मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पोखरामा युरोपेली सङ्घ चलचित्र महोत्सव हुने

बिहीबार, ०४ मङ्सिर २०८२, २२ : ४१
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • युरोपेली सङ्घको आयोजनामा पोखरामा १४औँ युरोपेली सङ्घ चलचित्र महोत्सव मङ्सिर ६ र ७ गते हुने भएको छ।
  • महोत्सवमा २५ चलचित्रहरू प्रदर्शन हुनेछन्, जसमा युरोपेली, बेलायती र नेपाली लघु चलचित्रहरू समावेश छन्।
  • चलचित्र प्रदर्शनी निःशुल्क हुनेछ र छलफल कार्यक्रममा चलचित्र उद्योगको भविष्यबारे अनुभव आदानप्रदान हुनेछ।

गण्डकी ।  फ्रान्स, जर्मनी र फिनल्याण्डसहित काठमाडौँ तथा  दिल्लीमा युरोपेली सङ्घका सदस्य राष्ट्रहरूलाई प्रतिनिधित्व गर्ने दूतावास तथा सांस्कृतिक संस्थाहरू तथा ब्रिटिस काउन्सिल र युनेस्कोसँग सहकार्यमा नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलको आयोजनामा यही मङ्सिर ६ र ७ गते पोखरामा १४औँ युरोपेली सङ्घ चलचित्र महोत्सव हुने भएको छ ।

महोत्सवबारे जानकारी दिन आज (बिहीबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा युरोपेली सङ्घको नेपाल प्रतिनिधिमण्डलका प्रेस तथा सूचना अधिकारी विद्या महर्जनले विख्यात युरोपेली चलचित्रकर्मी तथा उदीयमान नेपाली स्वरलाई एकैसाथ ल्याउँदै सिमानाविनाको चलचित्रको उल्लास मनाउन लागिएको जानकारी दिए।

महोत्सवमा २५ चलचित्र रहने जानकारी दिँदै उनले यसमा १० युरोपेली चलचित्र, बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनीत ६ लघु चलचित्र तथा नौ नेपाली लघुचलचित्र रहेको बताए । यी चलचित्रले पहिचान, अपनत्व, प्रतिरोध तथा रूपान्तरण आदि विषयलाई केलाउनुुका साथै हिम्मत, स्मृति तथा आशाका साझा सिनेमा–भाषालाई प्रतिविम्बित गरेको उनले जानकारी दिए ।

महोत्सवमा प्रस्तुत गरिने युरोपेली चलचित्रहरूमा पोर्चुगलबाट ‘बाञ्जो’, फिनल्याण्डबाट ‘जे भिदा’, अष्ट्रियाबाट ‘ह्याप्पी’, हंगेरीबाट ‘विथआउट एअर’ र फ्रान्स तथा इटालीबाट ‘द गर्ल फ्रम टुमरो’ छन् भने संयुक्त अधिराज्यबाट बाफ्टा लघुचलचित्र प्रस्तुतिअन्तर्गत ‘वान्डर टु वोन्डर’, ‘रक पेपर सिजर्स’, ‘मग्स क्रिसमस’, ‘मिल्क’ र ‘आडिओस’ रहेका छन् ।

त्यस्तै स्थानीय चलचित्रकर्मी तथा चलचित्र अध्यापन संस्थासँग सहकार्यमा छनौट गरिएका नेपाली लघु चलचित्र जसमा ‘ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन’, ‘चाँदनी’, ‘अबिस’ र ‘इटर्नल किनशिप’ आदि रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । यी चलचित्रले सीमाका बन्धनभन्दा माथि उठेर हाम्रा साझा मानव अनुभूतिलाई उल्लासको विषय बनाउने प्रकृतिका सिनेमा–संवाद निर्माण गरेको जनाइएको छ ।

सबै चलचित्र प्रदर्शनी निःशुल्क रहने छन् र सबै चलचित्रमा अङ्ग्रेजी सबटाइटल सामेल रहने जानकारी दिँदै पत्रकार सम्मेलनमा ब्रिटिस काउन्सिलको सहकार्यमा ‘चलचित्र उद्योगले अब के गर्ने त ?’ भन्ने शीर्षकमा छलफल कार्यक्रम समेत आयोजना गरिएको जानकारी दिइयो । छलफलमा वक्ताहरूले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चलचित्र क्षेत्रमा काम गर्दै हासिल गरेका अमूल्य अनुभव साझा गर्ने बताइएको छ । 

आफ्नो अनुभवका आधारमा उनीहरूले पोखरालाई काठमाडौँबाहिर एक सक्षम, दिगो र सम्भावनायुक्त चलचित्र केन्द्र कसरी बनाउन सकिन्छ भन्नेबारे आफ्ना विचार प्रस्तुत गर्नेछन् । गौ माया गुरुङ, जस्सु गुरुङ, प्रविण टक्की कार्की वक्ता रहेको सो छलफलमा सुनिर पाण्डे प्रस्तोता रहने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप