बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्दैन: अध्यक्ष पाण्डे

शनिबार, २२ कात्तिक २०८२, १५ : ३०
शनिबार, २२ कात्तिक २०८२

सारांश

  • नेपाल उद्योग परिसंघका अध्यक्षले शान्ति सुरक्षा नभए लगानीको वातावरण बन्न नसक्ने बताए।
  • उनले लगानी नबढे रोजगारीमा असर पर्ने र सुशासन, सुरक्षा, पारदर्शिता र स्थिरता हुनुपर्नेमा जोड दिए।
  • अध्यक्ष पाण्डेले निजी सम्पत्तिमाथिको आक्रमणले उद्योगी व्यवसायी चिन्तित भएको बताउँदै लगानीको वातावरण बनाउन सरकारसँग माग गरे।

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म मुलुकमा लगानीको वातावरण बन्न कठिन हुने बताएका छन्।

शनिबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय वृहत् आर्थिक बहस २.० मा बोल्दै उनले लगानी बढ्न नसके त्यसको प्रत्यक्ष असर रोजगारीमा पर्ने बताए। उनले विश्व बजारमा लगानीकर्ताका लागि अवसर खुला रहेको भन्दै शान्ति सुरक्षाको विषयलाई संवेदनशील रूपमा लिनुपर्नेमा जोड दिए।

अध्यक्ष पाण्डेले मुलुकको समग्र आर्थिक विकासका लागि सुशासन र सुरक्षा निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शितासँगै स्थिरता हुनुपर्ने माग गरे। उनले 'जेनजी' ले उठाएका विषयहरूको कार्यान्वयनले तीव्रता पाउने अपेक्षा लिएको पनि बताए।

उनले आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड र लुटपाटको घटनाले उद्योगी व्यवसायीहरूलाई चिन्तित बनाएको बताए। लगानीकर्तामा लगानी र व्यक्तिगत शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्न गाह्रो हुने उनको भनाइ छ।

उनले समयमै लगानीकर्ताको मनोबल बढाउन उचित कदम चाल्न र आन्दोलनको बहानामा निजी सम्पत्तिमा आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप