राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा काठमाडौँमा हुने
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसिर २६, २७ र २८ गते काठमाडौँमा हुने भएको छ।
- महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ।
- पार्टीले तय गरेको नयाँ कार्यतालिका अनुसार आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन, असोज १५ देखि २४ गतेसम्म प्रदेश अधिवेशन र कात्तिक ११ देखि ३० गतेसम्म केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौट गरिनेछ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसिर २६, २७ र २८ गते काठमाडौँमा हुने भएको छ। असार ५ र ६ गते काठमाडौँमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।
महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ। यस समितिमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरू, पदाधिकारी, केन्द्रीय समितिका सदस्यहरू, सल्लाहकार समितिका अध्यक्ष तथा सदस्यहरू रहनेछन्।
त्यस्तै विभिन्न केन्द्रीय विभागका प्रमुखहरू, प्रदेश अध्यक्षहरू, सबै जिल्ला अध्यक्षहरू, प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरू तथा सबै भातृ संगठनका अध्यक्षहरू पनि समितिको सदस्य रहनेछन्। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आवश्यकता अनुसार अन्य विभिन्न उपसमितिहरू पनि गठन गर्नेछ।
पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार बैठकमा प्रस्तुत विभिन्न प्रतिवेदनहरू परिमार्जनसहित पारित गरिएका छन्, जसमा केन्द्रीय निर्वाचन समितिले पेस गरेको सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धी नियमावली र पार्टीको निर्वाचन निर्देशिका रहेका छन्।
पार्टीले तय गरेको नयाँ कार्यतालिका अनुसार आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ। भदौ मसान्तसम्म जिल्ला अधिवेशन गर्ने जिल्लाहरू मात्र केन्द्रीय महाधिवेशनमा सहभागी हुन योग्य मानिनेछन्।
त्यस्तै, आगामी असोज १५ देखि असोज २४ गतेसम्म सातवटै प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गरिनेछ। पार्टीको सक्रिय सदस्यता वितरण कार्यलाई आगामी भदौ मसान्तसम्म अभियानकै रूपमा सञ्चालन गरिने र सो समयसम्म सक्रिय सदस्यता प्राप्त गरेकाहरू मात्र महाधिवेशन प्रतिनिधिको मतदाता तथा उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ।
आगामी कात्तिक ११ गतेदेखि कात्तिक ३० गतेसम्म सबै जिल्लाका प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिहरूले पार्टीको विधान बमोजिम सक्रिय सदस्यहरूमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौट गर्नुपर्नेछ। यसरी छानिएका प्रतिनिधिको विवरण मंसिर ७ गतेभित्र केन्द्रीय निर्वाचन समिति र पार्टी केन्द्रीय सचिवालयमा पठाइसक्नुपर्नेछ। प्रदेशसभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा युवाहरूको प्रतिनिधित्व अनिवार्य रूपमा सुनिश्चित गरिनुपर्ने व्यवस्थासमेत राप्रपाले गरेको छ।
राष्ट्रिय राजनीतिमा राप्रपाले अवलम्बन गरेको नीति, विचार र सिद्धान्तको आवश्यकता र अपरिहार्यता झन् बढेर गएको पार्टीको निष्कर्ष छ। एउटा निर्वाचनको परिणामले मात्र कुनै पनि पार्टीको भविष्य निर्धारण नहुने वास्तविकतालाई दृष्टिगत गर्दै राप्रपाले स्वदेश तथा विदेशमा रहेका आफ्ना हरेक सदस्यलाई विचलित नहुन र उच्च मनोबलका साथ पार्टी कार्यमा क्रियाशील रहन अपिलसमेत गरेको छ।



Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण