बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
प्रधानमन्त्रीसँग मुख्यमन्त्री

प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरूको ब्रिफिङ : ‘निर्वाचनको वातावरण बनिसकेको छैन, सहयोगका लागि तयार छौँ’

आइतबार, १६ कात्तिक २०८२, २० : ०७
आइतबार, १६ कात्तिक २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा निर्वाचनबारे सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरिन्।
  • छलफलमा निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रणमा संघ र प्रदेश सरकारबीच समन्वयबारे छलफल भयो।
  • मुख्यमन्त्रीहरूले निर्वाचनका लागि प्रदेशको अवस्थाबारे जानकारी गराए, र निर्वाचन सफल पार्न भूमिका खेल्ने सहमति भयो।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी र समन्वयका विषयमा सात वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेकी छन् । 

अगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा प्रधानमन्त्री कार्कीले सात वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेकी हुन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल अत्यन्तै प्रभावकारी र सकारात्मक रहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए । 

उनकाअनुसार सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेशस्तरमा रहेको शान्ति सुव्यवस्था लगायत विषयमा प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गरेका थिए । 

आगामी निर्वाचन, सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका विषयमा सङ्घीय तथा प्रदेश सरकारबिच कसरी प्रभावकारी समन्वय गर्न सकिन्छ ? भन्ने विषयमा गम्भीर छलफल भएको सञ्चारमन्त्री खरेलको भनाइ छ । 

उनले भने,‘सात वटा प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक उपलब्धिमूलक र सकारात्मक रहेको छ । अगामी निर्वाचन र सुशासन तथा भ्रष्टाचार नियन्त्रणको सवालमा प्रदेश सरकार र सङ्घीय सर कारबिच कसरी समन्वय गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल भएको छ । मुख्यमन्त्रीज्यूहरुले चुनावको लागि प्रदेशस्तरमा कस्तो वातावरण छ भन्ने कुरा ब्रिफिङ भयो । सबै तहका सरकार मिलेर निर्वाचन सम्पन्न गर्न आआफ्नो भूमिका प्रभावकारी बनाउने सहमति पनि भएको छ । केही नीति, नियम र बजेट कार्यान्वयनका सम्बन्धमा अझै पनि छलफल जारी छ । छलफलमा मुख्यमन्त्रीज्युहरुले कानुनी र वित्तीय अल्झनहरुका बारेमा गुनासो राखेका छन् । यी अल्झन चिर्न उहाँहरूको सुझाव थियो । यसबारे प्रधानमन्त्रीले सकारात्मक रहनुभएको छ ।’

उनले सबै तहका सरकार मिलेर आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आ–आफ्नो भूमिका प्रभावकारी बनाउने सहमति बैठकमा भएको पनि बताए । 

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले अन्तरिम सरकारले सङ्घीयताको मर्म र भावनाअनुसार समन्वय नगरेकोप्रति आपत्ति जनाए । 

उनले अगामी २१ फागुनमा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण निर्माण भइनसकेको बारेमा प्रधानमन्त्री कार्कीसँग सरोकार राखेको पनि बताए । 

उनले निर्वाचनको वातावरण बनाउन सरकारले सुरक्षाको अनुभूति र सुरक्षा निकायको मनोबल बढाउनुको विकल्प नरहेको भन्ने सुझाव दिएको पनि बताए । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रधानमन्त्री कार्कीसँग अगामी निर्वाचन र प्रदेश सरकार र सङ्घीय सर कारबिच समन्वय गरेर अगाडि जाने विषयमा छलफल भएको बताए । 

उनले प्रधानमन्त्री कार्की सङ्घीयता र अगामी निर्वाचनको बारेमा अत्यन्त सकारात्मक देखिएको पनि बताए । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले मुलुकमा शान्ति सुव्यवस्था कायम भइनसकेको अवस्थामा निर्वाचन हुन नसक्ने उल्लेख गर्दै निर्वाचनको वातावरण गर्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरेको बताए । 

प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्न सहयोग गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गरेको र सो कुरामा सहमति भएको बताए । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा सबै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेकी हुन् । 

यसअघि सरकारले सबै राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग समेत छलफल गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप