जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु
सारांश
- दाङको गढवा गाउँपालिकामा १८ महिने बालिकाको जुकाको औषधि घाँटीमा अड्किएर मृत्यु भयो।
- स्वास्थ्यकर्मीले खुवाएको जुकाको औषधि घाँटीमा अड्किएपछि श्वासप्रश्वासमा समस्या आई बालिकाको घटनास्थलमै मृत्यु भएको हो।
- प्रहरीले शव परीक्षण गरी परिवारलाई बुझाएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
दाङ । दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको छ । गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए ।
उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला बालिकाको घाँटीमा अड्किएपछि सास रोकिएर केही मिनेटमा उनको घटनास्थलमा नै मृत्यु भएको अनुसन्धानका क्रममा खुलेको हो ।
प्रारम्भिक अनुसन्धान भइरहेकाले घटना सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ । महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि बालिकाको घाँटीमा अड्किए बालिकालाई श्वासप्रश्वासमा समस्या भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक बमले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शवपरीक्षण गरी परिवारलाई बुझाइएको जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै उनले ‘पोस्टमार्टम रिपोर्ट’ आएपछि थप कुरा प्रस्ट हुने उल्लेख गर्नुभयो । उनले भिटामिन ‘ए’ र जुकाको औषधि सावधानी अपनाएर खुवाउनुपर्नेमा जोड दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण