मुस्ताङमा बाढी पहिरो : कोरला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध
सारांश
- मुस्ताङमा अविरल वर्षाका कारण जोमसोम-कोरला सडक खण्डमा आधा दर्जन स्थानमा पहिरो गएको छ।
- जोमसोम-कागबेनी सडक खण्डमा पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको छ र मुक्तिनाथ जाने यात्रु रोकिएका छन्।
- पहिरोले गर्दा एउटा ट्याक्सीमा क्षति पुगेको छ भने भारतीय कार फसेको छ, साथै १७ जना यात्रु अलपत्र परेका छन्।
मुस्ताङ । अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडक खण्डको आधा दर्जन स्थानमा पहिरोले क्षति पुर्याएको छ । जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
जोमसोम–कागबेनी सडकअन्तर्गत जोमसोमदेखि कागबेनी जाने पान्डा खोला नजिकको तीन स्थानमा पहिरोले सडक संरचनामा क्षति पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।
उनका अनुसार जोमसोमदेखि दुई किलोमिटरमाथिको कालोपत्र सडक भासिएर सडक जोखिम बढेको जानकारी दिए । निरन्तरको वर्षाले जोमसोमदेखि केहीमाथि करिब २५ मिटर सडक भासिन पुगेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।
बिहीबार साँझ पान्डा खोलाको बाढीले सडक संरचनामा क्षति पुर्याएको छ । यद्यपि सुरक्षा निकायले हाललाई कामचलाउ रूपमा भए पनि यातायात सञ्चालनमा ल्याएको उनको भनाइ छ । जोमसोम–कागबेनी सडक खण्डको चार स्थानमा सडक माथिबाट पहिरो खस्नेक्रम जारी रहेकाले जोमसोमदेखि कागबेनी जाने मुक्तिनाथ दर्शनार्थीलाई जोमसोममै रोकिएको छ ।
‘मुक्तिनाथ–जोमसोम सडकका विभिन्न ठाउँमा पहिरो खस्ने क्रम जारी छ, हामीले माथि रोकिएका सवारी तथा यात्रुलाई एकतर्फी सडक खुलाएर भए पनि तल झाने प्रयास गरिरहेका छौँ’, प्रमुख जिल्ला अधिकारी भुसालले भने, ‘जोमसोमबाट मुक्तिनाथ र कोरलातर्फ जाने सवारीसाधनलाई माथि जान रोक लगाएका छौँ ।’
प्रमुख जिल्ला अधिकारी भुसालले वर्षा रोकिएमा सडकको अवस्था हेरेर मात्रै सडक माथि जान दिइने बताए । यसैगरी जोमसोम–कागबेनी सडकमा पहिरो खस्दा एक सार्वजनिक भाडाको ट्याक्सीमा क्षति पुगेको छ भने पहिरो गएको स्थानमा एक भारतीय कार फसेर बसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । पहिरोका कारण फसेको भारतीय गाडीलाई निकाल्ने प्रयास भइरहेको उनको भनाइ छ ।
बाढी पहिरोले कागबेनी–छुसाङ सडक खण्डको आधा दर्जन स्थानको सडक अवरुद्ध भएको छ । ताङ्वे–छुसाङबीचमा पर्ने खोलाको बाढीले कोरला सडकमा क्षति पुर्याएको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–३ का अध्यक्ष विनोद गुरुङले जानकारी दिए । उनका अनुसार कागबेनी–कोरला सडक बिहीबार साँझदेखि पूर्ण रूपमा अवरुद्ध छ ।
वर्षाका कारण सडक अवरुद्ध भए अलपत्र १७ जना यात्रीहरूलाई बारागुङ–३ स्थित ग्रिन ताङ्वे घरमा लगेर राखिएको वडाध्यक्ष गुरुङले बताए । वर्षा रोकिएपछि उनीहरूलाई गाउँले बस्ती नजिक ल्याउने योजना रहेको बताए ।
अवरुद्ध जोमसोम–कागबेनी सडकको आज बिहान प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरी र प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामालगायतका सुरक्षाकर्मीले अवलोकन गरेका छन् ।
जोमसोम–कागबेनी भासिएको सडक मर्मत गरी सञ्चालनमा ल्याउन दुई÷तीन दिन लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण