सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक्लै आउनेलाई रेस्टुरेन्टले खान दिन नमानेपछि...

बिहीबार, ०४ मङ्सिर २०८२, १४ : ५७
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • दक्षिण कोरियाको एउटा रेस्टुरेन्टले एक्लै आउने ग्राहकलाई खाना खान नदिएपछि विवाद भएको छ।
  • रेस्टुरेन्टले एक्लै आउने ग्राहकलाई विभिन्न विकल्प दिएको थियो, जसले अनलाइनमा बहस सिर्जना गर्यो।
  • बढ्दो लागतका कारण रेस्टुरेन्टहरूले एकल ग्राहकलाई सेवा दिन हिचकिचाउँदा दक्षिण कोरियामा यो समस्या बढेको छ।

सोल । दक्षिण कोरियाको येओसु सहरमा रहेको एउटा नुडल रेस्टुरेन्ट विवादमा तानिएको छ ।

एक्लै खान आउनेलाई खान नदिने नीतिका कारण रेस्टुरेन्ट विवादमा आएको हो । रेस्टुरेन्टले हालै खान आउने ग्राहकसामु चार वटा विकल्प दिएको थियो । जहाँ;  एक पटकमा दुई जनाको लागि पैसा तिर्नुपर्ने, दुवै खानेकुरा खानुपर्ने, साथीलाई फोन गनुपर्ने र अर्को पटक आउँदा आफ्नी श्रीमतीसँग आउनुपर्ने विकल्प राखिएको थियो । यति मात्रै होइन, ‘हामी एक्लोपन बेच्दैनौँ । कृपया एक्लै खान नआउनुहोला’ भन्ने स्पिच बबल पनि त्यहाँ राखिएको थियो । यसले अनलाइनमा बहस चर्काएको छ । 

खाद्य वस्तु र इन्धनको भाउमा भएको वृद्धिको भर्पाई गर्न रेस्टुरेन्टहरूले आफ्नो सिट क्षमताको ‘एफिसेन्सी’ सम्भव भएसम्म धेरै बनाउन खोजेपछि दक्षिण कोरियामा एकलका लागि कतै रेस्टुरेन्टमा गएर खाना खानु कष्टकर बन्दै गएको छ । चार जना बस्न मिल्ने टेबल चारै जनाका लागि प्रयोग गर्नु राम्रो भन्दै कैयौँ रेस्टुरेन्टले टेबल हुँदाहुँदै पनि एक्लै आउने ग्राहकलाई ठाउँ छैन भनेर फर्काउने प्रवृत्ति बढेको छ । 

‘म लाइनमा एक घण्टाभन्दा बढी पर्खिएँ, तर पछि एक्लै खान आउनेलाई अनुमति छैन भनियो,’ एक व्यक्तिले अनलाइन गुनासो गरेका छन् । ‘टेबलहरू भए पनि, तिनीहरूले मलाई बस्न दिएनन्,’  उनले भनेका छन् । ‘एउटा गकबप (सुपसँग भात दिने ठाउँ)मा म एक्लै आएको बताएपछि उनीहरूले अचानक सामान नै सकिएको छ भने,’ अरू कसैले लेखेको छ ।

खानेकुराको बढ्दो भाउ, इन्धन र श्रमको बढ्दो लागतका कारण एक्लै खाना खान आउनेलाई स्वीकार गर्न चुनौतीपूर्ण भएको रेस्टुरेन्ट मालिकको तर्क छ । ग्राहकहरूलाई सेवा दिने कि नदिने वा कुन ग्राहकलाई सेवा दिने भन्ने कुरा व्यवसाय मालिकको विवेकमा भर पर्ने र यो निष्पक्ष व्यापार सिद्धान्तहरूको उल्लंघन होइन भनेर दक्षिण कोरियाको कानुनले भन्छ । सन् २०२५ मार्चमा दक्षिण कोरियाभर लगभग १ लाख ७० हजार रेस्टुरेन्टमध्ये लगभग १०.४ प्रतिशतले मात्र एक्लै खान आउनेलाई खान दिने गरेको स्थानीय पत्रिका जोङआङ डेलीले एउटा समाचारमा लेखेको थियो । 

जुलाईमा दक्षिण कोरियाकी एक युट्युबर एक्लै रेस्टुरेन्टमा गइन् । उनले दुई जनाको खाना अर्डर गरे पनि एक्लै आएको भनेर कर्मचारीहरूले उनलाई गाली गरे । उनलाई खानेकुरा पनि छिटो छिटो खान भनियो । एक जना वेटरले त उनलाई खुलेआम खानेकुरा सक्काउन कति समय लाग्छ भनेरै सोधेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप