शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘परान’ले कोट्याएको मेरो घाउ

बुधबार, १९ कात्तिक २०८२, १५ : १२
बुधबार, १९ कात्तिक २०८२

सारांश

  • चलचित्र 'परान' ले विदेशिने युवा र बिछोडको पीडालाई उजागर गर्छ, जसले दर्शकलाई भावुक बनाउँछ।
  • लेखकले विदेशमा जीवन बिताएका बाबुको सम्झना र वर्तमान नेपाली समाजमा युवा पलायनको कथा प्रस्तुत गर्छन्।
  • लेखमा विदेशिने युवाहरूको बाध्यता, राज्यको उदासीनता र यसले निम्त्याएको सामाजिक संकटको चर्चा छ।

बिछोडको पीडा कस्तो हुन्छ ? यो प्रश्नको उत्तर शब्दकोशमा भेटिँदैन, न त कुनै शास्त्रले यसको पूर्ण व्याख्या गर्न सक्छ । यो त त्यो मुटुमा अनुभव हुन्छ, जसले आफन्त गुमाएको छ । यो त्यस्तो नदेखिने घाउ हो, जो कहिल्यै पुरिँदैन । बस्, समयको पातलो पत्रले छोपिन्छ मात्र । कहिलेकाहीँ एउटा चलचित्रको दृश्य, एउटा गीतको धुन वा कुनै अपरिचित अनुहारले त्यो पत्र उधिनिदिन्छ र वर्षौंदेखि थामिएको आँसुको भेल बाँध फुटेको नदीझैँ उर्लेर आउँछ ।

हालै प्रदर्शनमा आएको चलचित्र ‘परान’ हेरिरहँदा मेरो जीवनमा पनि त्यस्तै भयो । चलचित्रघरको अँध्यारोमा, पर्दामा परदेशिएको छोरालाई ‘कान्छा, कान्छा’ भन्दै पुकारेर प्राण त्यागिरहेको बाबुको दृश्यले मलाई मेरो आफ्नै नियतिसँग साक्षात्कार गरायो । म भक्कानिएँ, त्यो आँसु चलचित्रको पात्रका लागि मात्र थिएन, त्यो आँसु थियो परदेशमै परिवारको सपना पूरा गर्दागर्दै आफ्नो जीवनको अध्याय समाप्त गर्ने मेरा बाबाको सम्झनामा, त्यो बिछोडले मेरो बाल्यकालमा पारेको कहिल्यै नमेटिने छापको नाममा ।

यो मेरोमात्र कथा होइन, आजका हरेक नेपाली घरको कथा हो, जहाँ कि त कोही परदेशिएको छ, कोही परदेशिने तयारीमा छ, कि त कोही परदेशबाट बाकसमा फर्किएको छ । ‘परान’ चलचित्रले वर्तमान नेपाली समाजको त्यो कटु यथार्थलाई पर्दामा उतारेको छ, जहाँ युवाहरूका लागि भविष्यको अर्काे नाम ‘विदेश’ बनेको छ– विशेष गरी अमेरिका, अस्ट्रेलिया वा बेलायतजस्ता सपनाका देशहरू ।

मैले हाम्रो समाजमा परदेशीकरणका दुई भिन्न तर समानान्तर धार देखेकी छु, जसको उद्देश्य र पीडाको प्रकृति फरक छ, तर गन्तव्य एउटै हो– बिछोड ।

चलचित्रका पात्रहरूले आफ्ना आमाबाबुले जस्तै गाउँको पाखा–पखेरामा सङ्घर्ष गरेर जीवन बिताउन चाहेनन् । उनीहरूलाई थाहा छ, नेपालको अनिश्चित भविष्य, सीमित अवसर, राजनीतिक अस्थिरता र भ्रष्टाचारको दलदलबिच उनीहरूका सपनाहरू गाउँको माटोमा होइन, डलर फल्ने भूमिमा मात्र पूरा हुन सक्छन् । आफ्ना सन्तानलाई ‘नासा’सम्म पुर्‍याउने अभिलाषा नेपालमा बसेर सम्भव नदेखेपछि उनीहरू डिभीको चिट्ठा भर्छन् र आफ्नो ‘परान’ अर्थात् आमाबाबुलाई छोडेर सपनाको उडान भर्छन् । चलचित्रको त्यो बाबुको छटपटीले कैयौँ प्रश्न एकैसाथ खडा गर्छ: के अब युवाको भविष्य साँच्चै विदेशमात्र हो ? के गाउँमा गरिने कृषि, पशुपालन, मौरीपालनमा कुनै भविष्य छैन ? के आमाबाबुले आफ्नो बुढेसकालको सहारालाई आफ्नै खुसीले सात समुद्रपारी पठाएर एक्लोपन स्विकार्न अभिशप्त छन् ? विदेशमा कमाएको करोडौँ डलरले के आमाबाबुको अन्तिम क्षणको छटपटीलाई शान्त पार्न सक्छ ?

यी प्रश्नको उत्तर खोज्दै जाँदा मैले हाम्रो समाजमा परदेशीकरणका दुई भिन्न तर समानान्तर धार देखेकी छु, जसको उद्देश्य र पीडाको प्रकृति फरक छ, तर गन्तव्य एउटै हो– बिछोड ।

यो त्यो वर्ग हो, जसको कथा ‘परान’ चलचित्रले प्रमुख रूपमा देखाएको छ । उनीहरूका लागि विदेश बाध्यताभन्दा बढी रहर हो, सपना हो र सामाजिक प्रतिष्ठाको मानक हो । गाउँमा घर छ, खेतबारी छ, सानोतिनो जागिर वा व्यवसाय पनि छ, जसले जीवन धान्न गाह्रो छैन । तर, उनीहरूलाई यतिले पुग्दैन । सामाजिक सञ्जालमा देखिने विकसित देशको चम्किलो जीवनशैली, महँगा गाडी, ब्राण्डेड कपडा र विश्वस्तरीय सुविधाहरूले उनीहरूलाई लोभ्याउँछ । उनीहरूका लागि विदेश जानु भनेको पैसा कमाउनुमात्र होइन, एउटा गुणस्तरीय, व्यवस्थित र अनुमानयोग्य जीवन प्रणालीमा प्रवेश गर्नु हो, जहाँ नेपालमा जस्तो हरेक पाइलामा अनिश्चितता र सङ्घर्ष हुँदैन । यहाँको धुलो, धुवाँ, ट्राफिक जाम र राजनीतिक किचलोबाट टाढा एक सुरक्षित र सुनिश्चित भविष्यको खोजीमा उनीहरू आफ्नो जरा उखेल्न तयार हुन्छन् ।

यो प्रगतिको पछाडि लुकेको एक्लोपन र भावनात्मक रिक्तताको हिसाब कसले राख्छ ? डलर त आउँछ, तर के त्यसले आमाबाबुको चाउरिएको अनुहारमा खुसी ल्याउन सक्छ ?

यस्ता युवा जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्छन्, उनीहरूको बिदाइ उत्सवजस्तो हुन्छ । छातीमा नेपालको झण्डा, गलामा खादा र माला लगाएर उनीहरूलाई आफन्तले शुभकामना र बधाई दिन्छन् । यो दृश्य एकैसाथ गर्व र पीडाको मिश्रण हो– आफ्नो सन्तानले प्रगति गर्न लागेकोमा गर्व, तर राष्ट्रको सबैभन्दा ऊर्जाशील जनशक्ति पलायन भएकोमा राष्ट्रिय पीडा । सामाजिक सञ्जालमा सयौँ ‘बधाई’ र ‘शुभकामना’का सन्देशहरू आउँछन् । उनीहरूले विदेशबाट पठाएको रेमिट्यान्सले घर बन्छ, गाडी किनिन्छ र समाजले त्यसलाई ‘प्रगति’ भनेर प्रशंसा गर्छ ।

तर, यो प्रगतिको पछाडि लुकेको एक्लोपन र भावनात्मक रिक्तताको हिसाब कसले राख्छ ? डलर त आउँछ, तर के त्यसले आमाबाबुको चाउरिएको अनुहारमा खुसी ल्याउन सक्छ ? भिडियो कलमा देखिने हँसिलो अनुहार पछाडि लुकेको घरको याद र एक्लोपन कसले बुझ्छ ? घरको भित्तामा टाँगिएको छोराछोरीको तस्बिर हेरेर रात बिताउने आमाहरूको अनिदो रात र सुन्निएको आँगनमा टोलाएर दिन बिताउने बाबुहरूको मौन छटपटीलाई कुन रेमिट्यान्सले मल्हम लगाउन सक्छ ? चलचित्रमा बाबु पात्रले भन्छन्– ‘छानीछानी सन्तान जन्माउन मिल्ने भए म मसँगै गाउँमा बस्ने, गाउँमा सुन फलाउने सन्तान जन्माउँथेँ ।’

यो संवाद ती सबै आमाबाबुको आर्तनाद हो, जो छोराछोरीको भौतिक सफलतामा खुसी त छन्, तर आफ्नो बुढेसकालमा उनीहरूको साथ नपाउँदा भित्रभित्रै टुटिरहेका छन् । समय बित्दै जाँदा भौतिक दूरीमात्र होइन, भावनात्मक र सांस्कृतिक दूरी पनि बढ्दै जान्छ । चाडपर्वहरू भिडियो कलमा सीमित हुन्छन् र सम्बन्धहरू पैसा पठाउने र पाउनेमा खुम्चिँदै जान्छन् ।

मेरो बाबाले २० वर्षभन्दा बढी समय भारतमा एक्लै बिताउनुभयो । चाडपर्वमा घर आउन नपाउँदाको पीडा, बिरामी पर्दा स्याहार गर्ने कोही नहुँदाको छटपटी र परिवारसँग टाढा रहनुको जलनलाई भुलाउन उहाँले मदिराको सहारा लिनुभयो, जुन धेरै परदेशीहरूको साझा नियति हो ।

यो त्यो धार हो, जसको कथा मूलधारका चलचित्रहरूले विरलै देखाउँछन् । यो मेरो बाबाजस्ता लाखौँ गुमनाम नेपालीहरूको कथा हो, जो रहरले होइन, पेटको आगो निभाउन र परिवारको अस्तित्व जोगाउन परदेशिए । उनीहरूलाई अमेरिका वा अष्ट्रेलियाको सपना देख्ने फुर्सद र पहुँच दुवै थिएन । उनीहरूको एउटै सपना थियो–परिवारलाई एक छाक मिठो खुवाउनु, छोराछोरीलाई कापी–कलम किनिदिनु र एक सरो न्यानो कपडा लगाइदिनु । मेरो बाबाले गाउँको खेतमा जति नै पसिना बगाए पनि परिवारको गुजारा चलाउन धौ–धौ भएपछि किशोर अवस्थामै भारत पस्नुभएको थियो ।

यो धारका परदेशीहरू विमान चढेर उड्दैनन् । उनीहरू बसको छतमा वा रेलको जेनरल डिब्बामा कोचिएर, कैयौँ दिनको कष्टपूर्ण यात्रापछि गन्तव्यमा पुग्छन् । उनीहरूको बिदाइमा उत्सव हुँदैन, आँसु, आशंका र अनिश्चित भविष्यको मौन चिन्ता हुन्छ । उनीहरूलाई कसैले ‘बहादुर’ को उपमा दिएर सम्मान गर्ला, तर उनीहरू भारतका सहरहरूमा चौकीदारी गर्छन्, गल्लीहरूमा भारी बोक्छन्, गुजरातको गर्मीमा निर्माण मजदुर बन्छन् वा उत्तराखण्डको केदारनाथ जाने भीरमा तीर्थयात्री बोकेर आफ्नो जीवन जोखिममा पार्छन् । कति आमाहरू परिवार पाल्नकै लागि सीमापारी गएर घाँस काट्दाकाट्दै भीरमा प्राण त्याग्न पुग्छन् । यी कथा न समाचार बन्छन्, न त चलचित्रको पर्दामा नै देखाइन्छन् । उनीहरूको श्रममात्र होइन, सायद जीवन पनि सस्तो छ ।

मेरो बाबाले २० वर्षभन्दा बढी समय भारतमा एक्लै बिताउनुभयो । चाडपर्वमा घर आउन नपाउँदाको पीडा, बिरामी पर्दा स्याहार गर्ने कोही नहुँदाको छटपटी र परिवारसँग टाढा रहनुको जलनलाई भुलाउन उहाँले मदिराको सहारा लिनुभयो, जुन धेरै परदेशीहरूको साझा नियति हो । अन्ततः त्यही परदेशको भूमिमा उहाँले अन्तिम सास फेर्नुभयो । उहाँको अस्तु घरसम्म ल्याउँदाको त्यो कहालीलाग्दो क्षण र प्रक्रिया सम्झिँदा आज पनि मेरो मुटु काप्छ । यो मेरोमात्र होइन, भारत वा खाडी मुलुकमा ४५ डिग्रीको तापक्रममा रगत–पसिना बगाउन बाध्य लाखौँ नेपालीको साझा नियति हो । कोही बाकसमा लास बनेर फर्कन्छन्, कोही जेलमा सड्छन्, त कोही वर्षाैंसम्म बेपत्ता हुन्छन् । राज्यको नजरमा उनीहरू केवल रेमिट्यान्स पठाउने एउटा आँकडामात्र हुन्, तर उनीहरूको पीडा र बलिदानको कुनै लेखाजोखा छैन ।

यसको मूल जड हो– राज्यको पूर्ण असफलता र उदासीनता । सरकारसँग युवाहरूलाई देशमै रोक्ने कुनै ठोस योजना, भिजन वा कार्यक्रम छैन ।

विडम्बना हेर्नुहोस्, हाम्रो समाजको दोहोरो चरित्र । जो व्यक्ति विदेशबाट पैसा पठाउँछ, उसलाई सफल र प्रगतिशील मानिन्छ, तर जो गाउँमै बसेर कुखुरा पाल्न खोज्छ, खेतमा आलु फलाउन खोज्छ, अटो चलाएर श्रम गर्छ वा सानो पसल चलाएर आत्मनिर्भर बन्न खोज्छ, उसलाई ‘यो देशमा बसेर केही हुँदैन’ भनेर निराश बनाइन्छ र हेयको दृष्टिले हेरिन्छ । स्वदेशमा पसिना बगाउनेको सम्मान छैन, तर विदेशमा जस्तोसुकै तल्लो स्तरको काम गरे पनि त्यसलाई प्रगति मानिन्छ । यो सामाजिक मनोविज्ञानले युवाहरूलाई देशमा बस्न र आफ्नै माटोमा केही गर्न निरन्तर निरुत्साहित गरिरहेको छ ।

यसको मूल जड हो– राज्यको पूर्ण असफलता र उदासीनता । सरकारसँग युवाहरूलाई देशमै रोक्ने कुनै ठोस योजना, भिजन वा कार्यक्रम छैन । शिक्षा प्रणालीले बेरोजगार उत्पादन गर्छ, स्वास्थ्य प्रणाली धराशायी छ र रोजगारी सिर्जना गर्ने उद्योगधन्दा खुल्नुको साटो बन्द भइरहेका छन् । हाम्रा नेताहरू सत्ताको फोहोरी खेल र भ्रष्टाचारमा यति लिप्त छन् कि उनीहरूलाई देशको भविष्य रित्तिँदै गएकोमा कुनै चिन्ता छैन । युवाहरूका लागि अवसर सिर्जना गर्नुको साटो उनीहरूलाई विदेश पठाउनका लागि ‘श्रम सम्झौता’ गर्नुलाई नै सरकार आफ्नो सफलता ठान्छ । रेमिट्यान्सले अर्थतन्त्रको लाज छोपिदिएको छ, तर यो रेमिट्यान्स रगत र आँसुले साटिएको छ भन्ने सत्यलाई राज्यले कहिल्यै स्वीकार्दैन । रेमिट्यान्सले उत्पादनशील अर्थतन्त्रको विकास गरेको छैन, बरु उपभोगवादी संस्कृतिलाई बढावा दिएको छ । हामी विदेशबाट आएको पैसाले विदेशमै बनेका सामान किन्छौँ, जसले देशलाई झन् परनिर्भर बनाइरहेको छ ।

यसको मानवीय मूल्य झनै डरलाग्दो छ । गाउँहरू युवाविहीन भएर ‘वृद्धाश्रम’ जस्ता बन्दैछन् । खेतबारी बाँझो छन् । घरमा ताल्चा लगाएर सहर पस्ने र सहरबाट विदेश उड्ने क्रमले हाम्रो सामाजिक संरचना र सांस्कृतिक धरोहर नै ध्वस्त हुँदैछ । बाबुआमाको रेखदेख र मायाविना हुर्किरहेका ‘रेमिट्यान्स पुस्ता’का बालबालिकाहरूमा मनोवैज्ञानिक असर परिरहेको छ । पारिवारिक विखण्डन, सम्बन्धविच्छेद र सामाजिक विचलनका घटना बढ्दै गएका छन् । यो बिछोडको पीडा अब केही परिवारको मात्र रहेन, यो एउटा भयानक राष्ट्रिय संकट बनिसकेको छ ।

अन्त्यमा, ‘परान’ हेरेर बगेका मेरा आँसुले मलाई फेरि एकपटक सोध्न बाध्य बनायो– आखिर हामीले खोजेको के हो ? विलासी जीवनका लागि परिवारबाट टाढिनु र एक छाकका लागि परिवार छोड्न बाध्य हुनु, दुवैको अन्तिम परिणाम त बिछोड नै हो । रहर र बाध्यताका यी दुई धार आखिर एउटै नदीमा मिसिन्छन्, जसको नाम हो– पीडा । मेरो बाबाको कथा र ‘परान’को बाबुको कथा फरक देखिए पनि दुवैको पीडाको गहिराइ एउटै छ– आफ्नो ‘परान’सँग बिछोडिनुको पीडा ।

जबसम्म स्वदेशमा श्रम गर्नेले सम्मान पाउँदैन, जबसम्म राज्यले युवाहरूका लागि भविष्यको ग्यारेन्टी गर्दैन र जबसम्म समाजले भौतिक सफलताभन्दा पारिवारिक साथ र मानवीय संवेदनालाई महत्त्व दिन सिक्दैन, तबसम्म यस्ता बिछोडका महाकाव्यहरू लेखिइरहनेछन् र मजस्ता हजारौँ छोराछोरीहरू चलचित्रको पर्दामा आफ्नै कथा देखेर, आफ्नै घाउ कोट्याएर, भक्कानिइरहनेछन्– सधैँ, सधैँ ।

हामी कहिलेसम्म रेमिट्यान्स गनेर खुसी हुने र बाकसमा आएका लास गनेर दुःखी हुने दुष्चक्रमा फसिरहने ? प्रश्न अनुत्तरित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप