बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

मलङ्गवामा अधुरो हुलाकी राजमार्गले जनजीवन अस्तव्यस्त, ठेकेदारविरुद्ध स्थानीय आन्दोलित

शुक्रबार, २१ कात्तिक २०८२, ०७ : १७
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • मलङ्गवा खण्डमा हुलाकी राजमार्गको निर्माण कार्य लामो समयदेखि अधुरो रहँदा स्थानीय बासिन्दा धुलो र दुर्गन्धबाट पीडित छन्।
  • ठेकेदारको लापरबाहीका कारण सडक कालोपत्रे नहुँदा स्थानीयले आन्दोलन गरे, जसका कारण ठेकेदारले काम अघि बढाउने प्रतिबद्धता जनाए।
  • सडक निर्माणको म्याद थपिए पनि कामले गति लिन सकेको छैन र स्थानीयले फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन्।

जनकपुरधाम । हुलाकी राजमार्गको मलङ्गवा खण्ड वर्षौँदेखि अधुरो रहँदा सदरमुकामका बासिन्दा धुलो, फोहोर र दुर्गन्धको मारमा परेका छन् । ठेकेदारको लापरबाहीका कारण टावरचोकदेखि झन्डाबजारसम्मको करिब सात सय मिटर सडक अझै कालोपत्रे हुन नसक्दा स्थानीयवासीको दैनिक जीवन कठिन बनेको छ ।

पूर्वपश्चिम हुलाकी राजमार्गका अधिकांश खण्डमा कालोपत्रे कार्य सम्पन्न भइसके पनि मलङ्गवाको मुख्य बजार क्षेत्र भने धुलाम्मे र अस्वच्छ रहँदै आएको छ । व्यवसायीहरूका अनुसार धुलोका कारण सामान बिग्रने र ग्राहक घट्ने समस्या बढेको छ भने बालबालिका र वृद्धहरूमा श्वासप्रश्वासका समस्या तीव्र भएका छन् ।

मलङ्गवा–३ का स्थानीय रमेश मण्डलले भने  धुलोका कारण बिहान–साँझ सडकमा हिँड्नै सकिँदैन । पटक–पटक आन्दोलन गर्दा पनि ठेकेदारले सुनेको छैन ।

यही असह्य अवस्थापछि स्थानीयवासीहरूले मलङ्गवा नगर संरक्षण तथा सुधार समिति गठन गरी सडक कालोपत्रे गर्न दबाब दिएका थिए । समितिको नेतृत्वमा बुधबार राजमार्गमा अनिश्चितकालीन चक्काजाम गरिएको थियो । आन्दोलन सुरु भएपछि ठेकेदार कम्पनीले केही निर्माण सामग्री स्थलमा ल्याएपछि तत्कालका लागि आन्दोलन स्थगन गरिएको समितिले जनाएको छ ।

सडक निर्माणको ठेक्का हिमडुङ एण्ड ठोकर र हिरा एण्ड नमिता जेभी ले सन् २०१६ (२०७३ असार मसान्त) भित्र काम सम्पन्न गर्ने गरी पाएको थियो । तर २०७६ सालमै कालोपत्रे हुनुपर्ने सडक अझै बेस तहमै सीमित छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका इन्जिनियर रञ्जित रायका अनुसार ठेकेदारलाई सात पटक म्याद थप गरिसकिएको छ । अब आठौँ पटक म्याद थप्ने तयारी थियो, तर जेनजी आन्दोलनका कारण प्रक्रिया केही ढिलो भएको हो  उनले भने ।

हालसम्म सडकको बेस तह मात्र तयार भएको र ठेकेदार अत्यन्त सुस्त गतिमा काम गरिरहेको उनले बताए । स्थानीयको दबाबपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीको मध्यस्थतामा ठेकेदार चन्द्रिका साह र स्थानीयबिच छलफल भएको छ, जसमा साहले बाँकी काम तत्काल अघि बढाउने लिखित प्रतिबद्धता जनाएका छन् ।

तर, स्थानीयवासीले ठेकेदारका पटक–पटकका आश्वासनमा अब विश्वास गर्न नसकिने बताउँदै काम नबढे फेरि सडक बन्द गरेर आन्दोलन तीव्र बनाउन  चेतावनी दिएका छन् ।

अधुरो सडकका कारण मलङ्गवा बजारको विकास मात्र होइन, जनस्वास्थ्यमा समेत प्रतिकूल असर परेको छ । स्वास्थ्यकर्मीहरूका अनुसार धुलो र प्रदूषणका कारण बालबालिकादेखि वृद्धहरूमा श्वासप्रश्वाससम्बन्धी रोग तीव्र रूपमा बढ्दै गएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप