५ वर्षको अन्तरालमा सिंघीया खोलामै गयो दाजुभाइको ज्यान
विराटनगर । विराटनगरस्थित सिंघीया खोलामा गत सोमबार एक एम्बुलेन्स चालकको शव भेटियो । अघिल्लो शनिबार खोलामा पसेर बेपत्ता भएका २७ वर्षीय श्रवणकुमार मण्डलको शव सोमबार भेटिएको थियो ।
यो घटना मण्डल परिवारका लागि दोस्रो पीडा हो । ५ वर्षअघि श्रवणका माइला दाइ सुमन मण्डल पनि सिंघीया खोलामै बेपत्ता भएका थिए । उनको शव आजसम्म फेला परेको छैन ।
अघिल्लो शनिबार बिहान करिब साढे ९ बजेतिर श्रवण घरबाट निस्किएका थिए । उनका दाइ इन्द्रकुमार मण्डलका अनुसार उनी हस्पिटल चोकतिर जान्छु भनेर निस्किएका थिए । त्यसपछि उनी सम्पर्कमा आएनन् ।
परिवारले खोजी गर्दा श्रवण फेला पर्न सकेका थिएनन् । गत सोमबार बिहान स्थानीयले सिंघीया खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त शव श्रवणकै रहेको पुष्टि भयो ।
श्रवणको मृत्यु हुनु अघिको एउटा सीसीटीभी फुटेज बाहिर आएको छ, जसमा उनी एक अपरिचित साथीसँग हिँडिरहेको देखिन्छ । परिवारका अनुसार त्यो व्यक्तिलाई उनीहरूले चिन्दैनन् । फुटेजमा श्रवण सामान्य अवस्थामा देखिन्छन् र ती व्यक्तिसँग कुराकानी गर्दै अघि बढ्छन् ।

श्रवणका दाइ र बुबा यो घटनालाई सामान्य मान्दैनन् । श्रवणको डुबेर मृत्यु भएको उनीहरू मान्न तयार छैनन् । उनीहरूले हत्याको आशंका गर्दै प्रहरीलाई गम्भीर अनुसन्धान गर्न आग्रह गरेका छन् ।
‘मेरो भाइलाई पौडी खेल्न आउँथ्यो र जहाँ उसको शव भेटियो, त्यो ठाउँमा पानी पनि गहिरो छैन,’ श्रवणका ठुला दाइ इन्द्रकुमार मण्डलले भने, ‘ऊ आफैँले त्यस्तो गर्ने मान्छे होइन । सीसीटीभीमा देखिएको केटा घटनापछि गायब छ । हामीले खोज्दा पनि फेला पारेका छैनौँ । त्यो केटालाई पक्राउ गरेर सोधपुछ गरेमात्रै सत्यतथ्य बाहिर आउँछ ।’
परिवारका अनुसार श्रवणको कसैसँग कुनै दुश्मनी थिएन । उनी आफ्नै एम्बुलेन्स चलाएर स्वरोजगार बनेका थिए र सबैैसँग राम्रो सम्बन्ध थियो । उनले ४ वर्ष अगाडि ६ लाखभन्दा बढी लागतमा एउटा एम्बुलेन्स किनेका थिए । अहिले उक्त एम्बुलेन्स उनीहरू बसोबास गरेको भाडाको घर अगाडि राखिएको छ ।
श्रवणका ६२ वर्षीय बुबा गंगा प्रसाद मण्डलले भने, ‘पहिले एउटा छोरो यही खोलाले लग्यो, अहिले अर्को पनि । हाम्रो परिवारमाथि ठुलो दुःख आइलाग्यो । के भएको हो, बुझ्नै सकिएको छैन ।’
मण्डल परिवारका लागि यो दोस्रो ठुलो चोट हो । करिब ५ वर्षअघि श्रवणका साइला दाइ सुमन मण्डल मलामी गएका बेला सिंघीया खोलामै बेपत्ता भएका थिए । उनको खोजीमा भारतसम्म पुग्दा पनि शव फेला परेन । पछि परिवारले कुशको शव बनाएर उनको अन्तिम संस्कार गरेको थियो ।
_52nnc3SfF9.jpg)
एउटै खोलामा दुई दाजुभाइको मृत्यु र बेपत्ताको घटनाले परिवारलाई स्तब्ध बनाएको छ । ‘त्यसबेला २० दिनसम्म खोज्दा पनि भेटेनौँ । अहिलेसम्म उसको शव भेटेको पनि छैन । तर, हामीले काजकिरिया चाहिँ कुशको शव बनाएर गर्यौँ,’ दाजु इन्द्रकुमारले भने, ‘पाँच वर्ष बितिसक्यो, अहिले पनि प्रहरीले फोन गरेर सोध्छ– भाइको शव भेटियो कि भेटिएन भनेर ।’
प्रहरीले श्रवणको शवलाई पोस्टमार्टमका लागि पठाएको छ । रिपोर्ट आएपछि मृत्युको कारणबारे थप जानकारी मिल्ने प्रहरीले बताएको छ । परिवारले सीसीटीभी फुटेजमा देखिएका शंकास्पद व्यक्तिलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरेको छ ।

श्रवणको दुई वर्षअघि मात्रै विवाह भएको थियो । उनका एक वर्षकी छोरी छिन् । श्रवणको असामयिक निधनले परिवार शोकमा डुबेको छ । हाल उनको घरमा काजकिरिया चलिरहेको छ र भेला भएका आफन्त तथा छिमेकीहरू पटकपटकको शोक किन आइलाग्यो भनेर चर्चा गरिरहेका छन् ।
मृतकका हजुरबा सुकदेव मण्डल ८२ वर्षका भए । हजुरआमा पनि सोही उमेरकी छन् । लक्का जवान नातिहरू पालैपालो सिंघीया खोलामा परेको घटनापछि उनीहरू निदाउन सकेका छैनन् ।
‘आमा, बुबा, हजुरबा र हजुरआमा सबै रोइरहनु भएको छ,’ इन्द्रकुमार मण्डलले भने, ‘हामीमा के आइलाग्यो, ग्रह शान्ति गराउनु पर्छ कि भनेर छलफल गरिरहेका छौँ ।’
गंगाप्रसाद मण्डलका चार छोरा थिए, जसमध्ये दुई जनाको सिंघीया खोलामै ज्यान गएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण