बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउन अध्यक्ष यादवको आग्रह

आइतबार, ०७ मङ्सिर २०८२, २२ : १८
आइतबार, ०७ मङ्सिर २०८२

सारांश

  • उपेन्द्र यादवले आगामी निर्वाचनमा मतदाताले निर्धक्क भएर मतदान गर्न पाउने वातावरण बनाउन सरकारसँग आग्रह गरे।
  • उनले चुनावको वातावरण बन्नेमा शंका व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराए।
  • यादवले सेना परिचालन गरेर चुनाव गराउनु लोकतान्त्रिक नहुने बताए।

चन्द्रपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् ।

जसपा रौतहटले आज दुर्गाभगवती गाउँपालिका–४ मा आयोजना गरेको भेलामा उनले चुनाव घोषणा गरिए पनि हालकै अवस्थामा चुनावको वातावरण बन्नेमा द्विविधा रहेको धारणा राखेका हुन् । 

यादवले मतदाताले निर्धक्क भएर मतदानस्थल पुगेर मत खसाल्ने वातावरण बनाउन सरकारले सम्पूर्ण ध्यान लगाउनुपर्नेमा जोड दिए । “नेपालको इतिहासमै पहिलोपटक प्रहरीको मनोबल गिराउने काम भएको छ । निर्वाचनमा सुरक्षा दिने प्रहरीकै मनोबल उकास्न सकिएन भने समस्या हुन्छ । त्यसैले यसतर्फ बढी जोड दिनुपर्छ”, उनले भने- “सरकारले सेना परिचालन गरेर भए पनि चुनाव गराउँछु भनिरहेको छ । यो लोकतान्त्रिक हुँदैन । लोकतन्त्रमा सेना परिचालन गरेर चुनाव गरिँदैन, विश्वका कुनै पनि लोकतान्त्रिक देशमा सेना परिचालन गरेर चुनाव भएको देखिँदैन ।”

यादवले नेपालमा बहुदलीय व्यवस्था लागू भएको ३५ वर्ष बितिसक्दा पनि ठूला दलले नै निरन्तर सरकारको नेतृत्व गर्दै आए पनि देशको मुहार परिवर्तन गर्न नसक्दा पछिल्लो ‘जेनजी’ प्रदर्शन हुने अवस्था आएको टिप्पणी गरे । उनले आगामी निर्वाचनलाई देशको भविष्य परिवर्तन गर्ने महत्त्वपूर्ण मोडका रूपमा व्याख्या गरे ।

जसपाका रौतहट अध्यक्ष राजीव रञ्जन (राजु यादव) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरी, केन्द्रीय सदस्य एवं मधेस प्रदेशका पूर्वकृषि राज्यमन्त्री योगेन्द्र राय यादव, पूर्वमन्त्री शेख फुलबाबु, केन्द्रीय नेता किशोरी यादव, राष्ट्रियसभा सदस्य पूजा चौधरी, प्रदेश सांसद शोभा देवी, महिला नेत्री किरण ठाकुर, युवा नेता राजकुमार दासलगायतले आफ्नो धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप