भीमफेदी कारागारका १५७ कैदी अझै फरार, थप सजायको व्यवस्था कार्यान्वयनमा चुनौती
सारांश
- मकवानपुरको भीमफेदी कारागारबाट भागेका ४४० कैदीबन्दीमध्ये १५७ जना अझै सम्पर्कमा आएका छैनन्।
- फरार रहेका कैदीबन्दीहरूमा जबरजस्ती करणी, कर्तव्य ज्यान, लागु औषध र विदेशी नागरिकहरू छन्।
- फरार कैदीबन्दीलाई थप सजाय दिने निर्णय भए पनि कार्यान्वयनमा चुनौती रहेको छ।
हेटौँडा । मकवानपुरको भीमफेदी कारागारबाट ‘जेनजी’ आन्दोलनको मौका छोपी फरार भएका १५७ जना अझै सम्पर्कमा आएका छैनन् । कारागार प्रशासनले फरार रहेका कैदीबन्दीलाई छिटोभन्दा छिटो सम्पर्कमा आउन पटक-पटक आग्रह गरे पनि भागेका ४४० कैदीबन्दीमध्ये १५७ केदीबन्दी सम्पर्क विहीन रहेका हुन् ।
कारागार व्यवस्थापक सुवास पौडेलका अनुसार, गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर ४४० जना कैदीबन्दी फरार भएका थिए । तीमध्ये हालसम्म २८३ जना सम्पर्कमा आइसकेका छन् भने १५७ जना अझै फरार रहेका छन् । फरार रहेकाहरूमा जबरजस्ती करणीमा ३२, कर्तव्य ज्यानमा १३, लागु औषधमा ७५ र २६ जना विदेशी नागरिक रहेको उनले बताए ।
‘मकवानपुरबाट भागेका ४४० मध्ये १५७ फरार रहेका कैदीबन्दीहरु पारिवारिक सम्पर्कमा पनि छैनन् । उनीहरू अन्य ठाउँबाट कहिलेकाहीँ सम्पर्कमा आउने गरेका छन् । तर, हामीले कारागार फर्काउन सकेका छैनौँ,’ उनले भने, ‘फरार कैदीबन्दीहरुलाई सम्पर्कमा ल्याउन जिल्ला सुरक्षा समितिसहितको कार्यदलले काम गरिरहेका छौँ ।’
थप सजायको कानुनी व्यवस्था र कार्यान्वयनमा चुनौती
कारागार व्यवस्थापक पौडेलका अनुसार भागेका कैदीबन्दीलाई थप सजाय गर्ने निर्णय भएपनि कार्यान्वयनमा आउन नसकेको बताए । थप सजायको व्यवस्था कार्यान्वयन गरेको खण्डमा भागेका केदीबन्दीहरु फिर्ता हुन सक्ने सम्भावना रहेको उनले बताए ।
यद्यपी हालसम्म निर्णय भए अनुसार कुनैपनि कारागारले थप सजायको लागि फाइल उठाउन नसकेको उनले बताए । कारागार तोडफोड गरी भाग्ने कैदीबन्दीलाई कारागार ऐन, २०७९ को दफा ४९ अनुसार थप सजायको व्यवस्था रहेको उनले बताए ।
ऐनमा कारागारको पर्खाल, झ्याल–ढोका फोडेमा, भत्काएमा वा नष्ट गरेमा दश वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । त्यसैगरी, कारागारबाट भागेमा वा भाग्ने उद्योग गरेमा पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । तर, भीमफेदी कारागारबाट भागेका कैदीबन्दीको हकमा यो कानुनी व्यवस्था कार्यान्वयनमा चुनौती देखिएको उनले बताए ।
त्यस विषयमा स्पष्ट रूपमा निर्देशन आउन नसक्दा कार्यान्वयनमा समस्या भएको उनको भनाइ छ । कारागार व्यवस्थापक पौडेलका अनुसार, देशभरका २८ वटै कारागारबाट भागेका कैदीबन्दीमध्ये तोडफोड र आगजनीमा संलग्नलाई थप सजायको लागि कुनै पनि फाइल खडा गरिएको छैन ।
कारागार व्यवस्थापक पौडेलले सुरक्षा चुनौतीका बिच भागेका र सामान्य अवस्थामा भागेका कैदीबन्दीलाई फरक–फरक रूपमा हेरेर कानुनी उपचारको व्यवस्था गर्नुपर्ने बताए । सो अनुसार गर्न सकिएमा कारागार व्यवस्थापनमा सहजता आउने उनले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण