् छ, सभामुख छ, तर उनीहरू कोही पनि बोल्दैनन् । बोल्नै पाउँदैनन् । आउँछ को भने श्री ५ को तस्बिर लिएर सेनापति । त्यो सोझै खाली गरेर प्रतिगमनमा गइहाल्यो । राजा ल्याउन भनेर लागिरहेका दुर्गा प्रसाईंले भनिसके । उनको शब्दमा प्रतिगमनमा लाने योजना बन्यो । भनेपछि योजनाबद्ध रूपमा जेनजी विद्रोहको सामूहिक प्रसंगमाथि खेलबाड भएको हो । यसलाई प्रतिगमनमा लानका निम्ति कोसिस भयो । तर प्रतिगमनमा लाने वातावरण बनेन ।

aahuti (1)

किन वातावरण बनेन भने पार्टीहरू पनि जीवित थिए । जेनजी विद्रोहीहरूको कतै नारै थिएन प्रतिगमन । अस्तिमात्रै राजावादीहरूले मच्चाएको विध्वंशबाट जनता दिक्दार थियो । राजावादीहरूको स्वार्थपूर्ति हुने स्थिति त्यहाँ देखा परेन । संरचनागत प्रतिगमनमा जान सक्ने स्थिति भएन । नभएपछि अब के गर्ने भनेपछि फेरि यथास्थितिमा फर्किए उनीहरू । यथास्थितिमा यसकारणले फर्किए कि आफ्ना आफ्नै चाहेका मान्छेको जस्तो एउटा बनाएर फेरि अलिकति लानु पर्‍यो भनेर प्रतिगमनमा गएर फेरि यथास्थितिमा फर्केको स्थिति हो । यो स्थितिबाट फेरि प्रतिगमनतिर जान नि सक्छ, यथास्थितिमा रहन नि सक्छ  । यसलाई अग्रगामी परिवर्तनमा लाने कोसिस गर्न पनि सकिन्छ । यस्तो तरलताको बिचमा अहिले परिस्थिति उभिएको छ ।

  • आगामी दिनमा नेपाली कम्युनिस्ट पार्टीको भविष्य कस्तो छ  ?  

अहिले कम्युनिस्ट पार्टी भनेर हुँदैन । मैले सार्वजनिक रूपमा प्रस्ताव नै अघि सारेको छु, कि अहिले पुरानो संसदीय व्यवस्था असफल भयो । संसदवादी पार्टीहरू र नेतृत्व पनि असफल भयो । जेनजी विद्रोहले अग्रगामी परिवर्तन खोजेको छ । यथास्थितिवादीहरू यथास्थितिमा राख्न खोज्छन् । अहिले संसदवादी पार्टीहरूमा रहेका पुरानो नेतृत्व प्रणाली र पार्टीबाट हैरान–परेशान भएका तर परिवर्तनमा जान चाहने जमातहरूले संगठित रूपमा पहल गर्नुपर्‍यो । तिनीहरूको सिङ्गै पार्टी आउन सक्दैन । कसैले पत्याउँदैन, तर त्यो पार्टीभित्र न्यायपूर्ण सवालमा बोलिरहेका, लडिरहेका र यसबाट हुँदैन, नेतृत्वले हुँदैन, अब नयाँ गर्नुपर्छ भनेर सोचिरहेका जमातहरू प्रस्टै देखिने गरी छ ।

दोस्रो, वास्तविक जेनजी विद्रोहीहरू । तीन, संसद बाहिर रहेका क्रान्तिकारी परिवर्तनको पक्षमा लगातार आवाज उठाइरहेकाहरू, काम गरिरहेकाहरू हो । यिनीहरूको बिचमा मोर्चाबन्दी हुनु जरुरी छ अहिले । यो मोर्चाबन्दी भयो भने जनतालाई आह्वान गर्न सक्ने गतिलो आधार हुन्छ । उनीहरू अग्रगामी परिवर्तनको दिशामा लान सक्छन् । उनीहरूले प्रतिगमनलाई पनि रोक्दिन सक्छन्, यथास्थितिमा थन्किन पनि रोक्दिन सक्छन् । राष्ट्रिय स्वाधीनताको पनि रक्षा गर्न सक्छन् । अग्रगामी परिवर्तन सहित उनीहरू जान सक्छन् । अहिलेको आवश्यकता त्यो हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया