शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
कथा

जम्मा पाँच वर्ष

शनिबार, ०६ असार २०८३, १६ : ००
शनिबार, ०६ असार २०८३

सारांश

  • श्यामप्रसाद र सीताको पहिलो सन्तान अमर जन्मिएको थियो, तर पाँच महिनाको हुँदा अमरलाई स्याण्डफ न्युरोलोजिकल डिसअर्डर भएको पत्ता लाग्यो जसले गर्दा ऊ धेरै बाँचे ४/५ वर्ष मात्र बाँच्ने बताइएको थियो।
  • छोराको रोगको निदानपछि सीताको मानसिक सन्तुलन बिग्रियो र उनलाई अस्पतालमा भर्ना गरियो, जबकि छोराको मृत्यु भइसकेको थियो।
  • बीस वर्षपछि, श्यामप्रसादले अस्पतालमा मानसिक रोगको उपचार गराइरहेकी सीतालाई भेट्छ, जसले अझै पनि आफ्नो छोरा पाँच वर्ष मात्र बाँच्छ भन्ने विश्वास गर्छिन्।

“प्यासेन्टको श्रीमान् को हुनुहुन्छ?”, अपरेसन थिएटरको ढोकाबाट टाउको निकाल्दै एक जना नर्सले सोधिन्।

“म!” बेन्चबाट जुरुक्क उठ्यो श्यामप्रसाद।

“ल बधाइ छ! छोरा भएको छ तपाईँको, एकछिनमा भित्र बोलाउँछौँ” भन्दै पुनः टाउको भित्र लगेर नर्सले ढोका लगाइन्।

अक्क न बक्क भयो श्यामप्रसाद। हाँसौँ कि, रोऊँ कि, चिच्याऊँ, भुइँमै लडीबुडी खेलौँ, के गरौँ, कसो गरौँ भयो। खुसी थाम्नै गाह्रो भयो। एक्लै हाँस्दै यताउता हिँड्यो। बाहिर गई एक प्याकेट मिठाइ लिएर आयो।

बिहानको ३ बजेको थियो। अस्पतालको करिडोरमा तीन–चार जना मानिस भेटिए। जो–जो भेटिए सबैलाई मिठाइ दियो। श्यामप्रसाद र सीताको पहिलो बच्चा थियो।

श्यामप्रसादलाई भित्र बोलाइयो। बच्चा रोइरहेको थियो। आमा सीता अझै पीडामा थिइन्। सर्जरी गरिएको थियो।

श्यामप्रसादले हातमा लिएर बच्चा हेर्‍यो। बच्चा रोइरहेको थियो, श्यामप्रसाद हाँसिरहेको थियो। बच्चाको आँखामा आँसु देखिन्थेन, श्यामप्रसादको आँखाबाट भने आँसु बगिरहेको थियो। जात नमिलेर घरबाट छुट्टिएर पोखराको नदीपुरको एउटा कोठामा छुट्टै बसेको जोडी थियो— श्यामप्रसाद र सीता। श्यामप्रसादले एसएलसीसम्म पढेको थियो। एसएलसी पढेको केटाको साथी पनि उस्तै त हुने भयो। उस्तै थिइन् सीता, आठ कक्षा पास गरेकी। श्यामप्रसाद नजिकै रहेको कन्या क्याम्पसमा कार्यालय सहयोगीको जागिर खान्थ्यो, करारमा। सीता गृहिणी।

एककोठे संसारमा लगियो सीता र नवजात शिशुलाई। सुत्केरी स्याहार बिदा सकेर पुनः जागिरमा जान थाल्यो, श्यामप्रसाद। सीता बच्चालाई हेर्ने, भान्सा गर्नेलगायतका काममा व्यस्त हुन थालिन्। नाम ‘अमर’ जुरेछ, अमर नै राखे। श्रीमान्–श्रीमती, एउटा छोरा, श्रीमान्‌को जागिर र एउटा कोठा; चिटिक्क मिलेको जिन्दगानी।

“यो केटा पनि ५ महिनाको भयो है! कति छिटो जाने हो समय नि!” एक साँझ श्यामप्रसाद यत्तिकै फुतफुटायो।

“अँ... हिजोआज अलि लिटो कम खान थालेछ। दुध खान नि मन गर्दैन, के भएको? अरूको ६ महिनाको बच्चाजतिको यसको तौल पनि छैन, क्यार्ने हो! विचार गर्नुभएको छ?” निदाइरहेको अमरलाई हेर्दै सीताले भनिन्।

“अँ, कहिलेकाहीँ खान मन नहुन नि सक्छ, त्यही होला। अब मोटाउने, बढ्ने कुरो त होला नि बिस्तारै, केलाई आत्तिएकी छौ र!” श्यामप्रसादले निर्धक्क हुँदै सम्झाएको थियो सीतालाई।

“एकदुई दिन यस्तै भयो भने त अस्पताल लैजानुपर्छ” सीता।

“हुन्छ, गण्डकी अस्पताल जाऔँला।”

एकदुई दिनमा पनि अमरको व्यवहारमा परिवर्तन भएन, यताउता पल्टिन खोज्नेजस्ता कार्यहरू पनि रोकियो। श्यामप्रसाद र सीता अमरलाई लिई गण्डकी अस्पताल पुगे।

डाक्टरले छाती जाँचे, रगत जाँचे, केही भन्न सकेनन्।

“ठूलो डाक्टरलाई देखाउने रे! खै, क्यार्ने केही भन्न सकेनन् डाक्टरले। केही भएको भए पो भन्थे” भन्दै पुनः भोलि आउने गरी अमरलाई लिएर श्यामप्रसाद र सीता गण्डकी अस्पतालबाट नदीपुर कोठातर्फ लागे।

“नमस्कार हजुर!” भोलिपल्ट न्युरोलोजिस्ट डाक्टरलाई सम्बोधन गर्दै श्यामप्रसाद।

न्युरोलोजिस्टले आँखामा टर्च बालेर हेरे।

“रातो दाग पो छ त आँखामा...” न्युरोलिजिस्ट बर्बराए, केही सोचेजस्तो गरे, फेरि बोले– “एमआरआई गर्नुपर्छ।”

श्यामप्रसाद र सीताले के भन्ने। तर्क भए पो भन्ने।

एमआरआई गरेर भोलि आउने भनियो।

पुनः त्यसैगरी अस्पताल पुगे श्यामप्रसाद र सीता। न्युरोलोजिस्टले आफ्नो क्याबिनमा लगे, कुर्सीमा बसाले।

“पानी खानुहुन्छ?”

दुवै जनाले इन्कारीमा टाउको हल्लाए। नजानिँदो डरले दुवै जनालाई खाइरहेको थियो। श्यामप्रसाद र सीतालाई थाहा थियो— उनीहरूको हैसियत गण्डकी अस्पतालका न्युरोलोजिस्टको क्याबिनमा बसेर गफ गर्ने, चियापानी खाने थिएन।

“तपाईँहरूमध्ये बच्चाको बुवासँग मात्र कुरा गरौँ कि!” न्युरोलोजिस्टले श्यामप्रसादलाई हेर्दै भने।

“होइन! मैले अझैसम्म मेरी श्रीमतीलाई कुनै कुरा लुकाएको छैन, जे हो भन्नुस् डाक्टर साब।” सीतालाई हेर्दै श्यामप्रसादले भने।

केही बेर सोचेपछि बल्ल बोले न्युरोलोजिस्ट– “अब यस्तो छ हेर्नुस्, बच्चालाई स्याण्डफ न्युरोलोजिकल डिसअर्डर छ। यो रोग लाखौँमा एक जनालाई लाग्ने रोग हो। अब मैले तपाईँहरूलाई सबै कुरा भन्नैपर्ने हुन्छ, लुकाउन मिल्दैन। धैर्य राखेर सुन्नुहोला” भन्दै उठे।

यताउता हिँडे। फेरि बसेर बोल्न थाले– “अब यसको उपचार विज्ञानले ठ्याक्कै यही हो भनेर पत्ता लगाइसकेको छैन। बिस्तारै बच्चाको बढ्ने क्रम रोकिन्छ अब, सास र फोक्सोको समस्या हुन्छ। म अझ स्पष्ट भन्न चाहन्छु, धेरै बाँचे ४/५ वर्ष हो बच्चा। तर हामीले जे–जे गर्न सकिन्छ गर्दै जाऔँ, हेरौँ केही जादु पो हुन्छ कि!”

“हजुर?” अचम्म मान्दै श्यामप्रसादले नपत्याएको जसरी फेरि सोध्यो।

न्युरोलोजिस्टले फेरि सोही कुरा दोहोर्‍याए। औषधीको प्रिस्क्रिप्सन दिए। न्युरोलोजिस्टले अब श्यामप्रसाद र सीता कोठाबाट जालान् भन्ने नजरले हेर्न थाले, तर श्यामप्रसाद र सीता त छाँगाबाट खसेजस्ता भएका थिए। कुर्सीमै अवाक्, भावविहीन भई बसिराखेको देखेर न्युरोलोजिस्ट नै कोठाबाट बाहिरिएपछि मात्र श्यामप्रसाद झस्किँदै उठ्यो। श्यामप्रसादले झकझकाएपछि मात्र “हजुर” भन्दै सीता पनि उठिन्।

दुवै जना अन्ततः अस्पतालबाट निस्किए। अस्पतालबाट नदीपुर जाने नगरबसमा चढे।

“क्यार्ने हो अब?” सीता।

“खै क्यार्ने... पाँच वर्ष मात्र भन्छ डाक्टरले! कहाँ त्यस्तो हुन्छ! अझै यो ठूलो हुनु छ, जिन्दगी देख्नु छ, यत्रो बालखाको आयु कहाँ पाँच वर्षको मात्र हुन्छ। हामी काठमाडौँ जाने अब।” ओछ्यानमा निदाइरहेको अमरलाई हेर्दै श्यामप्रसादले भने।

“पाँच वर्ष मात्र रे! कसरी हुन्छ त्यस्तो?” भन्दै खाटबाट जुरुक्क उठेर सीताले कोठाको भित्तामा रहेको घडी, ढोका खोली बाहिर सडकमा लगी नालीमा फ्याँकिन्। भित्र आइन्, पुनः यताउता हेरिन्। भित्तामा झुन्ड्याइएको क्यालेन्डर देखिन्, झम्टिइन्, च्यातिन्, धुजाधुजा पारिन्, सबै बटुलेर घडी फालेकै नालीमा फालिन्। श्यामप्रसाद सीताको अस्वाभाविक क्रियाकलाप देखेर छक्क पर्‍यो।

“सीता क्यारेकी हौ! नआत्तिऊ, सबै ठीक हुन्छ। काठमाडौँ जाने हामी पर्सि, भोलि म क्याम्पसमा बिदा मिलाएर आउँछु, सब ठीक हुन्छ, नआत्तिऊ!” भन्दै अँगालो हालेर खाटमा बसाल्यो।

“ढोका लगाउनुस्! उज्यालो आउँछ त्यो ढोकाबाट, रात बितेर दिन भएको थाहा पाइन्छ, समय बितेको थाहा पाइन्छ, मेरो बाबुको धेरै समय नै छैन रहेछ, जम्मा पाँच वर्ष रे!” भन्दै ढोकातिर पो देखाइन् सीताले। फेरि उठेर झ्याल लगाइन्, झ्यालका पर्दाहरू राम्रोसँग लगाइन्। बत्ती निभाइन्, कोठा अँध्यारो भयो। अमरसँगै पल्टिइन्।

बिहान श्यामप्रसादको आँखा खुल्दा सीता ओछ्यानमा थिइनन्। अमर उठिसकेको रहेछ। सानो खुट्टा चलाइरहेको थियो। त्यो सानो खुट्टाको नरम छालाको स्पर्शको आनन्द एकछिन लियो, छोरालाई हेर्‍यो। “आ.. आ..” गर्दै छोरा खेल्दै थियो।

एकछिन छोराको अनुहार हेर्दै श्यामप्रसाद टोलायो। आँखाहरू कुन बेला भरिएछन्, थाहै पाएन। सिरानी भिजेपछि बल्ल आँसु पुछ्यो। सीता अझै आएकी थिइनन्।

“श्याम दाइ! उता सेतीको डिलमा बसेर हजुरकी श्रीमती घामलाई ढुङ्गा हान्दै छिन्। कसैले भनेको मान्दैनन्, 'किन आइस् तँ?' भन्दै ढुङ्गा हान्दै छिन् घामलाई।” छेउको कोठामा बस्ने तरकारी पसले कोठामा आयो।

“हो र!” भन्दै छोरालाई अँगालोमा बोकेर श्यामप्रसाद कन्या क्याम्पसको पछाडि रहेको सेती खोलाको डिलतिर दौडियो।

मान्छेहरू टाढैबाट हेरिरहेका थिए।

“किन आइस् तँ? तँ आउनु भनेको दिन आउनु हो! तँ डुब्छस्, दिन जान्छ, एक–एक दिन गर्दै पाँच वर्ष बित्छ! किन आइस् तँ! नआइजा” भन्दै आकाशमा देखिएको घामलाई ढुङ्गा हान्दै थिइन्, सीता।

पहिला त श्यामप्रसाद छक्क पर्‍यो। बिस्तारै सीताको मानसिक अवस्थाको बारेमा उसलाई शङ्का लाग्यो।

दौडिँदै श्यामप्रसाद पनि डिलमा गयो।

“क्यारेकी हौ सीता! हेर त बाबुले तिमीलाई खोजेको छ।” अँगालोमा भएको बालक देखाउँदै श्यामप्रसाद।

“ए ए! म त भुसुक्कै बिर्सेछु! मेरो बाबु!” भन्दै श्यामप्रसादको अँगालोबाट बालकलाई लिइन्।

“जाऔँ घर जाऔँ” श्यामप्रसादले बालक दिँदै।

सीता बालकलाई अँगालोमा लिएर यति छिटो हिँडिन् कि श्यामप्रसादलाई सँगै हिँड्न पनि धौधौ भयो।

कोठामा पुगेर हिजो रातिकै क्रियाकलाप गरिन्, सीताले। ढोका लगाइन्, झ्यालको पर्दा पुनः राम्रोसँग मिलाइन्। कोठा अँध्यारो बनाइन्।

“अस्पताल बोलाएको छ! जाऔँ सीता!” नरम स्वरमा श्यामप्रसाद।

“जाऔँ जाऔँ! उपचार हुन्छ रे! मेरो छोराको?” सीता।

“हेरौँ जाऔँ! डाक्टरले बोलाएको छ।” श्यामप्रसाद।

पुनः उही न्युरोलोजिस्टलाई भेटे। न्युरोलोजिस्टको क्याबिनको टेबलअगाडि बच्चा लिएर श्यामप्रसाद र सीता बसेका थिए। बिहानको अन्दाजी दस बजिसकेको थियो। न्युरोलोजिस्टको कुर्सीको पछाडि एउटा झ्याल रहेछ। झ्यालबाट बिहान दस बजेको सूर्य देखिइरहेको थियो।

एक्कासि सीताले टेबलमा रहेको सिसाको पेपर वेटले झ्याल बाहिर पो हानिन्। उक्त क्रियाकलाप यति छिटो भयो कि न्युरोलोजिस्ट र श्यामप्रसादले मेसो पाउनै सकेनन्। सेतीको डिलमा कराएझैँ घामलाई त्यसरी नै कराउन पो थालिन्। न्युरोलोजिस्टले तुरुन्त नर्सहरू बोलाए। दुई जना नर्स आएर सीतालाई बाहिर लगे।

“नर्भस ब्रेकडाउन! ओहो! अर्को समस्या!” टाउको समात्यो न्युरोलोजिस्टले।

श्यामप्रसादले केही बुझ्नै सकिरहेको थिएन।

“मानसिक सन्तुलन गुमे जस्तो छ, बच्चाकी आमाको! यहीँ भर्ना गर्नुस्, उपचार गर्नुपर्छ।” न्युरोलोजिस्ट।

“ओहो डाक्टर साब! के भएको मेरै थाप्लोमा सबै!” रसिलो आँखाले बच्चालाई हेर्दै श्यामप्रसाद।

“अहिलेलाई तपाईँ नभेटी जानुस्! भेट्यो भने मान्दिनन् होला यहाँ बस्न, भर्ना गर्नैपर्छ।” न्युरोलोजिस्ट।

त्यसै गर्‍यो श्यामप्रसादले। बिहेपछि कहिल्यै नछोडेकी सीतालाई अस्पतालमै छोडेर हिँड्यो।

सीताले चाहेजस्तो घाम उदाउन, अस्ताउन रोकिएन। घाम उदाउने, अस्ताउने गरेको पनि बीस वर्ष भएछ। श्यामप्रसादको कपाल झरेको थियो, शरीर गलेको थियो, दाह्री फुलेको थियो। क्याम्पसको कामबाट सेवानिवृत्त भइसकेको थियो। महेन्द्रपुलको एउटा पसलमा दुधदानी किनेर गण्डकी अस्पतालतर्फ लाग्यो।

“लौ! यो बाबुलाई दुध खुवाउन चाहियो भनेको होइन!” भन्दै मानसिक वार्डमा रहेकी कपाल सेतै फुलेकी, अनुहार चाउरी पर्न लागेकी सीतालाई दियो।

“अँ... त्यही त... हेर्नुस् न दुध नै आएको छैन मेरो! पाँच वर्ष मात्र बाँच्छ भन्छ डाक्टरले! बल्ल त जन्मेको छ, छ महिनाको मात्र भयो, यसले ठूलो हुनु छ, जिन्दगी देख्नु छ, भोग्नु छ” भन्दै भित्र गइन्।

झ्यालबाट हेर्‍यो, श्यामप्रसादले। सीताको ओछ्यानमा कपडाहरू बेरेर बच्चाजस्तो बनाई सुताइएको थियो। श्यामप्रसादलाई चिच्याएर रुन मन लागेको थियो तर उसको आँखाबाट अहँ! एक थोपा आँसु आएन। पन्ध्र वर्षअघि डाक्टरले भनेझैँ गल्दै–गल्दै उनीहरूको छोराको मृत्यु भइसकेको थियो।

फनक्क फर्किएर गण्डकी अस्पताल बाहिर निस्कियो।

पश्चिमतर्फ फेवातालसँगै रहेको डाँडामाथिको घाम फेरि अस्ताउन लागेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहन थापा
मोहन थापा
लेखकबाट थप