ओली भन्छन्– लोकतन्त्र फर्काइन्छ, सुशीलाजीले बुझ्नुपर्छ
सारांश
- केपी शर्मा ओलीले वर्तमान सरकार संवैधानिक विधिअनुसार नभएको र प्रतिनिधिसभा पुनर्स्थापना गर्ने दाबी गरे।
- ओलीले सरकारले निषेधित र अलोकतान्त्रिक व्यवहार गरेको आरोप लगाउँदै जेनजीको नाममा उपद्रव मच्चिएको बताए।
- उनले प्रधानमन्त्रीलाई लोकतन्त्र फर्काउनुपर्छ भन्न नपाइने भन्दै देशलाई माया गर्न सुझाव दिए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संवैधानिक र लोकतान्त्रिक विधिअनुसार गठन नभएकाले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै लोकतन्त्र फर्काएरै छाड्ने दाबी गरेका छन् ।
शुक्रबार युवाहरूको समूह नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) केन्द्रीय कमान्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । वर्तमान सरकारले निषेधित र अलोकतान्त्रिक व्यवहार गरेको भन्दै उनले जेनजीका नाममा उपद्रव मच्चाउने काम भइरहेको बताए ।
‘अस्ति हामीमाथि ढुङ्गा हान्न आए, एमालेमाथि ढुङ्गा हान्न आए हिजो प्रहरीमाथि ढुङ्गा हान्न गए’, ओलीले भने– ‘नेपाली जनतालाई धम्क्याएर तर्साएर अस्तिको भन्दा ठुलो विद्रोह हुन्छ भनेर प्रधानमन्त्रीले के भनेको हो ?’ उनले अनुमान हो कि योजना हो भन्दै ओलीले नेपाली जनतालाई डर देखाउने काम नगर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।
उनले सरकार संविधानअनुसार नबनेको भन्दै असंवैधानिक बाटोबाट बनेको सरकारले जेनजीका माग पुरा गर्न नसक्ने दाबी गरे । उनले लोकतन्त्र फर्काउनुपर्छ भन्न नपाइने भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे । ‘मोहन शमशेरले पनि प्रजातन्त्रका लागि सम्झौता गर्नुभएको थियो ।
सुशीला कार्की त सम्झौता पनि गर्नुहुन्न । तर लोकतन्त्र फर्काइन्छ, संविधान मास्न दिइँदैन’, ओलीले प्रधानमन्त्रीलाई भने, ‘देशलाई माया गर्न सिकौँ ।’ ओलीले गम्भीर समस्यामा फसेको भन्दै शान्तिको ठाउँमा अराजकताले राज गरेको दाबी गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण