विकास निर्माणमा बेहाल : काठमाडौँमै १५ वर्षदेखि सडक आयोजना अलपत्र
सारांश
- काठमाडौं सडक डिभिजनले दशकौंदेखि सडक विस्तार र मर्मतको काम नगर्ने २५ निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको छ।
- धेरै ठेक्काको भौतिक प्रगति शून्य रहेको र केही आयोजनाहरू अन्तिम चरणमा पुगेर पनि अलपत्र परेका छन्।
- कार्यालयले ठेक्का रद्द गर्दै निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ।
काठमाडौँ । हरेक बिहान घरबाट निस्कने काठमाडौँवासीको दैनिकी धुलो, हिलो, खाल्डाखुल्डी र अत्यासलाग्दो ट्राफिक जामबाट सुरु हुन्छ । यो समस्या एक वा दुई दिनको होइन, वर्षौंदेखिको नियति हो ।
तर, यो नियतिको पछाडि विकासको गति सुस्त भएर मात्र होइन, बरु ठेक्का लिएर १५/१५ वर्षसम्म काम नगर्ने निर्माण कम्पनीहरूको चरम लापरबाहीको लामो शृङ्खला हो ।
यो विडम्बनाको पछिल्लो उदाहरण सडक डिभिजन कार्यालय, काठमाडौँले हालै सार्वजनिक गरेको एक निर्णयले छर्लङ्ग पारेको छ । कार्यालयले उपत्यकाका विभिन्न सडक मर्मत र विस्तारका लागि ठेक्का लिएर दशकौँसम्म काम नगर्ने २५ निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको छ । यीमध्ये केही आयोजना त यस्ता छन्, जसको सम्झौता डेढ दशकअघि, अर्थात् २०६७ सालमा भएको थियो ।
संघीय राजधानी, जहाँ देशको प्रशासनिक र विकासको मुटु चल्छ भनिन्छ, त्यहीँभित्र विकास आयोजनाहरू यसरी कोमामा रहनुले समग्र निर्माण क्षेत्रको रोग र सरकारी संयन्त्रको निरीहतालाई एकैसाथ उजागर गरेको छ ।
सडक डिभिजनको कारबाहीमा परेका कम्पनीहरूको सूची हेर्दा लाग्छ, आयोजना रुग्ण हुनु हालसालको समस्या होइन, वर्षौंदेखिको एक दीर्घकालीन रोग हो । उदाहरणका लागि, त्रिवेणी कन्स्ट्रक्सन कम्पनी प्रालिले मैत्री हस्पिटल–बालाजु औद्योगिक क्षेत्र सडक स्तरोन्नतिका लागि २०६७ माघ १७ गते ठेक्का सम्झौता गरेको थियो । २०६८ चैत २३ गते सम्पन्न गरिसक्नुपर्ने ६ लाख ७२ हजार ६०९.४४ रुपैयाँ लागतको उक्त आयोजना १५ वर्ष बितिसक्दा पनि अलपत्र छ । जसको ६१ प्रतिशत मात्रै काम (भौतिक प्रगति) भएको सडक डिभिजन काठमाडौँले जनाएको छ ।
यस्तै, जागृत निर्माण सेवाले २०६८ भदौ २० गते २० लाख ११ हजार ९०५.१६ रुपैयाँ लागतमा सम्पन्न गर्नेगरी सीतापाइला–रामकोट सडकको ठेक्का लियो, जसलाई सोही वर्षको असोज ३० गतेभित्र सक्नुपर्ने थियो । तर, १४ वर्षको अवधिमा यसको भौतिक प्रगति १३ प्रतिशतभन्दा माथि उठ्न सकेन ।
यसैगरी त्रिवेणी कन्स्ट्र्क्सन कम्पनी प्रालिले सामाखुसी गोङ्गबु सडक प्याकेज २ निर्माणका लागि २०६८ भदौ ३१ गते ११ लाख ७७ हजार ५९८.९९ रुपैयाँ लागतमा २०६७ माघ १० गते ठेक्का सम्झौता गरेको थियो तर हालसम्म यसको भौतिक प्रगति २५ प्रतिशत पुगेपछि अलपत्र छ ।

यी त प्रतिनिधि उदाहरण मात्र हुन् । यी आयोजनाहरू जब सुरु भएका थिए, तब भर्खरै गणतन्त्र आएको थियो र देश विकासको नयाँ युगमा प्रवेश गर्ने अपेक्षा थियो । तर, ती अपेक्षाहरू यिनै सडकका खाल्डाहरूमा पुरिएका छन् ।
यी ११ ठेक्कामा भौतिक प्रगति शून्य
सबैभन्दा आश्चर्यजनक त के छ भने, रद्द गरिएका अधिकांश ठेक्काहरूको भौतिक प्रगति शून्य प्रतिशत छ । यसको अर्थ, कम्पनीहरूले ठेक्का पारे, पेस्की रकम बुझे, तर काम सुरु गर्ने चासो देखाएनन् ।
तीनकुने–सिनामंगल–गौशाला (रिङरोड) जस्तो अति व्यस्त सडकको आवधिक मर्मत आठ वर्षसम्म पनि सुरु भएको छैन । तीनकुने–सिनामंगल–गौशाला (रिङरोड) को आवधिक मर्मतसम्भारका लागि ४५ लाख ७ हजार १०५.०९५ रुपैयाँ लागतमा २०७४ असार २५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी २०७३ चैत ३ गते सम्झौता भएको थियो । हालसम्म भौतिक प्रगति शून्य रहेको आयोजनाले जनाएको छ ।
एसआर/एसयुआरएन सडकको प्याकेज–२ मर्मतसम्भार गर्न जय दुर्गामाता बिल्डर्सले २०७१ असार २० गतेभित्र सम्झौता गरेको थियो । ४ लाख ७८ हजार ७४.६७ रुपैयाँ लागतमा मर्मतसम्भार गर्ने गरी २०७१ जेठ २६ गते निर्माण सम्झौता गरेको थियो, तर हालसम्म शून्य प्रतिशत भौतिक प्रगति छ ।
एसआर/एसयुआरएन सडकको प्याकेज–२ मर्मतसम्भारका लागि २०७२ असार २५ गतेभित्र सम्पन्न गर्नेगरी उग्रवज्र निर्माण सेवाले २०७२ जेठ १४ गते ठेक्का पाएको थियो । तर हालसम्म यसको भौतिक प्रगति शून्य छ । साथै यसको कुल लागत १६ लाख ५० हजार २६५.५६ रुपैयाँ लागतमा मर्मत सम्झौता गरेको थियो ।
एसआरएन/एसयुआरएन अन्तर्गत सडक (सेक्टर ४) मर्मतका लागि महाकाली भिमसेन निर्माण सेवाले १३ लाख ५६ हजार ५१५.०३ रुपैयाँ लागतमा २०७५ साउन १६ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी २०७५ जेठ १७ गते ठेक्का लिएको थियो । हालसम्म यसको प्रगति शून्य छ ।
एसआरएन/एसयुआरएन सडकको प्याकेज–१८ र प्याकेज–१९ क्रमशः ७ लाख १२ हजार ८५३.७२ र ७ लाख ३८ हजार ६८८.०६२५ रुपैयाँ लागतमा २०७२ असार २० गतेभित्र सम्पन्न गर्नेगरी राजधानी कन्स्ट्रक्सनले २०७१ चैत ३० गते ठेक्का पाएको थियो । तर हालसम्म दुवै ठेक्काको भौतिक प्रगति शून्य छ ।
अनामनगर–बीआईसीसी सडक आवधिक मर्मतसम्भारका लागि कागेश्वरी निर्माण सेवाले ६८ लाख २३ हजार ५४७.१६ रुपैयाँ लागतमा २०७४ असार २५ गतेभित्र सम्पन्न गर्नेगरी २०७३ चैत १९ गते ठेक्का पाएको थियो, तर हालसम्म यसको पनि शून्य प्रतिशत काम भएको छ ।
बीएसडी कन्स्ट्रक्सनले जिम्मा पाएको एसआरएन/एसयुआरएन सडक सेक्टर–२ मर्मतका लागि २०७५ असार २५ गते ७ लाख ९२ हजार १६८.१७ रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो, हालसम्म यसको पनि भौतिक प्रगति शून्य छ ।
२०७५ असार २५ गतेभित्र एसआरएन/एसयूआरएन सडक सेक्टर–२ मर्मत सम्पन्न गर्नेगरी जालपा निर्माण सेवा एन्ड सप्लायर्सले ७ लाख ९२ हजार ६२८.४४ रुपैयाँ लागतमा २०७५ खसार ६ गते ठेक्का सम्झौता पाएको थियो, हालसम्मको भौतिक प्रगति शून्य छ ।
यसैगरी गौरी पार्वती/देश प्रेम जेभीले १ करोड २५ लाख ५५ हजार ४८५.३७ रुपैयाँ लागतमा २०७१ असार ३२ गतेभित्र सम्पन्न गर्नेगरी टेकु नेशनल ट्रेडिङ –सोह्रखुट्टे (विष्णुमती लिंक रोड मर्मत गर्न २०७१ जेठ २३ गते ठेक्का सम्झौता भएको थियो, तर हालसम्म भौतिक प्रगति शून्य छ ।
यस्तै काठमाडौँको जक्सन सडकमा ट्राफिक सिग्नल जडानका लागि शिशिर निर्माण सेवाले २०७३ भदो १९ भित्र सम्पन्न गर्नेगरी ४ लाख १२ हजार ९४७.२ रुपैयाँ लागतसहित २०७२ भदो २० गते ठेक्का सम्झोता गरेको थियो, हालसम्म यसको पनि भौतिक प्रगति शून्य छ ।
अन्तिम चरणमा पुगेर अलपत्र
केही आयोजनाहरू भने अन्तिम चरणमा पुगेर अलपत्र पारिएका छन्, जसले निर्माण व्यवसायीको गैरजिम्मेवारीको पराकाष्ठा देखाउँछ ।
लोकविर/निलकण्ठेश्वर/शान्ति जेभीले लिएको भन्डारखाल–कालोपुल सडक मर्मतको काम ९१ प्रतिशत सकाएको छ । तर, २०७२ सालमा सम्पन्न हुनुपर्ने यो आयोजना आजसम्म पनि अधुरै छ । ६५ लाख ६३ हजार ६५१.३३ रुपैयाँ लागतमा २०७२ चैत ३० गतेभित्र सम्पन्न गर्नेगरी २०७२ वैशाख ७ गते ठेक्का सम्झौता भएको थियो ।
त्यस्तै, जमल–लैनचौर–लाजिम्पाट–पानीपोखरी–नारायणगोपाल चोक–बाँसबारी –हात्तीगौँडा–बुढानीलकण्ठ सडक मर्मतको काम ८६ प्रतिशत सकिएर अलपत्र छ । यो सडक मर्मतसम्भारका लागि आरबी/रोबी/स्लेट जेभीले ३२ लाख १ हजार १२१.०६ रुपैयाँ लागतमा २०७४ असार १८ गतेभित्र सम्पन्न गर्नेगरी २०७३ पुस १९ गते ठेक्का सम्झौता गरेको थियो ।
नारायणहिटी सङ्ग्रहालय ७९ प्रतिशत, कलंकी–नागढुंगा सडक मर्मत ७३ प्रतिशतमा अड्किएकाा छन् । थोरै काम बाँकी हुँदा पनि आयोजना सम्पन्न नगर्नुले नियतमाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।
_qRaaQ0B5bG.jpg)
नारायणहिटी सङ्ग्रहालयपूर्व सडकको आवधिक मर्मतसम्भारका लागि गोरखा एप्रोप्रियट टेक्नोलोजी फर रि–कन्स्ट्रक्सन प्रालिले ६१ लाख ६५ हजार ५६२.५ रुपैयाँ लागतमा २०७३ असार २० गतेभित्र सम्पन्न गर्नेगरी २०८२ माघ २० गते सम्झौता गरेको थियो । हालसम्म यसको भौतिक प्रगति ७९ प्रतिशत छ ।
यस्तै ओम महासरस्वती कन्स्ट्रक्सन ले डीआरओ यार्ड (प्याकेज ०६)का लागि निर्माण सामग्री आपूर्ति गर्न २०७३ साउन १९ गते सम्झौता गरेको थियो । ७ दाख ३५ हजार ३८७.६१ रुपैयाँ लागतमा सम्पन्न गर्ने गरी २०७५ भदौ ११ गतेभित्र सम्पन्न गर्नुपर्नेमा ७४ प्रतिशत भौतिक प्रगति भइसकेपछि ठेक्का रद्द भएको छ ।
कलंकी–नागढुंगा सडक मर्मतसम्भारका लागि ठेक्का पाएको ओमकार विल्डर्सले २०७५ पुस २५ गतेभित्र २८ लाख ८२ हजार ६४.१२ रुपैयाँ लागतमा सम्पन्न गर्नेगरी २०७४ चैत ८ गते सम्झौता गरेको थियो, हालसम्म यसको ७३ प्रतिशत भौतिक प्रगति छ ।
अन्य कुनको प्रगति कति ?
नयाँबस्ती–गोठाटार सडक आवधिक मर्मतसम्भारका लागि सम्झना निर्माण सेवाले २०७२ जेठ ३ गते ५१ लाख ४९ हजार ३७५.४५६ रुपैयाँ लागतमा २०७२ पुस १९ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर हालसम्म यसको भौतिक प्रगति १४ प्रतिशत मात्र छ ।
एसआर/एसयुआरएन सडकको प्याकेज–८ सूर्य जीवन कन्स्ट्रक्सन प्रालिले ८ लाख २ हजार ९३७.०३ रुपैयाँ लागतमा २०७३ असोज ११ गतेभित्र सम्पन्न गर्नेगरी २०७० मंसिर १३ गते ठेक्का सम्झौता गरेको थियो । हालसम्म यसको ७७ प्रतिशत भौतिक प्रगति पुगेको छ ।
जोरपाटी साँखु सडक ४६ लाख ४२ हजार ७९७.१ रुपैयाँ लागतमा मर्मत सम्भारका लागि सम्झना निर्माण सेवाले नै २०७२ जेठ ३ गते ठेक्का पाएको थियो । २०७२ असार ३० गतेभित्र सम्पन्न गर्नुपर्नेमा हालसम्म उक्त ठेक्काको ४५ प्रतिशत भौतिक प्रगति भएको छ ।
टीयू पहुँच सडक मर्मतको जिम्मा पाएको बेबो इन्जिनियरिङ्ग ग्रुप प्रालिले भने ठेक्का तोडेको छ । प्रालिले १ करोड १० लाख १६ हजार ६२३ रुपैयाँ लागतमा २०८० चैत ९ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी २०८० असार १० गते ठेक्का सम्झौता गरेको थियो । हालसम्म पनि ३४ प्रतिशतभन्दा बढी काम नभएपछि ठेक्का तोडिएको हो ।
सिंहदरबार–माइतीघरको फुटपाथ मर्मतका लागि पन्थ कन्स्ट्रक्सन प्रालिले ११ लाख ८४ हजार ७० रुपैयाँ लागतमा २०७५ साउन २२ गतेभित्र सम्पन्न गर्नेगरी २०७४ माघ २३ गते ठेक्का सम्झौता भएको थियो, हालसम्म ५१ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ ।
एसआरएन/एसयुआरएन सडकमा पेन्टिङ गर्न युविना कन्स्ट्र्क्सन एन्ड सप्लायर्स प्रालिले ९ लाख २१ हजार ७१७.४९६ रुपैयाँ लागतमा २०७२ खसार २५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी २०७१ चैत ३० गते ठेक्का सम्झौता भएको थियो, हालसम्म ६६ प्रतिशत भौतिक प्रगति छ ।
ढिलै भए पनि कारबाही सुरु
उपत्यकाका सडक विस्तार र मर्मत सम्भारमा ढिलासुस्ती गर्दै वर्षौँसम्म आयोजनालाई अलपत्र पार्ने निर्माण कम्पनीहरूलाई सरकारले कारबाही अघि बढाएको छ । पटक–पटकको ताकेता र निर्देशनलाई बेवास्ता गर्दै काम नबढाएका कारण सडक डिभिजन कार्यालय काठमाडौँबाट ‘ठेक्का किन नतोड्ने’ भन्दै सम्बन्धित ५७ निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधिएको थियो, यसमध्ये २५ निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरिएको हो ।
निर्माण व्यवसायीबाट पेस भएका स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का रद्द गरिएको कार्यालयका प्रमुख सुबोध देवकोटाले जानकारी दिए ।
‘यसलाई सबैभन्दा पहिला पोस्ट इभ्यालुएसन गर्छौँ । कार्यसम्पादन जमानत, धरौटीबापतको रकम, पेस्की जमानत जफत गर्छौँ र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुका साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकीसरह असुलउपर गर्न पत्रचार गर्छौँ,’ उनले भने, ‘त्यसपछि कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा प्रस्ताव गर्छौँ ।’
यसैगरी अन्य ३२ वटा अन्य रुग्ण ठेक्काको स्पष्टीकरण आउने क्रम जारी रहेको र चित्तबुझ्दो जवाफ नआए ठेक्का तोडिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण