हचुवाका भरमा उद्घाटन, लाइसेन्स छपाइ अझै अनियमित
सारांश
- सञ्चारमन्त्रीले लाइसेन्स समस्या समाधानको घोषणा गरे पनि, उद्घाटनको तीन साता बित्दा लाइसेन्स छपाइ नियमित हुन सकेको छैन।
- सुरक्षण मुद्रण केन्द्रले दैनिक ५०० लाइसेन्स छाप्ने प्रतिबद्धता जनाए पनि, हालसम्म जम्मा १११३ वटा मात्र छापिएको छ।
- सफ्टवेयर नबन्दा र विभागको मेसिन मर्मत नहुँदा, करिब ३० लाख नागरिक राजस्व तिरेर पनि लाइसेन्सको प्रतीक्षामा छन्।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले छपाइको उद्घाटन गर्दै भनेका थिए– अब लाइसेन्स समस्या समाधान भयो ।
गत कात्तिक २१ गते काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) मा तामझामका साथ लाइसेन्स छपाइ उद्घाटन भएको थियो । जहाँ मन्त्री खरेलले भाषणले लाइसेन्स पर्खिरहेका लाखौँ सेवाग्राहीमा आशा पलाएको थियो ।
दैनिक पाँच सय वटा लाइसेन्स छाप्ने र ६ महिनाभित्र १२ लाख कार्डको ‘ब्याक–लग’ (वितरणका लागि विचाराधीन रहेका छापिएका लाइसेन्सको ठुलो सङ्ख्या) सक्ने प्रतिबद्धता त्यहाँ गरिएको थियो । तर उद्घाटन भएको तीन साता बितिसक्दा पनि लाइसेन्स छपाइ नियमित हुन सकेको छैन ।
हालसम्म एक हजारभन्दा बढी लाइसेन्स भने छापिएको छ । जबकि करिब ३० लाख नागरिक राजस्व तिरेर पनि हातमा ‘चिर्कटो’ बोक्न बाध्य छन् ।
गत भदौ २३/२४ गते भएको आन्दोलनले यातायात व्यवस्था विभागको उपकरण र सर्भरमा पूर्ण रूपमा क्षति पुगेको थियो । जसका कारण लाइसेन्स छपाइ ठप्प बन्यो । त्यसअघि विभागले दैनिक सात सय थानसम्म लाइसेन्स छाप्दै आएको थियो । आगजनीले पुरानो प्रिन्टर र प्रणाली ध्वस्त भएपछि विभाग पूर्ण रूपमा सुरक्षण मुद्रण केन्द्रको पूर्ण भर पर्नुपर्ने अवस्था आयो ।
२०८२ कात्तिक १२ गते विभाग र केन्द्रबिच ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएको थियो ।
- कति छापियो ?
दैनिक पाँच सयका दरले यो २३ दिनमा कम्तीमा ११ हजार लाइसेन्स छापिनुपर्ने हो । तर विभागका अनुसार हालसम्म जम्मा ११ सय १३ वटा लाइसेन्स छापिएका छन् । तीमध्ये १ हजार ५६ थान लाइसेन्स वितरणका लागि विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा सार्वजनिक गरेको छ ।
विभागका निर्देशक केशव खतिवडाका अनुसार अहिलेसम्म मुद्रण केन्द्रलाई अत्यावश्यक छपाइका लागि चार हजार दुई सय थान लाइसेन्सको डाटा पठाइएको छ । ‘तर केन्द्रले एक हजार एक सय १३ वटा मात्र छापेर लाइसेन्स पठाएको छ,’ निर्देशक खतिवडाले भने ।
उनका अनुसार सुरुमा छापिएका पाँच सय १९ वटा लाइसेन्स ‘स्याम्पल’ मात्रै भएकाले ती वितरण हुने छैनन् । यसो त केन्द्रले हालसम्म १ हजार ६३२ थान लाइसेन्स छापेको छ ।
- केन्द्रको मेसिनको सफ्टवेयर मर्मत हुँदै
सवारी लाइसेन्स छपाइको उद्घाटनका दिन सबै तयारी पूरा भएको दाबी गरिएको थियो । भोलिपल्टैदेखि लाइसेन्स छपाइ अघि बढाउने सुरक्षण मुद्रण केन्द्रले प्रतिबद्धता जनाएको थियो । तर नियमित छपाइ हुन सकेको छैन । विभागका निर्देशक खतिवडाका अनुसार ठुलो संख्यामा (मास प्रिन्टिङ) लाइसेन्स छाप्न आवश्यक पर्ने ‘मिडलवेयर’ सफ्टवेयर नै तयार भइसकेको छैन ।
खतिवडाले भने, ‘अहिले अत्यावश्यक लाइसेन्स मात्र छापिएको हो । सम्झौता भएको १२ लाख छाप्ने प्रक्रिया अघि बढेको छैन, त्यसका लागि सफ्टवेयर बन्दै छ, जुन अन्तिम चरणमा छ ।’ निर्देशक खतिवडाका अनुसार सफ्टवेयर बनेपछि मात्रै विभागले एकमुस्ट २ देखि ३ लाख डाटा पठाउन मिल्छ । अहिले विभागले फाट्टफुट्ट डाटा इन्क्रिप्ट गरेर पठाउने र उताबाट छापेर आउने प्रक्रियामै अल्झिएको छ ।
- मेसिन कहिले बन्छ ?
एकातिर मुद्रण केन्द्रको भर पर्दा काम भएको छैन भने अर्कोतिर विभागसँग भएको आफ्नै प्रिन्टर मर्मत हुन नसकेर कवाडी बन्ने अवस्थामा पुगेको छ ।
केन्द्रले पनि छाप्दै गर्ने र विभागले पनि आफ्नो मेसिन मर्मत गर्ने भनिए पनि अहिलेसम्म मर्मत हुन सकेको छैन । खतिवडाका अनुसार एक करोड ९७ लाख रुपैयाँ खर्चेर मेसिनको लेजर बनाउने टेन्डर प्रक्रिया अघि बढे पनि आन्दोलन र अन्य कारण देखाउँदै रद्द गरिएको छ । ‘पार्टस् नै नभएकाले मर्मतमा समस्या छ । एएमसी गरेको कम्पनीले बाहिरबाट सामान मगाएर हेर्दै छ, के रिपोर्ट आउँछ, आएपछि थाहा हुन्छ,’ खतिवडाले प्रस्ट्याए ।
नयाँ मेसिन खरिद गर्ने विषयमा विभाग आफैँले खरिद प्रक्रिया अघि नबढाएको पनि खतिवडाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण