सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तरवार्ता

‘कम्युनिस्ट एकता कसैले खोजेको थिएन, दलहरूको पुनर्गठन चाहिएको थियो’

‘फूलमालासहित बिदाइको उल्लासमय अवसर नेताहरूले गुमाउनुभयो, उहाँहरूको बिदाइ निकै कठिन हुनेवाला छ’
आइतबार, २३ कात्तिक २०८२

राजनीतिक, सामाजिक अभियानमा सक्रिय केशव दाहाल पछिल्लो समय लेखनमा सक्रिय छन् । नेपाली राजनीतिको गहिरो अध्ययन गरेका विश्लेषक तथा लेखक दाहाल दश घटकको एकतालाई महासंकटहरूको एकीकरण संज्ञा दिन्छन् । एक करोड सदस्य भएको कुनै कम्युनिस्ट पार्टी भयो भने नेपाल बस्न योग्य नहुने उनको तर्क छ ।

उनी एकताबारे भन्छन्, ‘अलिकति मात्रै गडयाङ–गुडुङ भयो भने म जेल जान्छु भन्ने डर छ । कतिपय नेताहरूलाई सन्ततिहरूको पनि सुरक्षा गर्दिनु छ । आर्थिक सुरक्षा मात्रै होइन, न्यायिक सुरक्षा पनि गर्दिनु छ । एमालेभित्रको दोस्रो–तेस्रो पङ्क्ति सुस्त भएको तर्क गर्दै दाहाल भन्छन्, ‘त्यहाँ ब्युरोक्रेटिक इन्स्टिच्युसनलाई भत्काउने क्यापासिटी देखिँदैन । त्यसैले एमाले सुध्रिँदैन, सकिन्छ । फूलमालासहित बिदाइको जुन त्यो अवसर हुन्थ्यो, अथवा उल्लासको, त्यो अवसर नेताहरूले गुमाएको उनको भनाइ छ ।

प्रधानमन्त्री र मन्त्रीहरूलाई अभियन्ताजस्तो नबन्न सुझाव दिने दाहालसँग विविध विषयमा रातोपाटीका लागि रोहित दाहालले कुराकानी गरेका छन् । (विस्तृत भिडियोमा)

भदौ २३ र २४ गतेको जे खालको आन्दोलन भयो, यसको मूल सन्देश के थियो ? के गर्न खोजेको थियो यसले ?

पछिल्लो समय नेपाली राजनीति र समयको गति मिलेको थिएन । नेपाली राजनीति असाध्यै सुस्त थियो र समय र समाजचाहिँ असाध्यै तीव्र गतिमा अगाडि बढेको थियो । जब समयको, समाजको, पुस्ताको, मान्छेको सपना बुझ्ने राजनीतिले सामथ्र्य गुमाउँछ, त्यसपछि असन्तुष्टि बढ्छ । त्यही असन्तुष्टिको प्रकट रूप हो २३ र २४ भन्ने लाग्छ ।

ठ्याक्कै समाजभन्दा विपरीत दिशामा जब नेताहरूले सोच्न थाल्छन्, अझ नयाँ पुस्ताको भन्दा फरक हुँदै जान्छ, जब पुरानो पुस्ताको सोच, त्यसपछि विद्रोह अनिवार्य हुन्छ । त्यही अनिवार्य विद्रोह हो ।

यसको अर्थ राजनीतिक दल र त्यसको मूल नृतृत्व सुध्रिनुपर्‍यो, अर्थात् पार्टीहरूको लोकतान्त्रीकरणको कुरा होला । रूपान्तरणको कुरा होला । पुनर्संरचनाको कुरा होला । त्यो केही हुने लक्षण छ ? 

एउटा धक्का मार्‍यो । जरा हल्लियो । एउटा जरा हल्लियो । उथलपुथल । एउटा प्रश्न त उठायो नै यसले । कोही पनि मान्छेले आत्मसमीक्षा नगरिकन बस्छ भने त्योचाहिँ विवेकहीन मान्छे हो । त्यसैले यो आन्दोलनले एउटा राम्रो के गर्‍यो भने सबै मान्छेलाई आत्मसमीक्षा गर्न, आफैले आफैलाई फर्केर हेर्न, आलोचना गर्नलाई सजिलो बाटो खोल्दियो । 

तपाईंले भनेजस्तो पुनर्संरचना गर्ने कुरो, अझ रूपान्तरण गर्ने कुरो, अझ अगाडिबाट हस्तान्तरण गर्ने कुरो देखिएन त ? 

जेनजी आन्दोलनले परिवर्तन दिन सकेन भनेर डिस्मिस गर्न चाहन्नँ म । यसको परिणाम, यो आन्दोलनले जुन धक्का मार्‍यो । दलहरूभित्र खटपटी जुन सुरु भएको छ, यसलाई आशावादी रूपमा नै हेरौं र हामीचाहिँ त्यसलाई बल दिने प्रयत्न गरौं । रूपान्तरणको प्रक्रिया कसरी सुरु हुन्छ भन्ने छ, त्यसका लागि भने अलिकति समय लाग्ने देखिन्छ ।

१० वाम घटकहरूको एकीकरणलाई यसैको कडीको रूपमा लिन सकिन्छ त ?

जेनजी आन्दोलनको कुरा गर्नुस् अथवा संसारभरि चलेको पछिल्लो राजनीतिक छलफल बहसको कुरा गर्नुस्, आज कम्युनिस्टहरूको एकता कसैले खोजेको होइन । आज खोजेको हो, राजनीतिको पुनर्गठन, दलहरूको पुनर्गठन । उहाँहरू एकतातिर जानुभयो ।

प्रचण्ड–माधव नेपालहरूले जे गरे, चाहिएको एउटा छ, गरे अर्कै ? अर्थात् उल्टो बाटो हिँडे ?

उहाँहरूले जे गर्नुभयो, त्यो कन्ट्राडिक्सन छ । पुनर्गठन र एकता भन्ने कुरा त ज्यादै फरक कुरा हो नि । समाजले के भन्यो भने, ‘ए कम्युनिस्टहरू, तपाईंहरूको २००–२५० वर्षको कम्युनिस्ट आन्दोलनको न्यारेटिभ्सहरूलाई एकचोटि पल्टाएर हेर्नुस् । तपाईंहरूले ५०–६०–७० वर्ष नेपालमा जुन राजनीति गर्नुभयो, जे गर्नुभयो, जे भन्नुभयो, त्यसलाई फर्केर हेर्नुस् । तपाईंहरू कम्युनिस्ट हो कि होइन ? तपाईं माक्र्सवादी हो कि होइन ? तपाईं वामपन्थी हो कि होइन ? तपाईं सत्तामा बस्नुभयो, तपाईंले के गर्नुभयो ? त्यो सबै कुरा एकचोटि फर्केर हेर्नुस् र बोध गर्नुस् कि त्यसरी हुँदैन ।’ यही भनेको हो त्यो आन्दोलनले ।

प्रचण्डजी र माधव नेपालजीले जे गर्नुभयो, त्यो गलत गर्नुभयो ? त्यो बाटो गलत हो ?

त्यो एकताले कसलाई के फरक पार्छ ? त्योे आजको बहसको विषय नै होइन ।

हुनुपथ्र्यो के ?

नेपाली कम्युनिस्टहरूले राजनीतिबाहेक सबै गर्नुभयो । नेपाली कम्युनिस्टहरूले सत्ताबाहेक केही पनि गर्नुभएन । अनि यसलाई हामीले के भन्न सक्छौँ भने नेपाली कम्युनिस्टहरूले संकटको भारी बोकाउनुभयो नेपाली समाजलाई । बडे–बडे शब्दहरूको भारी बोकाउनुभयो नेपाली समाजलाई । उग्र न्यारेटिभ्सहरू, भाष्यहरूको भारी बोकाउनुभयो । समाजले के भन्यो भने ‘तपाईंहरूको भारी हामी बोक्न सक्दैनौं मान्यवरहरू, कृपया यो भारी हामी बिसाउन चाहन्छौं, अथवा कृपया यो भारीको बोझबाट हामीलाई मुक्त गर्दिनुस् ।’

प्रचण्ड–माधवको पार्टीबीचको एकीकरण सम्बन्धमा त प्रवेश नै गर्न चाहनुभएन । उनीहरूले के–के न प्राप्त गर्‍यौँ भनिरहेका छन् ।

यो भनेको संकटको एकीकरण हो । जब संकट एकीकृत भएर आउँछ नि, के हुन्छ भन्नुस् त ? त्यो त महासंकट बन्छ । त्यसैले मलाई के लाग्छ भने, नेपालीका कम्युनिस्टहरूको हिजो–अस्ति यो जुन १०, १० घटकको एकीकरण भनेको महासंकटहरूको एकीकरण हो ।

तपाईं त्यसो भन्नुहुन्छ, अब कम्युनिस्ट पार्टीको एक करोड सदस्य बन्छन् रे । आउँदो निर्वाचनमा त्यो पार्टीले बहुमत ल्याउँछ रे ।

समाजले समाजको दलीयकरणलाई बन्द गर्नुस् भन्दै छ । समाजले बडे–बडे संगठनहरू बनाउनुभयो, ठुला–ठुला जनसंगठनहरू बनाउनुभयो र समाज भाँडियो, समाजलाई आफ्नै लयमा छोड्दिनुस् भन्दै छ ।

तपाईंलाई एक करोड सदस्य किन चाहियो ? समाजले भन्दै छ– यदि नेपालका कम्युनिस्टहरूको एक करोड सदस्य भएको कुनै कम्युनिस्ट पार्टी हाम्रो अगाडि यहाँ उपस्थित भयो भने यो मुलुक बस्न योग्य पनि हुँदैन । अनि बस्न योग्य नहुने मुलुक बनाउँछु भन्ने नेताहरूले ?

देश र जनताका लागि अर्थ नभए पनि प्रचण्ड–माधवबिचको एकीकरण त्यसै त भएको होइन होला नि ? कोही कसैलाई त फाइदा भएको होला नि ? 

हाम्रा नेताहरूलाई त्रास छ र त्यो त्रासबाट मुक्ति पनि एउटा कारण हो । अलिकति मात्रै गडयाङगुडुङ भयो, अलिकति मात्रै तलमाथि भयो, अलिकति मात्रै विपरीततिर गयो परिस्थिति भने म जेल जान्छु भन्ने डर छ । कतिपय नेताहरूलाई आफै, आफ्ना सन्ततिहरूका पनि सुरक्षा गर्दिनु छ । आर्थिक सुरक्षा मात्रै होइन, न्यायिक सुरक्षा पनि गर्दिनु छ । 

नेताहरूलाई सक्रिय राजनीति छाड् त सबैले भन्छन् । तर जीवनभर जे गरेको त्यही छाड् भन्नु कति न्यायसंगत हुन्छ ?

यति अबुझ मान्छे कसरी हुन सक्छ ? दुई, तीन, पाँच चोटि प्रधानमन्त्री भएको, उमेरले ७० प्लस भयो । जीवनमा अरू मजा लिनुपर्ने छ भन्ने थाहा नै नपाउनु यति अबुझ कसरी हुन्छ मान्छे ? सत्ता बाहिर पनि मजा छ जिन्दगीको । धर्मकर्म गरे भयो, चारधाम गए भयो । विश्वविद्यालयतिर गएर अनुभवका, राजनीतिका, लोकतन्त्रका, संघर्षका कक्षाहरू लिए भयो ।  किताबहरू लेखे भयो । 

एमाले जत्रो पार्टीको १५ वर्ष महासचिव चलाएको व्यक्ति माधव नेपाल, अहिले प्रचण्डजीको सहअध्यक्ष भएर जानुभयो । मान्छे यतिसम्म झर्न कसरी सक्छ ?

उहाँलाई त्रास छ । आफ्नो असफलताको बोध पनि छ । अनि मर्ने बेलामा हँसिया–हथौडाको झन्डा ओड्ने रहर पनि छ । र सबैभन्दा महत्त्वपूर्ण कुरा नेताहरूलाई थाहा नै छैन– कद के हो, जिम्मेवारी के हो, भूमिका के हो, म को हो, यो देश के हो, नागरिक के हो ? र हामी इल्युजनको सिकार छौं । झोलामा जे–जे आयो, उहाँहरूले त्यही–त्यही थाप्दै जानुभएको हो । क्षमताले, योग्यताले होइन । उहाँहरूमा क्षमता नै छैन । यो आरोप होइन, माधव नेपाल सहसंयोजक भएर त्यहाँ जानुचाहिँ अनेकौं प्रश्नको जवाफ हो । 

नेकपा एमालेमा पुनर्गठनको केही सम्भावना देख्नुहुन्छ ? 

एमालेभित्रको दोस्रो–तेस्रो पङ्क्ति अलि सुस्त भयो । त्यसैले त्यहाँ गाह्रो छ । दोस्रो, एमालेचाहिँ पोलिटिकल पार्टीजस्तै भएन क्या अहिले । ब्युरोक्रेटिक एउटा इन्स्टिच्युसनजस्तो भयो । बोस हुन्छ, अनि अरू इम्प्लोइहरू हुन्छन् । बोसले आफ्नो हिसाबले चलाउने हो, इम्प्लोइले बोसको आदेश मान्ने हो । सचिव हुनुहुन्छ, सहसचिव हुनुहुन्छ, तल सुब्बा–खरिदार छन् । त्यहाँ के बहस, त्यहाँ के छलफल, के प्रश्न ? त्यहाँ पोलिटिकल प्रेसर क्रियट गर्ने र त्यो ब्युरोक्रेटिक इन्स्टिच्युसनलाई भत्काउने त्यो क्यापासिटी एमालेमा देखिँदैन । त्यसैले एमाले सुध्रिँदैन, सकिन्छ । 

यसको मतलब अबको करिब एक महिनापछि हुने महाधिवेशनबाट एमालेमा पनि कुनै परिवर्तन हुने सम्भावना छैन ? 

कार्यकर्ताको विवेकको, कार्यकर्ताको सार्वभौमिकताको ढोका खुलेन भने केही पनि परिवर्तन हुँदैन ।

एक महिनामा खुल्छ कि ?

खुल्दैन ।

जेनजी आन्दोलपछि पुनर्गठनको मुद्दा कांग्रेसभित्र चाहिँ अलि बढी सघन रूपमा यी प्रश्नहरू उठे भन्न सकिन्छ ? 

धेरै हलचल नेपाली कांग्रेसभित्रै छ । सकारात्मक हलचल । त्यहाँ गगनजी, विश्वप्रकाशजी, अलिकति नयाँ पुस्ताको साथीहरूले जे प्रयत्न गर्दै हुनुहुन्छ, त्यो सकारात्मक दिशामा जाओस् भन्ने कामना गरौं । 

मुलुकको कार्यकारी प्रमुख, आफैंले भन्नुभयो, म ५ मिनेट त्यहाँ थिएँ भने मारिन्थेँ । हेलिकप्टर चढेर भाग्नुभयो । मन्त्रीहरूको सबै भागाभाग भयो । अब यस्तो हुँदा पनि नसुध्रिएको नेतृत्व सुध्रेला भन्ने नसोचे भयो हैन त ?

यो नेतृत्व त अब सुध्रिँदैन, यसलाई त बिदा गर्ने हो ।

तपाईंले भनेकै आधारमा पनि बिदा त नहुने भयो नि त ।

फूलमालासहित बिदाइको जुन त्यो अवसर हुन्थ्यो अथवा उल्लासको, त्यो अवसर गुमाउनुभयो र उहाँहरूको बिदाइ धेरै कठिन हुनेवाला छ । 

२३ र २४ गतेको घटनाको जिम्मा कसले लिने हो ? तत्कालीन प्रधानमन्त्रीले त म लिन्नँ भनिसक्नुभयो । 

हाम्रोमा नेताहरू टकटकिने भइदियो । ‘गोली मैले हानेको हो र ? मैले गोली हान भनेर आदेश दिएको हो र ? त्यो पुलिस मैले खटाएको हो र ?’ 

के गर्न बसेको त बालुवाटारमा त्यसो भए ? नैतिक दायित्व, राजनीतिक दायित्व, राजकीय दायित्व  हुन्न ? २३ र २४ गतेको घटनाको नैतिक र राजनीतिक दायित्व सम्पूर्ण रूपमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले लिनुपर्छ । सत्ताधारी दलहरूले लिनुपर्छ ।

भदौ २३–२४ गतेको घटनापछि नेपालको वामपन्थी आन्दोलनको अवस्था के होला ? 

नेपालमा वामपन्थी आन्दोलन नै छैन । नेपालमा कम्युनिस्टहरू छन्, जो वामपन्थी होइनन् । उनीहरू सत्ताधारीहरू हुन् । संस्थापनहरू हुन् । वामपन्थी हुनु भनेको र कम्युनिस्ट हुनु भनेको फरक कुरा हो ।

सुशीला कार्की नेतृत्वको सरकारले निर्धारित मितिमा निर्वाचन गराउँछ ?

निर्वाचन नगराइकन धरै छैन । निर्वाचनतिर नजाने हो भने हामी कहाँ जाने ? अर्को द्वन्द्वतिर, टकरावतिर ?

सरकार नै निर्वाचन गराउनतिर नगइरहेको त प्रशस्तै उदाहरण छन् त ।

यो सरकार निर्वाचनको सरकार हो । निर्वाचनको वातावरण बनाउने भनेको सबैभन्दा महत्त्वपूर्ण काम राजनीतिक संवाद हो, जुन अहिले भएको छैन । प्रधानमन्त्रीले पनि आफूलाई अलिकति सम्हालेर, आफ्नो दायित्व के हो भन्ने कुरा बुझ्नुपर्‍यो । गृहमन्त्रीले पनि अभियन्ताजस्तो हुनुभएन । अभियन्ता र मन्त्री त फरक कुरा हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया