पर्यटकीय उल्लेरी–घोडेपानी सडकखण्डमा मोटरेवल कल्भर्ट पुल
सारांश
- घोडेपानी जाने बाटोमा कल्भर्ट पुल निर्माण सुरु भएको छ।
- पुल बनेपछि पर्यटक र स्थानीयलाई यात्रा गर्न सहज हुनेछ।
- यो सडक मुक्ति मार्गको रूपमा समेत परिचित छ।
कास्की । अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्त्वपूर्ण विश्वप्रख्यात पर्यटकीय गन्तव्य घोडेपानी जाने प्रमुख सडकमार्ग विरठाँटी–तीखेढुङ्गा–उल्लेरी–घोडेपानी खण्डमा मोटरेवल कल्भर्ट पुल निर्माण सुरु भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाको उल्लेरीदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय गन्तव्य घोडेपानी जोड्ने सो सडकको अन्नपूर्ण–८ मा पर्ने मताठाटीमा आज कल्भर्ट पुल निर्माण शिलान्यास गरिएको हो ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षको योजनामा समावेश रु २६ लाख लागतमा पुल निर्माण अघि बढाएको हो । पुल निर्माणसँगै कास्कीको नयाँपुल विरेढाँटी हुँदै विश्वप्रख्यात घोडेपानी पुन हिल पुग्ने पर्यटक लाभान्वित हुनेछन् ।
बर्खाको समयमा सास्ती पाउँदै आएका स्थानीय र पर्यटकले कल्भर्ट पुल बनेसँगै वर्षभरि सहज यात्रा गर्न पाउने अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए । उनले भने, “यस सडकलाई गाउँपालिकाले महत्त्वपूर्ण पूर्वाधार परियोजनाका रूपमा लिएको छ । सङ्घ र प्रदेश सरकारको समेत लगानीमा यो सडक स्तरोन्नति भइरहेको छ । मोटरेवल कल्भर्ट पुल निर्माणलाई गाउँपालिकाले यथाशीघ्र सम्पन्न गरी बर्खायाममा हुने जोखिम तथा असुविधा न्यूनीकरण गर्ने लक्ष्य राखेको छ ।”
पुल निर्माणसँगै यातायात सहजता, जीवनस्तर सुधार र जोखिम न्यूनीकरणको अपेक्षा गरिएको छ । महत्त्वपूर्ण पर्यटकीय गन्तव्यमा बन्ने पुलले पर्यटक आगमन वृद्धिका साथै पर्यटकलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको अध्यक्ष केसीले बताए । “कल्भर्ट पुलको निर्माणले पर्यटकीय रूपमा महत्त्वपूर्ण उल्लेरी–घोडेपानी क्षेत्रको यातायात सहज बनाउने छ”, उनले भने ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाको नयाँपुलबाट यो सडक विरेठाँटी हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, शिख, घार हुँदै पालिकाको केन्द्र पोखरेबगर जोडिन्छ ।
यो सडकलाई धार्मिक सडक ‘मुक्ति मार्ग’को रूपमा समेत लिइएको छ । विगतमा पोखरा–बागलुङ राजमार्ग नबन्दा यही मार्ग हुँदै मुस्ताङ आवतजावत हुने गरेको थियो । यसलाई धार्मिक सडकका रूपमा पोखरा–मुस्ताङ जोड्ने वैकल्पिक सडकको रूपमा समेत हेरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताए ।
“बर्खायाममा जहिले पनि सास्ती थियो । हिम पाइप राखेर सवारी आवतजावत हुने गरे पनि खोलामा बाढी आउनेबित्तिकै बगाउने गरेकाले स्थानीयसँगै पर्यटकलाई समेत दुःख थियो । अहिले कल्भर्ट निर्माण सुरु भएसँगै सानो कामले पनि जनतालाई सुविधा हुने देखिएको छ,” बरालले भने ।
पोखरादेखि मुस्ताङ जोड्ने वैकल्पिक सडकसमेत रहेकाले यहाँ निर्माण हुने छ मिटर फराकिलो कल्भर्टको ठुलो महत्त्व रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण