आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
कर्णाली प्रदेश

पहिलो त्रैमासिकमा कर्णालीको यातायात क्षेत्रबाट ७ करोड बढी राजस्व संकलन

सवारी साधन कर प्रमुख स्रोत
मङ्गलबार, १८ कात्तिक २०८२, १२ : ५३
मङ्गलबार, १८ कात्तिक २०८२

सुर्खेत । चालु आर्थिक वर्ष २०८२/०८३ को असोज महिनासम्ममा कर्णाली प्रदेश सरकार अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरूले ७ करोड ८ लाख ७४ हजार ३७१ रुपैयाँ राजस्व संकलन गरेका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गत तीनवटा यातायात व्यवस्था कार्यालय रहेका छन् । 

तीनमध्ये सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयले राजस्व संकलनमा अग्रस्थान ओगटेको छ । सुर्खेत कार्यालयले कुल ६ करोड ७ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ, जुन समग्र संकलनको करिब ८५.७३ प्रतिशत हो । यसले सुर्खेत प्रदेशको सबैभन्दा ठुलो राजस्व संकलन केन्द्रको रूपमा स्थापित भएको देखाउँछ ।

यसैगरी, रुकुम पश्चिमको चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले असोजसम्ममा ६२ लाख ३० हजार १०६ रुपैयाँ राजस्व संकलन गरेको छ, जुन कुल संकलनको करिब ८.७९ प्रतिशत हो । जुम्लास्थित यातायात व्यवस्था सेवा कार्यालयले भने ३८ लाख ७८ हजार २५८ रुपैयाँ संकलन गरी कुल राजस्वमा करिब ५.४७ प्रतिशत योगदान पुर्‍याएको छ ।

मन्त्रालयका अनुसार राजस्वका विभिन्न शीर्षकहरूमध्ये सवारी साधन कर सबैभन्दा ठुलो योगदानकर्ता बनेको छ । हालसम्म तीनवटै कार्यालयले ५ करोड ९४ लाख २९ हजार ४११ रुपैयाँ यसै शीर्षकबाट संकलन भएको छ, जुन कुल राजस्वको ८३.८४ प्रतिशत हो । सवारी साधन कर प्रदेशको यातायात राजस्वको प्रमुख आधारको रूपमा रहेको मन्त्रालयले जनाएको छ ।

राजस्वको दोस्रो ठुलो स्रोत चालक अनुमति पत्र तथा सवारी दर्ता कितावसम्बन्धी दस्तुर रहेको छ, जसबाट ८९ लाख २६ हजार ७१० रुपैयाँ (१२.५९ प्रतिशत) संकलन भएको छ । यातायात क्षेत्रको आम्दानी शीर्षकमा २३ लाख ४ हजार ७५० रुपैयाँ (३.२५ प्रतिशत) संकलन भएको छ । 

प्रशासनिक दण्ड जरिवाना र जफतबाट भने सबैभन्दा कम २ लाख १० हजार ५०० रुपैयाँ (०.२९ प्रतिशत) मात्र संकलन भएको छ ।

कुन शीर्षकमा कुन कार्यालयले कति आम्दानी ?

शीर्षकगत राजस्वका स्रोतमध्ये सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयले सबैभन्दा धेरै सवारी साधनबाट ५ करोड १७ लाख ५९ हजार ५४७ रुपैयाँ संकलन गरेको छ । 
यस्तै, चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट ७० लाख २१ हजार ७१० रुपैयाँ, यातायात क्षेत्रको आम्दानी शीर्षकबाट १९ लाख ८० हजार ७५० रुपैयाँ आम्दानी गरेको छ ।

यस्तै, प्रशासनिक दण्ड जरिवाना र जफतबाट ४ हजार रुपैयाँ संकलन गरेको छ । यस्तै, जुम्लास्थित यातायात व्यवस्था सेवा कार्यालयले सवारी साधन कर शीर्षकमा असोज मसान्तसम्म २० लाख २८ हजार २५८ रुपैयाँ, चालक अनुमति पत्र, सवारी दर्ता किताव सम्बन्धि दस्तुरबाट १३ लाख १८ हजार, प्रशासनिक दण्ड जरिवाना र जफतबाट २ लाख ८ हजार रुपैयाँ र यातायात क्षेत्रको आम्दानी शीर्षकबाट ३ लाख २४ हजार राजस्व संकलन भएको छ । 

सुर्खेत प्रदेश राजधानी भएकाले पनि आर्थिक आम्दानी हरेक वर्ष वृद्धि हुँदै गएको छ । यस्तै, रुकुम पश्चिमको चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले सवारी साधन करबाट ५६ लाख ४१ हजार ६०६ रुपैयाँ, चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट ५ लाख ८७ हजार र प्रशासनिक दण्ड जरिवाना र जफतबाट १ हजार ५०० रुपैयाँ संकलन भएको मन्त्रालयले जनाएको छ ।

यातायात क्षेत्रको आम्दानी शीर्षकमा यो कार्यालयले कुनै आम्दानी गर्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप