राजनीतिक, सामाजिक अभियानमा सक्रिय केशव दाहाल पछिल्लो समय लेखनमा सक्रिय छन् । नेपाली राजनीतिको गहिरो अध्ययन गरेका विश्लेषक तथा लेखक दाहाल दश घटकको एकतालाई महासंकटहरूको एकीकरण संज्ञा दिन्छन् । एक करोड सदस्य भएको कुनै कम्युनिस्ट पार्टी भयो भने नेपाल बस्न योग्य नहुने उनको तर्क छ ।
उनी एकताबारे भन्छन्, ‘अलिकति मात्रै गडयाङ–गुडुङ भयो भने म जेल जान्छु भन्ने डर छ । कतिपय नेताहरूलाई सन्ततिहरूको पनि सुरक्षा गर्दिनु छ । आर्थिक सुरक्षा मात्रै होइन, न्यायिक सुरक्षा पनि गर्दिनु छ । एमालेभित्रको दोस्रो–तेस्रो पङ्क्ति सुस्त भएको तर्क गर्दै दाहाल भन्छन्, ‘त्यहाँ ब्युरोक्रेटिक इन्स्टिच्युसनलाई भत्काउने क्यापासिटी देखिँदैन । त्यसैले एमाले सुध्रिँदैन, सकिन्छ । फूलमालासहित बिदाइको जुन त्यो अवसर हुन्थ्यो, अथवा उल्लासको, त्यो अवसर नेताहरूले गुमाएको उनको भनाइ छ ।
प्रधानमन्त्री र मन्त्रीहरूलाई अभियन्ताजस्तो नबन्न सुझाव दिने दाहालसँग विविध विषयमा रातोपाटीका लागि रोहित दाहालले कुराकानी गरेका छन् । (विस्तृत भिडियोमा)
भदौ २३ र २४ गतेको जे खालको आन्दोलन भयो, यसको मूल सन्देश के थियो ? के गर्न खोजेको थियो यसले ?
पछिल्लो समय नेपाली राजनीति र समयको गति मिलेको थिएन । नेपाली राजनीति असाध्यै सुस्त थियो र समय र समाजचाहिँ असाध्यै तीव्र गतिमा अगाडि बढेको थियो । जब समयको, समाजको, पुस्ताको, मान्छेको सपना बुझ्ने राजनीतिले सामथ्र्य गुमाउँछ, त्यसपछि असन्तुष्टि बढ्छ । त्यही असन्तुष्टिको प्रकट रूप हो २३ र २४ भन्ने लाग्छ ।
ठ्याक्कै समाजभन्दा विपरीत दिशामा जब नेताहरूले सोच्न थाल्छन्, अझ नयाँ पुस्ताको भन्दा फरक हुँदै जान्छ, जब पुरानो पुस्ताको सोच, त्यसपछि विद्रोह अनिवार्य हुन्छ । त्यही अनिवार्य विद्रोह हो ।
यसको अर्थ राजनीतिक दल र त्यसको मूल नृतृत्व सुध्रिनुपर्यो, अर्थात् पार्टीहरूको लोकतान्त्रीकरणको कुरा होला । रूपान्तरणको कुरा होला । पुनर्संरचनाको कुरा होला । त्यो केही हुने लक्षण छ ?
एउटा धक्का मार्यो । जरा हल्लियो । एउटा जरा हल्लियो । उथलपुथल । एउटा प्रश्न त उठायो नै यसले । कोही पनि मान्छेले आत्मसमीक्षा नगरिकन बस्छ भने त्योचाहिँ विवेकहीन मान्छे हो । त्यसैले यो आन्दोलनले एउटा राम्रो के गर्यो भने सबै मान्छेलाई आत्मसमीक्षा गर्न, आफैले आफैलाई फर्केर हेर्न, आलोचना गर्नलाई सजिलो बाटो खोल्दियो ।
तपाईंले भनेजस्तो पुनर्संरचना गर्ने कुरो, अझ रूपान्तरण गर्ने कुरो, अझ अगाडिबाट हस्तान्तरण गर्ने कुरो देखिएन त ?
जेनजी आन्दोलनले परिवर्तन दिन सकेन भनेर डिस्मिस गर्न चाहन्नँ म । यसको परिणाम, यो आन्दोलनले जुन धक्का मार्यो । दलहरूभित्र खटपटी जुन सुरु भएको छ, यसलाई आशावादी रूपमा नै हेरौं र हामीचाहिँ त्यसलाई बल दिने प्रयत्न गरौं । रूपान्तरणको प्रक्रिया कसरी सुरु हुन्छ भन्ने छ, त्यसका लागि भने अलिकति समय लाग्ने देखिन्छ ।
१० वाम घटकहरूको एकीकरणलाई यसैको कडीको रूपमा लिन सकिन्छ त ?
जेनजी आन्दोलनको कुरा गर्नुस् अथवा संसारभरि चलेको पछिल्लो राजनीतिक छलफल बहसको कुरा गर्नुस्, आज कम्युनिस्टहरूको एकता कसैले खोजेको होइन । आज खोजेको हो, राजनीतिको पुनर्गठन, दलहरूको पुनर्गठन । उहाँहरू एकतातिर जानुभयो ।
प्रचण्ड–माधव नेपालहरूले जे गरे, चाहिएको एउटा छ, गरे अर्कै ? अर्थात् उल्टो बाटो हिँडे ?
उहाँहरूले जे गर्नुभयो, त्यो कन्ट्राडिक्सन छ । पुनर्गठन र एकता भन्ने कुरा त ज्यादै फरक कुरा हो नि । समाजले के भन्यो भने, ‘ए कम्युनिस्टहरू, तपाईंहरूको २००–२५० वर्षको कम्युनिस्ट आन्दोलनको न्यारेटिभ्सहरूलाई एकचोटि पल्टाएर हेर्नुस् । तपाईंहरूले ५०–६०–७० वर्ष नेपालमा जुन राजनीति गर्नुभयो, जे गर्नुभयो, जे भन्नुभयो, त्यसलाई फर्केर हेर्नुस् । तपाईंहरू कम्युनिस्ट हो कि होइन ? तपाईं माक्र्सवादी हो कि होइन ? तपाईं वामपन्थी हो कि होइन ? तपाईं सत्तामा बस्नुभयो, तपाईंले के गर्नुभयो ? त्यो सबै कुरा एकचोटि फर्केर हेर्नुस् र बोध गर्नुस् कि त्यसरी हुँदैन ।’ यही भनेको हो त्यो आन्दोलनले ।
प्रचण्डजी र माधव नेपालजीले जे गर्नुभयो, त्यो गलत गर्नुभयो ? त्यो बाटो गलत हो ?
त्यो एकताले कसलाई के फरक पार्छ ? त्योे आजको बहसको विषय नै होइन ।
हुनुपथ्र्यो के ?
नेपाली कम्युनिस्टहरूले राजनीतिबाहेक सबै गर्नुभयो । नेपाली कम्युनिस्टहरूले सत्ताबाहेक केही पनि गर्नुभएन । अनि यसलाई हामीले के भन्न सक्छौँ भने नेपाली कम्युनिस्टहरूले संकटको भारी बोकाउनुभयो नेपाली समाजलाई । बडे–बडे शब्दहरूको भारी बोकाउनुभयो नेपाली समाजलाई । उग्र न्यारेटिभ्सहरू, भाष्यहरूको भारी बोकाउनुभयो । समाजले के भन्यो भने ‘तपाईंहरूको भारी हामी बोक्न सक्दैनौं मान्यवरहरू, कृपया यो भारी हामी बिसाउन चाहन्छौं, अथवा कृपया यो भारीको बोझबाट हामीलाई मुक्त गर्दिनुस् ।’
प्रचण्ड–माधवको पार्टीबीचको एकीकरण सम्बन्धमा त प्रवेश नै गर्न चाहनुभएन । उनीहरूले के–के न प्राप्त गर्यौँ भनिरहेका छन् ।
यो भनेको संकटको एकीकरण हो । जब संकट एकीकृत भएर आउँछ नि, के हुन्छ भन्नुस् त ? त्यो त महासंकट बन्छ । त्यसैले मलाई के लाग्छ भने, नेपालीका कम्युनिस्टहरूको हिजो–अस्ति यो जुन १०, १० घटकको एकीकरण भनेको महासंकटहरूको एकीकरण हो ।
तपाईं त्यसो भन्नुहुन्छ, अब कम्युनिस्ट पार्टीको एक करोड सदस्य बन्छन् रे । आउँदो निर्वाचनमा त्यो पार्टीले बहुमत ल्याउँछ रे ।
समाजले समाजको दलीयकरणलाई बन्द गर्नुस् भन्दै छ । समाजले बडे–बडे संगठनहरू बनाउनुभयो, ठुला–ठुला जनसंगठनहरू बनाउनुभयो र समाज भाँडियो, समाजलाई आफ्नै लयमा छोड्दिनुस् भन्दै छ ।
तपाईंलाई एक करोड सदस्य किन चाहियो ? समाजले भन्दै छ– यदि नेपालका कम्युनिस्टहरूको एक करोड सदस्य भएको कुनै कम्युनिस्ट पार्टी हाम्रो अगाडि यहाँ उपस्थित भयो भने यो मुलुक बस्न योग्य पनि हुँदैन । अनि बस्न योग्य नहुने मुलुक बनाउँछु भन्ने नेताहरूले ?
देश र जनताका लागि अर्थ नभए पनि प्रचण्ड–माधवबिचको एकीकरण त्यसै त भएको होइन होला नि ? कोही कसैलाई त फाइदा भएको होला नि ?
हाम्रा नेताहरूलाई त्रास छ र त्यो त्रासबाट मुक्ति पनि एउटा कारण हो । अलिकति मात्रै गडयाङगुडुङ भयो, अलिकति मात्रै तलमाथि भयो, अलिकति मात्रै विपरीततिर गयो परिस्थिति भने म जेल जान्छु भन्ने डर छ । कतिपय नेताहरूलाई आफै, आफ्ना सन्ततिहरूका पनि सुरक्षा गर्दिनु छ । आर्थिक सुरक्षा मात्रै होइन, न्यायिक सुरक्षा पनि गर्दिनु छ ।
नेताहरूलाई सक्रिय राजनीति छाड् त सबैले भन्छन् । तर जीवनभर जे गरेको त्यही छाड् भन्नु कति न्यायसंगत हुन्छ ?
यति अबुझ मान्छे कसरी हुन सक्छ ? दुई, तीन, पाँच चोटि प्रधानमन्त्री भएको, उमेरले ७० प्लस भयो । जीवनमा अरू मजा लिनुपर्ने छ भन्ने थाहा नै नपाउनु यति अबुझ कसरी हुन्छ मान्छे ? सत्ता बाहिर पनि मजा छ जिन्दगीको । धर्मकर्म गरे भयो, चारधाम गए भयो । विश्वविद्यालयतिर गएर अनुभवका, राजनीतिका, लोकतन्त्रका, संघर्षका कक्षाहरू लिए भयो । किताबहरू लेखे भयो ।
एमाले जत्रो पार्टीको १५ वर्ष महासचिव चलाएको व्यक्ति माधव नेपाल, अहिले प्रचण्डजीको सहअध्यक्ष भएर जानुभयो । मान्छे यतिसम्म झर्न कसरी सक्छ ?
उहाँलाई त्रास छ । आफ्नो असफलताको बोध पनि छ । अनि मर्ने बेलामा हँसिया–हथौडाको झन्डा ओड्ने रहर पनि छ । र सबैभन्दा महत्त्वपूर्ण कुरा नेताहरूलाई थाहा नै छैन– कद के हो, जिम्मेवारी के हो, भूमिका के हो, म को हो, यो देश के हो, नागरिक के हो ? र हामी इल्युजनको सिकार छौं । झोलामा जे–जे आयो, उहाँहरूले त्यही–त्यही थाप्दै जानुभएको हो । क्षमताले, योग्यताले होइन । उहाँहरूमा क्षमता नै छैन । यो आरोप होइन, माधव नेपाल सहसंयोजक भएर त्यहाँ जानुचाहिँ अनेकौं प्रश्नको जवाफ हो ।
नेकपा एमालेमा पुनर्गठनको केही सम्भावना देख्नुहुन्छ ?
एमालेभित्रको दोस्रो–तेस्रो पङ्क्ति अलि सुस्त भयो । त्यसैले त्यहाँ गाह्रो छ । दोस्रो, एमालेचाहिँ पोलिटिकल पार्टीजस्तै भएन क्या अहिले । ब्युरोक्रेटिक एउटा इन्स्टिच्युसनजस्तो भयो । बोस हुन्छ, अनि अरू इम्प्लोइहरू हुन्छन् । बोसले आफ्नो हिसाबले चलाउने हो, इम्प्लोइले बोसको आदेश मान्ने हो । सचिव हुनुहुन्छ, सहसचिव हुनुहुन्छ, तल सुब्बा–खरिदार छन् । त्यहाँ के बहस, त्यहाँ के छलफल, के प्रश्न ? त्यहाँ पोलिटिकल प्रेसर क्रियट गर्ने र त्यो ब्युरोक्रेटिक इन्स्टिच्युसनलाई भत्काउने त्यो क्यापासिटी एमालेमा देखिँदैन । त्यसैले एमाले सुध्रिँदैन, सकिन्छ ।
यसको मतलब अबको करिब एक महिनापछि हुने महाधिवेशनबाट एमालेमा पनि कुनै परिवर्तन हुने सम्भावना छैन ?
कार्यकर्ताको विवेकको, कार्यकर्ताको सार्वभौमिकताको ढोका खुलेन भने केही पनि परिवर्तन हुँदैन ।
एक महिनामा खुल्छ कि ?
खुल्दैन ।
जेनजी आन्दोलपछि पुनर्गठनको मुद्दा कांग्रेसभित्र चाहिँ अलि बढी सघन रूपमा यी प्रश्नहरू उठे भन्न सकिन्छ ?
धेरै हलचल नेपाली कांग्रेसभित्रै छ । सकारात्मक हलचल । त्यहाँ गगनजी, विश्वप्रकाशजी, अलिकति नयाँ पुस्ताको साथीहरूले जे प्रयत्न गर्दै हुनुहुन्छ, त्यो सकारात्मक दिशामा जाओस् भन्ने कामना गरौं ।
मुलुकको कार्यकारी प्रमुख, आफैंले भन्नुभयो, म ५ मिनेट त्यहाँ थिएँ भने मारिन्थेँ । हेलिकप्टर चढेर भाग्नुभयो । मन्त्रीहरूको सबै भागाभाग भयो । अब यस्तो हुँदा पनि नसुध्रिएको नेतृत्व सुध्रेला भन्ने नसोचे भयो हैन त ?
यो नेतृत्व त अब सुध्रिँदैन, यसलाई त बिदा गर्ने हो ।
तपाईंले भनेकै आधारमा पनि बिदा त नहुने भयो नि त ।
फूलमालासहित बिदाइको जुन त्यो अवसर हुन्थ्यो अथवा उल्लासको, त्यो अवसर गुमाउनुभयो र उहाँहरूको बिदाइ धेरै कठिन हुनेवाला छ ।
२३ र २४ गतेको घटनाको जिम्मा कसले लिने हो ? तत्कालीन प्रधानमन्त्रीले त म लिन्नँ भनिसक्नुभयो ।
हाम्रोमा नेताहरू टकटकिने भइदियो । ‘गोली मैले हानेको हो र ? मैले गोली हान भनेर आदेश दिएको हो र ? त्यो पुलिस मैले खटाएको हो र ?’
के गर्न बसेको त बालुवाटारमा त्यसो भए ? नैतिक दायित्व, राजनीतिक दायित्व, राजकीय दायित्व हुन्न ? २३ र २४ गतेको घटनाको नैतिक र राजनीतिक दायित्व सम्पूर्ण रूपमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले लिनुपर्छ । सत्ताधारी दलहरूले लिनुपर्छ ।
भदौ २३–२४ गतेको घटनापछि नेपालको वामपन्थी आन्दोलनको अवस्था के होला ?
नेपालमा वामपन्थी आन्दोलन नै छैन । नेपालमा कम्युनिस्टहरू छन्, जो वामपन्थी होइनन् । उनीहरू सत्ताधारीहरू हुन् । संस्थापनहरू हुन् । वामपन्थी हुनु भनेको र कम्युनिस्ट हुनु भनेको फरक कुरा हो ।
सुशीला कार्की नेतृत्वको सरकारले निर्धारित मितिमा निर्वाचन गराउँछ ?
निर्वाचन नगराइकन धरै छैन । निर्वाचनतिर नजाने हो भने हामी कहाँ जाने ? अर्को द्वन्द्वतिर, टकरावतिर ?
सरकार नै निर्वाचन गराउनतिर नगइरहेको त प्रशस्तै उदाहरण छन् त ।
यो सरकार निर्वाचनको सरकार हो । निर्वाचनको वातावरण बनाउने भनेको सबैभन्दा महत्त्वपूर्ण काम राजनीतिक संवाद हो, जुन अहिले भएको छैन । प्रधानमन्त्रीले पनि आफूलाई अलिकति सम्हालेर, आफ्नो दायित्व के हो भन्ने कुरा बुझ्नुपर्यो । गृहमन्त्रीले पनि अभियन्ताजस्तो हुनुभएन । अभियन्ता र मन्त्री त फरक कुरा हो ।
प्रतिक्रिया