शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राप्रपा केन्द्रीय कार्य सम्पादन समिति बैठकले के–के गर्‍यो निर्णय ?

बिहीबार, ११ मङ्सिर २०८२, २० : ०१
बिहीबार, ११ मङ्सिर २०८२

सारांश

  • राप्रपाले विभिन्न १६ वटा निर्णय गरेको छ, जसमा विधान म्याद थप र प्रधानमन्त्रीसँग भेट्ने निर्णय छन्।
  • मंसिर २३ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने र देशव्यापी सभा गर्ने राप्रपाको निर्णय छ।
  • पार्टीको अनुशासन उल्लंघन गरेको आरोपमा प्रदेश सभा सदस्य कञ्चन विच्छालाई ६ महिनाका लागि निलम्बन गरियो।

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बिहीबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ । 

पार्टीको केन्द्रदेखि सबै तहका समितिहरूको विधानको दफा ५९(२) बमोजिम, म्याद सकिएको मितिले ६ महिनाको लागि थप गर्ने निर्णय गरिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए । 

मुलुकको समसामयिक परिस्थितिमा राप्रपाको धारणा अवगत गराउन प्रधानमन्त्रीसँग भेट गर्ने निर्णय भएको समेत बैठकले गरेको छ ।

राजा, राजनीतिक दल र जेनजीकाबिच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंसिर २३ गते काठमाडाैँमा उपत्यकाव्यापी विशाल प्रदर्शन गर्ने निर्णय गरिएको छ । 

वर्तमान सन्दर्भमा आम जनसमुदायमा राप्रपाको धारणा पुर्‍याउन देशव्यापी सभा र प्रदर्शनहरूको आयोजना गर्न एवं सभा र प्रदर्शन व्यवस्थापन गर्न प्रवक्ता ज्ञानेन्द्र शाही, प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री रविन्द्रप्रताप शाह र सहमहामन्त्री धन बहादुर बुढा रहेको समिति गठन गरिएको छ ।

समान विचारधारा भएका दल, अभियान, समूह र व्यक्तिहरूसँग एकता, मोर्चा र सहकार्यका लागि वरिष्ठ नेता उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुव बहादुर प्रधान रहेको वार्ता समिति गठन गरिएको छ ।

केन्द्रीय अनुशासन समितिको सिफारिस अनुसार पार्टीका मधेस प्रदेशका प्रदेश सभा सदस्य कञ्चन विच्छालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरिएको छ । 

पार्टीको निर्देशन अवज्ञा गर्ने कार्यमा संलग्न बिच्छालाई मधेस प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने निर्णय गरिएको छ ।

⁠सक्रिय सदस्यबाट महाधिवेशनको लागि प्रतिनिधि छनौटको लागि एकीकृत निर्वाचन निर्देशिका, २०७७ ले निर्धारण गरेको सक्रिय सदस्यको सङ्ख्याको व्यवस्थालाई नै निरन्तरता दिने निर्णय गरिएको छ ।

पार्टीको विधानमा आवश्यक संशोधन गर्न कार्यसम्पादन समिति सदस्य निरञ्जन थापाको संयोजकत्वमा महामन्त्री भुवन पाठक र महामन्त्री कुन्ती शाही रहेको विधान मस्यौदा समिति गठन गरिएको छ ।

महाधिवेशनको निर्वाचन प्रयोजनको लागि साङ्गठनिक निर्वाचन निर्देशिका जारी गर्न सक्ने व्यवस्था विधानको दफा ५१(३) ले केन्द्रीय निर्वाचन समितिलाई अधिकार दिएको हुँदा सोही बमोजिम गर्न केन्द्रीय निर्वाचन समितिलाई निर्देश गरिएको छ ।

सक्रिय सदस्यता वितरणका लागि सक्रिय सदस्यता वितरण निर्देशिका तयार गर्न वरिष्ठ नेता उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष हेमजंग गुरुङ र महामन्त्री राजेन्द्र गुरुङ रहेको समिति गठन गरिएको छ भने राप्रपाबाट बागमती प्रदेशको सभामुखको जिम्मेवारीमा प्रतिनिधित्व गरेका र उक्त पदबाट राजीनामा दिएका भुवन पाठकलाई पार्टीको साविकको जिम्मेवारी महामन्त्री पदमा स्वागत गर्ने निर्णय गरिएको छ ।

त्यस्तै पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्यमा केन्द्रीय सदस्य भरत पाठक र केन्द्रीय सदस्य धनसुर शाहीलाई थप गरिएको छ ।पार्टीको जिल्ला अधिवेशनलाई अझ प्रभावकारी, व्यवस्थित र मर्यादित बनाउन पर्यवेक्षकहरू थप गर्ने निर्णय गरिएको छ ।

प्रतिनिधिसभाको निर्वाचन र पार्टीको महाधिवेशनको कार्य अघि बढिसकेको सन्दर्भमा हाल प्रक्रियामा रहेको अनुशासन कारबाहीका विषयलाई स्थगन गर्ने तर अनुशासनको उल्लङ्घन हुने नयाँ विषयलाई भने स्थगन गरेको नमानिने भएको छ ।

महाधिवेशनको कार्यतालिका तयार गरी आगामी बैठकमा पेस गर्न पार्टीका उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री डा. धवल शमशेर राणा र सहमहामन्त्री प्रकाश रिमाल सम्मिलित समिति गठन गरिएको छ ।

त्यस्तै जेनजी प्रदर्शनमा सहभागी भएकै कारणले मात्र विभिन्न ठाउँमा धरपकड गर्ने, थुनामा राख्ने कार्य भएको भन्दै राप्रपाले यस्ता कार्यको भर्त्सना गरेको छ ।

राप्रपाले तत्काल त्यस्तो कारबाही रोक्न र गैरकानुनी थुनामा रहेका कार्यकर्तालाई विना सर्त रिहा गर्न सरकारसँग माग गरिएको प्रवक्ता श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप