शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई सीमा क्षेत्रमा खटाइयो

बुधबार, २६ कात्तिक २०८२, १३ : ४८
बुधबार, २६ कात्तिक २०८२

सारांश

  • सशस्त्र प्रहरीले सुरक्षा चुनौती र राजश्व अभिवृद्धिका लागि वरिष्ठ उपरीक्षकहरूलाई सीमा नाकामा खटाएको छ।
  • खटिएका उपरीक्षकहरूले राजस्व चुहावट, चोरी निकासी रोक्ने र आपराधिक गतिविधि नियन्त्रण गर्नेछन्।
  • वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी, माधवप्रसाद पौडेल, रविनराज कर्णजीत र गंगाराम श्रेष्ठलाई खटाइएको छ।

काठमाडौँ । सशस्त्र प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई मुख्य सीमा नाकाहरूमा खटाएको छ । बदलिँदो सुरक्षा चुनौती र राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ सशस्त्र प्रहरीले वरिष्ठ उपरीक्षकहरूलाई मुख्य सीमा नाकाहरूमा खटाएको हो ।

सीमा नाकाहरूमा खटाइएका वरिष्ठ उपरीक्षकहरूले सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयसँगको आवश्यक समन्वयमा तोकिएका इकाईमा बसेर दैनिक तथा साप्ताहिक रूपमा आफूले सम्पादन गरेका कार्य सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा रिपोर्ट गर्ने जनाइएको छ ।

निश्चित समयमा उनीहरुले गरेका कार्य प्रभावकारी देखिएमा सङ्गठनले उक्त कार्यलाई निरन्तर दिन उनीहरूको ठाउँमा थप सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई जिम्मेवारी तोकेर खटाएको जनाइएको छ । साथै सीमा क्षेत्रमा हुने कुनै खबर, सूचना तथा गुनासो भएमा सर्वसाधारण नागरिकहरूले समेत प्रत्यक्ष रूपमा सम्पर्क राख्ने व्यवस्था मिलाइएको जनाइएको छ । 

उनीहरुले राजश्व चुहावट, चोरी निकासी तथा पैठारी सम्बन्धी गैरकानूनी कार्यमा रोक लगाउनुका साथै सो कार्यमा संलग्न देखिएका व्यक्तिहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउने र सीमासँग सम्बन्धित सूचनाहरूको अभिलेखीकरण तथा व्यवस्था समेत गर्ने जनाइएको छ ।

साथै उनीहरुले लागूऔषध, हातहतियार ओसारपसार एवं फरार कैदी लगायत आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाउनुका साथै भन्सार, राजश्व अनुसन्धान, उद्योग वाणिज्य सङ्घ, स्थानीय निकाय, स्थानीय व्यापारी एवं सर्वसाधारणसँग समन्वय गरी सीमा अपराध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी, वरिष्ठ उपरीक्षक माधवप्रसाद पौडेल, वरिष्ठ उपरीक्षक रविनराज कर्णजीत र गंगाराम श्रेष्ठलाई खटाइएको छ । सुवेदीको कमान्डमा कोशी प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा र प्रस्तावित सीमा सुरक्षा गुल्म रानी मोरङमा रहेर सो प्रदेशसहित सीमा नाकामा निगरानी गर्ने जनाइएको छ ।

पौडेलले मधेश प्रदेश र अन्य सीमा नाकाको समेत निगरानी गर्ने जनाइएको छ । कर्णजितको कमान्डमा लुम्बिनी प्रदेशसहित सीमा नाकाको निगरानी गर्ने जनाइएको छ भने श्रेष्ठको कमान्डमा सुदूरपश्चिम प्रदेशसहित सीमा नाकाको निगरानी गर्ने जिम्मेवारी दिइएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप