प्रधानमन्त्री कार्कीको निर्देशन : नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्नु
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रालयहरूलाई नागरिकले अनुभूति गर्ने गरी काम गर्न 'ब्लुप्रिन्ट' बनाउन निर्देशन दिइन्।
- उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा सुधार गर्न र सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिइन्।
- कार्कीले कर्मचारी सरुवा प्रणाली व्यवस्थित गर्न, क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न र निर्वाचनको वातावरण बनाउन निर्देशन दिइन्।
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्ने गरी सुधारका कार्यक्रम कार्यान्वयन गर्न सबै मन्त्रालयलाई निर्देशन दिएकी छन्।
सोमबार सिंहदरबारमा मन्त्रालयहरूको कार्यप्रगति समीक्षा गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई आजको प्रमुख आवश्यकता बताउँदै त्यसका लागि ठोस योजना (ब्लुप्रिन्ट) बनाएर तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरिन्।
उनले भनिन्, ‘गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना बमोजिम अब सबै नागरिकले परिवर्तनको अनुभूति गर्नुपर्छ। त्यसका लागि हरेक मन्त्रालयले ठोस ब्लुप्रिन्ट तयार गरी लागू गर्नु आवश्यक छ।’
प्रधानमन्त्री कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न, कोषको नतिजामूलक प्रयोग सुनिश्चित गर्न र अर्थ मन्त्रालयले जारी गरेको परिपत्रलाई कडाइका साथ पालना गर्न निर्देशन दिइन्। साथै, निजी क्षेत्रको मनोबल वृद्धि गर्न औद्योगिक वातावरण सुधारका लागि संवाद, सहजीकरण र सहकार्य बढाउन सुझाव दिइन्।
उनले निजामती कर्मचारी र सुरक्षाकर्मीहरूको मनोबल वृद्धि गर्न तथा सरुवा–बढुवा प्रणालीलाई व्यवस्थित, पारदर्शी र न्यायोचित बनाउन जोड दिइन्। आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि तत्काल नीति र कार्ययोजना बनाउन, आवश्यक मेशिनरी र उपकरणको खरिद वा वैकल्पिक सेवा प्रवाहको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ।
निर्वाचन तयारीबारे कुरा गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘निर्वाचनको वातावरण बनाउन मैले निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल र सरोकारवालासँग निरन्तर संवाद गरिरहेकी छु। हरेक मन्त्रालयले आफ्नो जिम्मेवारी चुस्तरूपमा पूरा गर्नुपर्छ।’
उनले मन्त्रालयहरूलाई वार्षिक कार्ययोजना कार्यान्वयनको समीक्षा गर्न, परम्परागत कार्यशैलीबाट माथि उठेर नयाँ मानकहरू स्थापित गर्न र विकास समस्या समाधान समितिहरू सक्रिय रूपमा सञ्चालन गर्न आग्रह गरिन्।
प्रधानमन्त्री कार्कीले तीनै तहका सरकारबिचको समन्वयलाई अझ प्रभावकारी बनाउने, जनशक्ति व्यवस्थापनलाई सुदृढ गर्ने र आपराधिक क्रियाकलापहरू नियन्त्रण गर्न कानुनको शासन कार्यान्वयनमा कुनै सम्झौता नगर्न निर्देशन दिइन्।
‘तपाईंहरू स्थायी सरकार हो,’ उनले भनिन्, ‘आफ्नो ज्ञान, सीप र अनुभवको प्रयोग गरी कर्तव्य र उत्तरदायित्वमा खरो उत्रनुहोस्। नयाँ पुस्ताले सुम्पेको सुशासन, समृद्धि र समानताको ग्यारेन्टी गर्ने जिम्मा तपाईंहरूकै हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण