बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पाँचथरका अवरुद्ध मुख्य सडकमा यातायात सञ्चालन

आइतबार, १६ कात्तिक २०८२, १३ : ५६
आइतबार, १६ कात्तिक २०८२

सारांश

  • अविरल वर्षाले अवरुद्ध बनेका मेची राजमार्ग, पुष्पलाल राजमार्ग र तमोर करिडोर सडकहरू सञ्चालनमा आएका छन्।
  • इलामको राजदुवाली खण्डमा सामान्य मर्मतपछि साना सवारी साधन सञ्चालनमा आएका छन् भने नावा खोला खण्ड पनि खुलेको छ।
  • याङवरक गाउँपालिका खण्डमा पहिरो पन्छाई र डाइभर्सन पुनर्निर्माण गरी सडक सञ्चालन गरिएको छ।

पाँचथर । अविरल वर्षाका कारण अवरुद्ध रहेका मुख्य सडक आजदेखि सञ्चालन भएका छन् । बाढी र पहिराेका कारण अवरुद्ध रहेका मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग र तमोर करिडोर सडकमा यातायात सञ्चालनमा आएका हुन् । 

पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर र इलामलाई तराईसँग जोड्ने मेची राजमार्गको इलामस्थित राजदुवाली खण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ । सडकमा आज बिहान सामान्य मर्मतपछि साना सवारी साधनका लागि सञ्चालन गरिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

जोखिमलाई ध्यानमा राखेर उक्त सडक गएराति भने बन्द गरिएको थियो । पूर्वी पहाडबाट सुनसरीको धरान हुँदै तराईलाई जोड्ने तमोर करिडोर सडकको पाँचथर–धनकुटा सीमावर्ती नावा खोला खण्डसमेत आजदेखि सञ्चालनमा आएको छ । 

नावा खोलामा पानीको बहावका कारण सवारी पार गर्न सकेका थिएनन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले यहाँ सडक मर्मत गरी आज बिहानदेखि सञ्चालन गरिएको जानकारी दिए ।

यस्तै पुष्पलाल (मध्यपहाडी) राजमार्गको पाँचथरको याङवरक गाउँपालिका खण्डसमेत सञ्चालन भएको छ । याङ्वरक गाउँपालिका–३ स्थित रिजालभिरमा झरेको पहिरो पन्छाइनुका साथै याङ्वरक–२ स्थित दोभानेमा बाढीले बगाएको डाइभर्सन पुनर्निर्माण गरी सडक सञ्चालन गरिएको पाँचथर प्रहरीले जनाएको छ । 

बाढीले बगाएको डाइभर्सन बगाएपछि अवरुद्ध फिदिम–फालोट सडक भने सञ्चालनमा आउन सकेको छैन । बाढीले उक्त सडक अन्तर्गत फिदिम नगरपालिका वडा नं १ र ११ को सीमास्थित फेमे खोलामा रहेको डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको थियो । 

गत वर्षको असोज १२ गते आएको बाढीले यहाँ रहेको सडक पुल बगाएपछि अस्थायी डाइभर्सनबाट सवारी साधन आवतजावत गर्दै आएका छन् । तर बाढी आउनासाथ डाइभर्सनमा क्षति हुनाले यस सडकले जोड्ने फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकाका १० वटा वडाका बासिन्दाले सास्ती भोग्दै आएका छन् । 

यस्तै,राँके–रवि–भेडेटार सडकको पाँचथर खण्ड सञ्चालन रहेको पाँचथर प्रहरीले जनाएको छ । उक्त सडकको धनकुटाको चौबिसे गाउँपालिकास्थित भेडेटार नजिकै पहिरो जाँदा धनकुटा खण्ड भने प्रभावित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप