चाडबाडपछि सेलायो वाणिज्य विभाग
काठमाडौँ । दसैँ–तिहारजस्ता चाडपर्वमा बजार अनुगमनमा व्यापक सक्रियता देखाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग चाडपर्व सकिएसँगै सुस्त देखिएको छ । चाडपर्वअघि वाणिज्य विभागको ६ देखि १० वटा अनुगमन टोली बजार अनुगमनका लागि फिल्डमा खटिन्थ्यो । अहिले एउटा मात्र टोली परिचालन छ ।
दैनिक बजार अनुगमनको विवरण वेबसाइटमा समेत नियमित राख्न छाडिएको छ । यसर्थ चाडपर्वको समयमा बजार अनुगमन गरेर नथाक्ने वाणिज्य विभाग अहिले सेलाएको देखिन्छ । विभागका अनुसार अहिले बजार अनुगमनका लागि दैनिक एउटा टोली परिचालन छ । तिहारपछि कर्मचारीहरूको सरुवा र बिदाका कारण जनशक्तिको अभाव भएकाले अनुगमन प्रभावित भएको विभागले जनाएको छ ।
‘अहिले विभागमा कर्मचारी सरुवाको प्रक्रिया चलिरहेको छ, कोही बिदा लिएर जाने र कोही सरुवा भएर आउने क्रममा हुनुहुन्छ,’ विभागका निर्देशक भरतप्रसाद आचार्यले भने, ‘यसले गर्दा जनशक्ति केही कम भएको छ । अनुगमनका लागि खटिने टोलीको संख्या घटेको हो ।’
विभागको वेबसाइटमा कार्तिक २ गतेयता बजार अनुगमनसम्बन्धी कुनै पनि नयाँ सूचना अद्यावधिक गरिएको थिएन, जसले अनुगमन पूर्णरूपमा रोकिएको हो कि भन्ने भ्रम सिर्जना गरेको थियो । यसबारे आचार्यले अनुगमन पूर्णरूपमा नरोकिएको, तर थोरै संख्यामा मात्र टोली परिचालन भएको स्पष्ट पारे ।
‘अनुगमन भइरहेको छ, तर पहिलेको जस्तो दिनमा ५–६ वटा टोली नभई १/२ वटा टोली मात्र खटिएका छन्,’ उनले भने, ‘४/५ वटा फर्मको दैनिक अनुगमन भइरहेको छ ।’
उनले वेबसाइटमा सूचना अद्यावधिक नभएको विषयमा आफूले हेर्ने र छिट्टै जानकारी राख्न लगाउने बताए ।
विभागका अनुसार सोमबारदेखि केही कर्मचारीले नयाँ जिम्मेवारी सम्हाल्नेछन् । त्यसपछि बजार अनुगमनलाई पुनः तीव्र गतिमा अघि बढाइने निर्देशक आचार्यले बताए । ‘चाडपर्व र कर्मचारी व्यवस्थापनका कारण केही सुस्तता आए पनि हाम्रो लक्ष्यअनुसारको काम निरन्तर भइरहन्छ,’ उनले भने ।
चाडपर्वलक्षित अनुगमनमा साढे २२ लाख जरिवाना
वाणिज्य विभागले भदौ ३१ गतेबाट बजार अनुगमन थालेको थियो । त्यस दिन एउटा फर्मको अनुगमन गरेर सुधार्न सामान्य निर्देशन दिएको थियो । त्यसपछि विभागले चाडपर्वलक्षित बजार अनुगमनलाई तीव्रता दिएको देखिन्छ । असोज २ देखि कात्तिक २ गतेसम्म १८ दिन बजार अनुगमन गरेको छ । त्यस क्रममा ३४२ वटा फर्मको अनुगमन गर्दा ७७ वटा फर्म/उद्योग तथा व्यवसायलाई २२ लाख ४७ हजार ६०० रुपैयाँ जरिवाना तिराएको छ ।

तिहारअघि पछिल्लोपटक कात्तिक २ गते मात्रै १३ वटा फर्मको अनुगमन गरेकोमा ८ वटालाई कारबाही गरेको छ । ५ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
रातोपाटीले तिहारपछिको बजार अनुगमनको विवरण खोजी गरेपछि विभागले आफ्नो वेबसाइटमा कात्तिक १२ गतेपछिको बजार अनुगमनको विवरण वेबसाइटमा राखेको छ । तिहारपछि कात्तिक १२ गते ६ वटा फर्मको अनुगमन गरेकोमा एउटालाई ५ हजार रुपैयाँ जरिवाना गरेको र ५ वटालाई सामान्य निर्देशन दिइएको छ । यस्तै कात्तिक १३ गते पनि ६ वटा फर्मको अनुगमन गरेकोमा एउटालाई ५ हजार रुपैयाँ जरिवाना गरेको र अन्य ५ वटालाई सामान्य निर्देशन दिइएको जनाएको छ ।
कात्तिक १४ गते ४ वटा फर्मको अनुगमन गरेको छ । ती फर्मलाई सामान्य निर्देशन दिइएको छ । यसैगरी आइतबार (कात्तिक १६ गते) ६ वटा फर्मको अनुगमन भएको छ । यसमध्ये तीनवटा फर्मलाई २० हजार रुपैयाँ जरिवाना तिराएको छ । यसैगरी तीनवटा फर्मलाई सामान्य निर्देशन दिइएको छ ।
साउन–भदौमा १ अर्ब बढी जरिवाना
वाणिज्य विभागले २०८२ साउन १ देखि भदौ २३ गतेसम्म ७०१ वटा व्यवसाय/फर्म/उद्योगको अनुगमन गरेको थियो । यसमध्ये १४० वटा उद्योगलाई १ अर्ब ३ लाख ११ हजार रुपैयाँ जरिवाना गरेको थियो । जसमा उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार वस्तुमा एमआरपी सहितको लेबल नराख्ने, बिलबिजक जारी नगर्ने, रिलेबलिङ जस्ता गैरकानुनी गतिविधि गर्ने फर्महरूलाई उक्त जरिवाना गरिएको हो ।
यस्तै २३९ फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको र ३१९ फर्मलाई सामान्य निर्देशन दिइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण