कोशी प्रदेश अस्तव्यस्त, राजमार्ग अवरुद्ध, कृषि र पर्यटन क्षेत्र प्रभावित
सारांश
- मोन्था चक्रवातको प्रभावले कोशी प्रदेशमा भारी वर्षा र हिमपात गरायो, जसले जनजीवन अस्तव्यस्त भयो।
- बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा हजारौं पर्यटक अलपत्र परेका छन्, र किसानको बालीनालीमा क्षति पुगेको छ।
- मौसम प्रतिकूल हुँदा पर्यटन प्रभावित भएको छ, र किसानहरूले धानबालीमा ठूलो क्षति बेहोरेका छन्, जसले चिन्ता बढाएको छ।
विराटनगर । मोन्था चक्रवातको प्रभावका कारण बिहीबार रातिदेखि परेको बेमौसमी अविरल वर्षा र हिमपातले कोशी प्रदेशको जनजीवन अस्तव्यस्त बनेको छ ।
वर्षापछिको बाढी र पहिरोले यस क्षेत्रका मुख्य राजमार्ग र सडक सञ्जालहरू ठप्प भएका छन्, हजारौँ पर्यटक विभिन्न स्थानमा अलपत्र परेका छन् भने किसानहरूले लगाएको बालीनालीमा ठुलो क्षति पुगेको छ ।
अविरल वर्षाले पूर्वी नेपालका अधिकांश मुख्य राजमार्ग र सडकहरूमा क्षति पुर्याउँदा यातायात सञ्जाल लगभग ठप्प भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपहिरोका कारण कम्तीमा चार वटा प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् र ती स्थानमा वैकल्पिक मार्गसमेत छैन ।
झापाको शिवसताक्षीस्थित भालुखोलामा निर्माणाधीन पुलको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग एकतर्फी मात्र सञ्चालनमा छ ।
इलामको राजदुवाली सडकखण्ड भासिँदै र चिरा पर्दै गएपछि पूर्ण रूपमा बन्द गरिएको छ । यसको वैकल्पिक मार्ग मानिएको तिल्केनी–सिमलगोलाई–शिल्पुर सडक पनि पहिरोले अवरुद्ध छ । राजमार्ग बन्द हुँदा ताप्लेजुङ र पाँचथरबाट झापातर्फ आउने–जाने सवारी साधनहरू रोकिएका छन् ।
धनकुटाको साँगुरीगढी–६ कोल्बोटेमा सडक भासिएकाले ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने भेडेटार नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको छ । धनकुटा र पाँचथरको सिमानामा पर्ने नावाखोलामा पानीको बहाव अत्यधिक बढेपछि यो सडकखण्ड बन्द गरिएको छ ।
पाँचथरमा मध्यपहाडी राजमार्गको रिजालभीर खण्ड, फिदिम–फालौट सडक र धनकुटाको रवि–राँके–भेडेटार सडक पनि पहिरोका कारण अवरुद्ध बनेका छन् । ओखलढुङ्गामा सिद्धिचरण लोकमार्ग भन्डारे खोलामा आएको बाढीले अवरुद्ध छ । सडकहरू खुल्ने निश्चित नहुँदा र वैकल्पिक मार्ग नहुँदा यात्रुहरूलाई गन्तव्यमा पुग्न सकस भएको छ ।
पर्यटनको मुख्य सिजनमै मौसम प्रतिकूल बन्दा खुम्बु क्षेत्रमा मात्रै करिब साढे पाँच हजार स्वदेशी तथा विदेशी पर्यटक अलपत्र परेका छन् । लगातारको वर्षा र हिमपातले चार दिनदेखि उडान हुन नसक्दा तेन्जिङ हिलारी विमानस्थल, लुक्लामा करिब ६ सयभन्दा बढी पर्यटक रोकिएका छन् ।
पर्यटकको चापले लुक्ला र सुर्केमा होटल अभाव भएको छ । आधारशिविर क्षेत्र, गोरक्क्षेप, लोबुचे, दिङबुचे र नाम्चेबजारमा हजारौँ पर्यटक रोकिएका छन् ।
उता ताप्लेजुङको सुकेटार विमानस्थलमा पनि पाँच दिनदेखि उडान हुन नसक्दा काठमाडौँ जाने यात्रुहरू रोकिएका छन् ।
यही मौकामा सुर्केबाट सल्लेरी जाने जिपहरूले प्रतिव्यक्ति ३ हजार लाग्ने भाडा १० हजारसम्म असुल्न थालेको गुनासो आएको छ । जसले नेपालको पर्यटनमा नकारात्मक सन्देश जाने भन्दै व्यवसायीहरू चिन्तित बनेका छन् ।
असामान्य वर्षाले भित्र्याउने बेला भएको धानबाली र भर्खरै लगाइएको तोरीबालीमा ठुलो क्षति पुर्याएको छ ।
झापा, मोरङ, सुनसरी, उदयपुरलगायतका जिल्लामा काटिसकेको र काट्न तयार भएको धान खेतमै डुबेको छ । जसले गर्दा किसानहरू ठुलो मारमा परेका छन् ।
रोपिएको आलु खेतीमा पानी जम्दा बिउ कुहिने चिन्तामा किसान छन् । मौसमविद्हरूले वर्षा शनिबारसम्म जारी रहने अनुमान गरेकाले किसानको चिन्ता झनै बढेको छ ।
लगातारको वर्षाका कारण मोरङ र सुनसरीका अधिकांश भूभाग जलमग्न भएका छन् । विराटनगर महानगरपालिका र इटहरी उपमहानगरपालिकाले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै शुक्रबार शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरे ।
खोलानालामा पानीको बहाव बढेको छ भने उत्तरी पहाडी क्षेत्रमा अत्यधिक हिमपातले जनजीवन थप कष्टकर बनेको छ । स्थानीय प्रशासन र सरकारले क्षति न्यूनीकरणका लागि सक्रिय रहेको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण