बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ओलीको आलोचना गरेपछि द्वारिकलाललाई एमालेको कारबाही

बुधबार, ०३ मङ्सिर २०८२, २० : ०३
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • एमाले कोशी प्रदेश समितिले पार्टी अध्यक्ष केपी शर्मा ओलीका आलोचक दुई जनालाई निलम्बन गरेको छ।
  • इटहरी उपमहानगरपालिकाका निवर्तमान प्रमुख द्वारिकलाल चौधरी र झापाका मनोरथ तिवारी कारबाहीमा परेका छन्।
  • बैठकले ध्रुवकुमार सिवाकोटीलाई पदमुक्त गर्ने र अन्य दुई जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

विराटनगर । नेकपा एमाले कोशी प्रदेश समितिको नवौं बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीका आलोचक दुई जनालाई निलम्बन गरेको छ । अन्य तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ भने एक जनालाई नैतिक पतन देखिएको भन्दै निलम्बन गरेको छ । 

विराटनगरमा दुई दिन अगाडि बसेको कोशी प्रदेश कमिटीको बैठकले पार्टीको नीति र नेतृत्वविरुद्ध अराजक गतिविधि गरेको भन्दै इटहरी उपमहानगरपालिकाका निवर्तमान प्रमुख तथा पार्टीको प्रदेश कमिटी सदस्य द्वारिकलाल चौधरीलाई पार्टीबाट निलम्बन गरेको हो ।

उनलाई ६ महिनाका लागि पार्टी सदस्यतासमेत नरहने गरी निलम्बन गर्ने निर्णय गरेको अध्यक्ष घनश्याम खतिवडाले बताए । खतिवडाले चौधरीले लामो समयदेखि सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा पार्टीको नीति र मूल नेतृत्वप्रति अनास्था फैलाउने काम गरेपछि कारबाही गरेको बताए । कारबाहीमा पर्नेमा एमाले प्रदेश समिति सल्लाहकार झापाका मनोरथ तिवारी पनि छन् । 

‘हामीले द्वारिकलाल चौधरी र झापाका मनोरथ तिवारीलाई पार्टीको जिम्मेवारीबाट हटाएका छौँ । उहाँहरूले सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हित विपरीत गतिविधि गर्ने गरेकाले यो निर्णय लिनुपरेको हो,’ अध्यक्ष घनश्याम खतिवडाले भने, ‘पटक–पटक सम्झाउँदा पनि नटेरेपछि कमिटीको जिम्मेवारीबाट मुक्त गर्दै ६ महिनाका लागि निलम्बन गरिएको छ ।’

चौधरी पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचकका रूपमा चिनिन्थे । उनले सार्वजनिक मञ्च र सामाजिक सञ्जाल फेसबुकमार्फत नेतृत्वलाई खुल्लमखुल्ला चुनौती दिँदै आएका थिए । चौधरी २०७९ सालको निर्वाचन अगाडि नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका थिए । उनी सुनसरी निर्वाचन क्षेत्र २ (१)का लागि माओवादी केन्द्रबाटै उम्मेद्वार बनेका थिए । यद्यपि उनी पराजित भए । पछि पुनः एमाले फर्किएका चौधरीले अध्यक्ष ओलीप्रति आलोचना गर्न थालेपछि कारबाहीमा परेका हुन् । 

उता, बैठकले झापाका अर्का नेता ध्रुवकुमार सिवाकोटीलाई पनि पदमुक्त गर्ने निर्णय गरेको छ । बिर्तामोड नगरपालिकाका पूर्व मेयर समेत रहेका सिवाकोटीलाई नैतिक पतन हुने अभियोगमा अदालतबाट दोषी ठहर भई जेल सजाय भएको कारण देखाउँदै पदमुक्त गरिएको हो ।

सिवाकोटी बलात्कारको आरोपमा झापा जिल्ला अदालतमा मुद्दा चलिरहँदा र अदालतबाट पुर्पक्षका लागि जेल चलान हुँदा समेत उनी पार्टीको संरक्षण र पहुँचको भरमा हिरासत वा जेल नबसी अस्पतालमा बसेका थिए । हाल उनी धरौटीमा थुनामुक्त भए पनि एमालेले उनलाई सल्लाहकार सदस्यबाट हटाएको हो । यसैगरी, प्रदेश सल्लाहकार सदस्य मनोरथ तिवारी (झापा) लाई भने ‘जेनजी’ आन्दोलनमा सहभागी भएको भन्दै कारबाही गरिएको हो ।

बैठकले सामाजिक सञ्जाल र सार्वजनिक ठाउँमा पार्टी हित विपरीत गतिविधि गरेको भन्दै सुनसरीका प्राध्यापक डाक्टर बद्रीविशाल पोखरेल र काशीनाथ दंगाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पोखरेल र दंगाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा वकालत गर्दै आएका थिए । 

राजनीतिक पूर्वाग्रह भएको चौधरीको दाबी

यसैबीच आफूलाई निलम्बन गर्ने निर्णय नेतृत्वमा रहेकाहरुको राजनीतिक पूर्वाग्रही निर्णय भएको द्वारिकलाल चौधरीले प्रतिक्रिया दिएका छन् । ‘केही साथीहरूको राजनीतिक पूर्वाग्रह र दुराग्रहको परिणाम हो,’ चौधरीले भने, ‘कहिलेकाहीँ संस्था वा आप्नै हितको कुरा गर्दा सत्तामा रहेका शासक वर्गलाई अप्रिय लाग्न सक्छ ।’

उनले कारबाही फिर्ता हुने विश्वास व्यक्त गरे । ‘महाभारतको पात्र विदुरलाई धृतराष्ट्रले हस्तिनापुर छोड्न भने पनि पछि फिर्ता बोलाएजस्तै, पार्टीले यो कारबाहीको सिफारिस फिर्ता लिएर पुनः जिम्मेवारी दिने कुरामा म विश्वस्त छु,’ उनले भने, ‘महाधिवेशनको प्रक्रिया (तिथि मिति तोकिएको अवस्था) सुरु भइसकेकोले, यस्तो अवस्थामा कुनै पनि सदस्यलाई अन्तरपार्टी जनवादको उपभोग गर्नबाट वञ्चित नगर्नु भनेर केन्द्रीय कमिटीबाट निर्देशन आउन सक्छ ।’

उनले प्रदेश कमिटीले कारबाहीको सिफारिस मात्र गर्न सक्ने र माथिल्लो कमिटी (केन्द्रीय कमिटी) ले अनुमोदन गरेपछि मात्र त्यो कार्यान्वयन हुने व्यवस्था रहेको बताए । लगाइएको आरोप (पार्टी हितविपरीत वा जनविरोधी कार्य) पुष्टि भएमा मात्र केन्द्रीय कमिटीले अनुमोदन गर्ने, नभए नगर्ने उनको विश्वास थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप