मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
राजनीतिक दल

उज्यालो नेपालका प्रवक्तालाई प्रश्न : कुलमान घिसिङ पार्टीको प्रतीक मात्रै कि अध्यक्ष नै बन्ने हो ?

‘सबै वैकल्पिक शक्तिसँग सहकार्य र एकताको ढोका खुला राखेका छौं’
शुक्रबार, १९ मङ्सिर २०८२, १८ : ००
शुक्रबार, १९ मङ्सिर २०८२

काठमाडौं । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन आउन अब तीन महिना बाँकी छ । निर्वाचन आयोगमा १२० दल निर्वाचन प्रयोजनमा लागि दर्ता भएका छन् । तीमध्ये २० वटा नयाँ दल हुन् । यिनै नयाँ दलमध्ये एउटा पार्टी अहिले अरुको तुलनामा बढी चर्चामा छ । त्यो पार्टी हो- कुलमान घिसिङ संरक्षकत्वको ‘उज्यालो नेपाल पार्टी’ ।

पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्याय अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा मंसिर १७ गते भइसकेको छ । उक्त कार्यक्रममा पार्टीले आफ्नो घोषणापत्र समेत सार्वजनिक गरिसकेको छ । अब पार्टीले चुनावमा होमिएको संकेत दिएको छ ।  

वैकल्पिक शक्तिहरुबिच एकता र सहकार्य अहिले उठिरहेको कुरा हो । उज्यालो नेपालले चुनावमा अरु वैकल्पिक पार्टीहरुसँग कसरी सहकार्य गर्छ ? वर्तमान ऊर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको पार्टीमा कस्तो भूमिका रहनेछ ? पार्टीको उद्देश्य र आगामी कार्ययोजना के-के छन् ? लगायत विषयमा केन्द्रित रहेर उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता डा. राजु थापासँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश : 

जेनजी आन्दोलनपछि फेरि एउटा नयाँ पार्टी किन आवश्यक भयो ? पुरानै मध्येको कुनै दलमा आवद्ध भएर पनि जान सकिन्थ्यो कि ? 

विगतका आन्दोलन र क्रान्तिलाई आर्थिक विकाससँग जोड्ने स्पष्ट दृष्टिकोण र नेतृत्वको अभावका कारण क्रान्तिका उपलब्धिहरू संस्थागत हुन सकेनन् । त्यसकारण पनि ऐतिहासिक जेनजी आन्दोलन भयो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन केवल सडकमा उर्लिएको भिड मात्र थिएन, त्यो देशको भविष्यबारे चिन्तित नयाँ पुस्ताको आक्रोश, पीडा र आशाको आवाज थियो ।

विगतका आन्दोलनले राणा शासनदेखि गणतन्त्रसम्मको राजनीतिक संरचना बदलियो, तर रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सुरक्षित जीवन, समयमै सेवाजस्ता प्रश्नमा युवाले अनुभूति गर्ने सुधार पर्याप्त भएन । पुराना दलहरूले लोकतन्त्रको कुरा त गरे, तर सुशासन र परिणाममुखी शासनमा जनविश्वास दिन सकेनन् ।

उज्यालो नेपाल पार्टीलाई हामी अर्को नाम थपिएको दलको रूपमा होइन, जेनजी आन्दोलनबाट उठेका सवाललाई नीति, संस्थान र संरचनामा रूपान्तरण गर्ने एउटा प्रयासको रूपमा हेर्छौँ । यही कारण नयाँ पार्टी आवश्यक भएको हो ।

उज्यालो नेपाल पार्टीको मूल लक्ष्य के हो ? आफूलाई कसरी परिभाषित गर्नुहुन्छ ?

उज्यालो नेपाल पार्टीको मूल लक्ष्य तीन शब्दमा अटाउँछ- सुशासन, समृद्धि र सामाजिक न्याय । हामी नेपालको संविधानले दिएको उपलब्धिलाई स्वीकार गरेर अगाडि बढ्छौँ । राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै लोकतन्त्र, विधिको शासन, मानव अधिकार, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका र प्रतिस्पर्धी बहुदलीय प्रणालीप्रति हाम्रो अडान स्पष्ट छ ।

Raju Thapa UNEPA1

आर्थिक दृष्टिले हामी लोकतान्त्रिक समाजवाद, समावेशी लोकतन्त्र, बहुसांस्कृतिक राष्ट्रिय एकता र सामाजिक सुरक्षा सहितको उदार अर्थतन्त्रको पक्षमा छौँ । राज्यले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र आधारभूत पूर्वाधारको जिम्मेवारी स्पष्ट रूपमा लिने, निजी क्षेत्रलाई रोजगारी र लगानीको मुख्य इन्जिनका रूपमा सम्मान र प्रोत्साहन गर्ने हाम्रो धारणा हो ।

कुलमान घिसिङको भूमिकाबारे धेरै चर्चा छ । उहाँ पार्टीको प्रतीक मात्र कि निर्वाचनअघि अध्यक्षका रुपमा आउनुहुन्छ ?

कुलमान घिसिङ अहिले सरकारका मन्त्री हुनुहुन्छ, उहाँ उज्यालो नेपाल पार्टीको आधिकारिक पदमा हुनुहुन्न । हाम्रो घोषणासभामा समेत उहाँलाई प्रमुख अतिथिका रूपमा मात्र आमन्त्रण गरिएको हो ।

तर उहाँको काम र व्यक्तित्वले दिएको सन्देश निकै गहिरो छ । दैनिक १८ घण्टा लोडसेडिङ खेपेको देशलाई केही वर्षमै स्थिर आपूर्ति र विद्युत निर्यात गर्न सक्ने अवस्थामा पुर्‍याउन सकिन्छ भनेर उहाँको नेतृत्वले देखायो । यसले के सन्देश दिन्छ भने सही योजना, इमान्दार नेतृत्व, मिहिनेत र अनुशासन मिल्यो भने नेपालजस्तो देश बदल्न धेरै समय लाग्दैन ।

उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई कुनै देवत्वकरण गरेको होइन, परिणाम दिन सक्ने व्यवस्थापकीय नेतृत्वको उदाहरणको रूपमा लिएको छ । हामी संस्थागत नेतृत्व, सामूहिक निर्णय र पारदर्शी प्रक्रियामा आधारित पार्टी बनाउनेतर्फ केन्द्रित छौँ ।

तपाईंको पार्टीले संविधान संशोधनका एजेन्डाहरु प्रमुख प्राथमिकतामा राखेको पाइएको छ । के-केमा संशोधन गर्नुपर्छ भन्ने कुरा हो ?

संक्षेपमा भन्नुपर्दा ती सातबुँदे एजेण्डाको मूल मर्म स्थिर सरकार, मजबुत संघीयता र जवाफदेही नेतृत्व हो । शासकीय संरचना र निर्वाचन प्रणाली सुधार गरेर स्थिर सरकारको ग्यारेन्टी गर्ने । प्रधानमन्त्री निर्वाचित भइसकेपछि संसदको आधा कार्यकाल सरकार चलाउने स्पष्ट व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो प्रस्ताव छ । 

दोस्रो, संघ, प्रदेश र स्थानीय तहबीच अधिकार र दायित्वको पुनर्सन्तुलन गर्दै संघीयतालाई कमजोर होइन, जनमुखी र परिणाममुखी बनाउने ।

प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र सानो तर प्रभावकारी मन्त्रिपरिषद् बनाउने । स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गरी स्थानीय शासकीय संरचनालाई जनसरोकारमा नजिक, दलको आन्तरिक भागबण्डाबाट टाढा राख्ने । न्याय परिषद् र संवैधानिक निकायहरूलाई दलगत भागबन्डा मुक्त गर्दै संस्थागत स्वतन्त्रता बलियो बनाउने ।

एउटै निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक उम्मेदवार हुन नपाउने गरी नेतृत्वमा म्याद सीमा तोक्ने । समानुपातिक र मनोनित सांसदको सुविधा जीवनभर होइन, एकपटक मात्र हुनेगरी राजनीतिक जीवीकोपार्जनको माध्यम बनाउने प्रथाको अन्त्य गर्ने ।

यी सबै बुँदाले संविधानको आधारभूत मूल्यलाई सम्मान गर्दै शासकीय दक्षता, स्थिरता र जवाफदेहिता बढाउने उद्देश्य राखेका छन् ।

स्थिरता र शक्तिशाली कार्यकारीको नाममा अधिनायकवादको जोखिम त हुँदैन ?

हामी पूर्णरूपमा लोकतान्त्रिक मूल्य मान्यतामा अडिएको पार्टी हौँ । स्थिरता मात्रै होइन, नियन्त्रण र सन्तुलन पनि उत्तिकै महत्वपूर्ण छन् ।

संविधान, स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेस, नागरिक अधिकार र सशक्त संसद् हाम्रो लागि अस्वीकार्य नहुने न्यूनतम आधार हुन् । प्रधानमन्त्री वा कुनै पनि कार्यकारी प्रमुखलाई शक्तिशाली बनाउने भन्दा पनि जिम्मेवार र नतिजामुखी बनाउने हाम्रो उद्देश्य हो ।

लोकतन्त्रलाई केवल सरकार बनाउने प्रबन्ध होइन, राज्य शक्ति र निर्णय प्रक्रियामा सबै वर्ग, जाति, लिङ्ग, समुदाय र क्षेत्रको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने प्रणालीका रूपमा हामी बुझ्छौँ । त्यसैले लोकतान्त्रिक समाजवाद र समावेशी लोकतन्त्र हाम्रो वैचारिक मेरुदण्ड बनेको छ ।

आर्थिक रूपान्तरणको एजेन्डा धेरै महत्त्वाकांक्षी देखिन्छ । व्यावहारिक प्राथमिकता के छन् ?

हाम्रो आर्थिक एजेन्डाका केही स्पष्ट स्तम्भ छन् । पहिलो, स्वच्छ ऊर्जा हो । जलविद्युतको विशाल सम्भावनालाई प्रसारण लाइन, लगानी, बजार र राष्ट्रिय हित सुरक्षित हुने मोडेलसँग जोड्दै नेपाललाई दक्षिण एसियाको स्वच्छ ऊर्जा केन्द्र बनाउने लक्ष्य छ । घरघरको उज्यालोसँगै उद्योग, सेवा र भविष्यको राष्ट्रिय सुरक्षाको आधारका रूपमा ऊर्जा हेर्छौँ ।

दोस्रो, स्तम्भ उच्च मूल्यको पर्यटन हो । बुद्ध जन्मभूमि, सगरमाथा, हिमाल, ताल, झरना, संस्कृति, धार्मिक तथा ऐतिहासिक स्थलहरूलाई जोडेर सुरक्षित सडक, सफा शहर, वातावरणमैत्री पूर्वाधार र गुणस्तरीय सेवा सहितको पर्यटन विकास हाम्रो प्राथमिकता हो ।

तेस्रो, आधुनिक कृषि र जडीबुटी विकास । बाँझो जमिनलाई जलवायु उत्थानशील कृषि, जडीबुटी उत्पादन र एग्रो उद्योगसँग जोड्ने, उत्पादनदेखि बजारसम्मको मूल्य शृङ्खलामा राज्य र निजी क्षेत्रबीच सहकार्य बढाउने, किसानको मेहनतको उचित मूल्य सुनिश्चित गर्ने योजना छ ।

चौथो, सूचना प्रविधि र डिजिटल सीप निर्यात । नेपाली युवाको सीप, प्रतिभा र सिर्जनशीलतालाई विश्व बजारसँग सिधै जोड्ने गरी आईटी उद्योगको विस्तारमार्फत रोजगारी र वैदेशिक आम्दानीको नयाँ ढोका खोल्ने हाम्रो लक्ष्य हो । अन्तिम परिणाम के हो भने विदेशिन बाध्य युवालाई आफ्नै देशमा सम्मानजनक रोजगारीको विकल्प दिने, माइग्रेसन बाध्यता होइन, रोजाइ बन्ने अवस्था सिर्जना गर्ने हो ।

यस्ता योजना त पहिला पनि बनेका थिए । तपाईंहरुले कार्यान्वयन गर्न सक्ने आधार के छ ? 

हामीले घोषणापत्रलाई आधार मानेर अन्य दस्तावेज बनाइरहेका छौं । जस्तो, हाम्रो सन् २०४० सम्मको योजना । जसअन्तर्गत अहिलेको अवस्था तथ्य तथ्यांकमा के छ, अनि अबको ५ वर्ष, १० वर्ष, १५ वर्षमा हामी के गतिविधि गर्छौं अनि ती गतिविधिहरुले के परिणाम कति मात्रामा दिन्छन् भन्ने हामीले स्पष्ट खाका पनि बनाइसकेका छौं । त्यस अन्तर्गत हामी अबको १५ वर्षमा नेपाललाई उच्चमध्यम आय भएको देशको श्रेणीमा पुर्‍याउन सक्छौं । 

सुशासन र प्रशासनिक सुधारका विषयमा अरू दलभन्दा उज्यालो नेपाल कसरी फरक छ ?

फरक दृष्टि डिजिटल सुशासनको छ । हामी सेवा प्रवाहलाई कागजी झन्झट, दलाल र लाइनमा उभिनुपर्ने कल्चरबाट मुक्त गर्न चाहन्छौँ । नागरिकले धेरैजसो सेवा घरमै बसेर अनलाइन माध्यमबाट लिन सक्ने, ट्र्याकिङ र जवाफदेहिताको स्पष्ट प्रणाली हुनेगरी प्रशासनलाई रूपान्तरण गर्छौं । 

अर्को छ परिणाममुखी कर्मचारी व्यवस्था । तलब मात्रै खाने होइन, काम, सेवा र नतिजाका आधारमा मूल्यांकन हुने व्यवस्था लागु गर्ने हाम्रो अठोट छ । सही व्यक्तित्व, सही ठाउँमा, सही समयमा रहोस्, इमान्दार र दक्ष कर्मचारीलाई प्रोत्साहन होस्, गैरजिम्मेवार र भ्रष्टलाई दण्ड होस् भन्ने हाम्रो नीति हो ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता हुनेछ । ठुला घोटाला वा संगठित भ्रष्टाचारमा संलग्न कोही पनि कानुनी कारबाहीबाट उम्किन नदिने, गैरकानुनी सम्पत्ति छानबिन र जफत गर्ने संयन्त्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने हाम्रो योजना छ ।

पार्टीको संगठनात्मक संरचना र नेतृत्व विकास कस्तो रहनेछ ?

उज्यालो नेपाल पार्टीले आफैंलाई चुस्त, प्रविधिमैत्री र उत्कृष्टतामा आधारित संगठनको रूपमा परिकल्पना गरेको छ ।

संरचनाको हिसाबले केन्द्र, प्रदेश, जिल्ला, स्थानीय तह र वडा गरी पाँच तहको संरचना रहनेछ । तर केवल संरचना बनाएको भन्दै बस्ने होइन, प्रत्येक तहमा स्पष्ट भूमिका, कामको स्पष्ट मापदण्ड र जवाफदेहिताको स्पष्ट रेखा रहनेछ ।

नेतृत्व चयनमा हामी अवसरवाद होइन, योग्यता, इमान्दारी र जनविश्वासलाई मुख्य आधार बनाउने छौँ । पार्टीभित्रै प्रशिक्षण, सहभागिता र कार्यानुभवमार्फत नयाँ पुस्तालाई जिम्मेवारीतर्फ अगाडि ल्याइनेछ ।

जेनजी पुस्ता र प्रवासमा रहेका युवालाई कसरी पार्टीसँग जोड्ने योजना छ ?

जेनजी आन्दोलनमा सहभागी युवाले परिवर्तनको आवाज उठाए, तर त्यो आवाजलाई नीतिगत र संस्थागत धार नदिने हो भने फेरि निराशा बढ्छ । त्यसैले सुरुदेखि नै हामीले मेधावी र प्रतिबद्ध युवालाई पार्टीमा आवद्ध गरेका छौं, आवद्ध हुन विशेष आह्वान गरेका छौँ ।

देशभित्र मात्र होइन, विदेशमा रहेका नेपाली युवा पनि हाम्रो दृष्टिमा अत्यन्त महत्त्वपूर्ण शक्ति हुन् । उनीहरूको सीप, पुँजी र अनुभवलाई देशको आर्थिक रूपान्तरणसँग जोड्न डिजिटल सदस्यता, अनलाइन संवाद, नीतिगत समूह र विशेषज्ञ सञ्जाल मार्फत काम गर्ने योजना छ ।

Raju Thapa UNEPA2

हामी युवालाई केवल उपस्थितिको संख्या बढाउन होइन, नीति निर्माणदेखि कार्यान्वयनसम्मको अग्रपंक्तिमा उभ्याउन चाहन्छौँ ।

अन्य वैकल्पिक शक्तिहरूसँग एकता र सहकार्यबारे पार्टीभित्र र बाहिर केही गरिरहनुभएको छ ?

हामी आफूलाई एक्लो वैकल्पिक शक्ति भनेर देखाउन चाहँदैनौँ । यो देशमा पुरानो राजनीतिक संस्कारबाट निराश भई नयाँ बाटो खोज्ने धेरै दल, समूह र व्यक्तिहरू छन् । उनीहरूसँग मूल्य, सिद्धान्त र एजेन्डामा समानताका ठाउँ खोज्दै राजनीतिक सहकार्य र सम्भावित एकताको ढोका हामी खुला राख्छौँ । वैकल्पिक राजनीतिलाई साना-साना समूहमा विभाजन गरेर होइन, साझा एजेन्डा र संरचनामा नजिक्याउँदै अघि बढ्न सके जनआकांक्षा पूरा गर्न सजिलो हुन्छ ।

हाम्रो सन्देश छ, नयाँ सोच भएका सबै शक्तिहरूले देशको दिगो आर्थिक रूपान्तरण, सुशासन र सामाजिक न्यायका एजेन्डामा साझा प्रयोग गर्न सक्नुपर्छ ।

जेनजी आन्दोलनमा सहभागी युवा र आउने चुनावका मतदातालाई के भन्न चाहनुहुन्छ ?

जेनजी आन्दोलनले देखायो नेपाली नागरिकले जब ठोस रूपमा उभिन जान्दछ, असक्षम र अनुत्तरदायी प्रणालीलाई घुँडा टेकाउन सक्छ । अब आवश्यक के हो भने त्यही ऊर्जा र शक्ति आन्दोलन मात्र होइन, नीति र संस्थागत परिवर्तनमा प्रयोग गर्नु हो । उज्यालो नेपाल पार्टीले लोकतान्त्रिक मूल्य, संविधानको आत्मा, मानव अधिकार र स्वतन्त्रताको रक्षा गर्दै भ्रष्टाचारमुक्त, सुशासन, सम्मानजनक रोजगारी र आत्मनिर्भर अर्थतन्त्रको बाटो समातेको छ ।

हामी सबैले आ-आफ्नो स्थानबाट ‘उज्यालो भविष्यको लागि उज्यालो नेपाल’ बनाउने अभियानमा सहभागिता जनायौँ भने नेपाललाई सक्षम, स्वाभिमानी र समृद्ध मुलुक बनाउन धेरै समय लाग्दैन भन्ने हाम्रो विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप