शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
घर जग्गा कारोबार

घर जग्गा कारोबार निरन्तर घट्दै, राजश्वमा असर

बुधबार, २६ कात्तिक २०८२, १६ : १६
बुधबार, २६ कात्तिक २०८२

काठमाडौँ । बागमती प्रदेशमा घरजग्गा कारोबार निरन्तर घट्दा राजस्वमा असर परेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । 

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार घर, भवन नक्सापास कमी आउँदा राजस्व पनि घटेको देखिएको छ ।

प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा बागमती प्रदेशमा घरजग्गा कारोबार र निर्माण क्षेत्रमा ठुलो गिरावट आएको छ । 

घरजग्गा रजिष्ट्रेशन सङ्ख्या र यसबाट आउने राजस्व घटेको २०८२ असारसम्म घरजग्गा रजिष्ट्रेशन सङ्ख्या २५ प्रतिशतले घटेर ९८ हजार ६४८ पुगेको प्रतिवेदनमा रहेको छ ।  अघिल्लो आर्थिक वर्ष २०८१ असारसम्म यो सङ्ख्या १ लाख ३१ हजार ४५१ थियो । त्यस अघिको  वर्षको सोही अवधिमा पनि घरजग्गा रजिष्ट्रेशन १८.१० प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

घरजग्गा रजिष्ट्रेशनबापत सङ्कलन हुने राजस्वमा पनि २३.६ प्रतिशतले कमी आएको छ । २०८१   असारमा १ खर्ब ८२ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन भएकोमा आर्थिक वर्ष २०८२ असारसम्ममा यो घटेर १ खर्ब ३९ अर्ब ६४ करोड रुपैयाँमा आएको हो ।

यस्तै घर तथा भवनको स्थायी नक्सापास पनि घटेको छ । २०८१ असारबाट २०८२ असारसम्म १.७ प्रतिशतको सामान्य गिरावट देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख भएको हो ।

आर्थिक वर्ष २०८१ असारमा १ लाख ३१ हजार ७६५ घर तथा भवनका नक्सा पास भएकोमा २०८२  असारसम्म यो सङ्ख्या १ लाख ३० हजार १३९ मा झरेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप