कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
सारांश
- पूर्व सुरक्षाकर्मी सीता कँडेलको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन्, जसको चिनजान जेलमा भएको थियो।
- हत्या लमजुङको बेसीसहरमा भएको थियो, जहाँ कँडेलको शव घरमा फेला परेको थियो।
- पक्राउ परेका बुद्धिराम दराई यसअघि पनि अर्को हत्या अभियोगमा दोषी ठहर भएका थिए।
काठमाडौँ। कारागारमा कैद भुक्तान गर्ने क्रममा चिनजान भएकी एक पूर्वसुरक्षाकर्मीलाई घरमै आएर विभत्स तरिकाले हत्या गरिएको एउटा घटना सार्वजनिक भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले घटनाको अनुसन्धान गरी हत्या आरोपमा एक जनालाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो।
सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार, विसं २०८१ चैत ३१ गते लमजुङको बेसीसहर नगरपालिका-२ भकुण्डेकी ४५ वर्षीया सीता कँडेल (पूर्वप्रहरी हवल्दार) को हत्या आरोपमा चितवनको साविक बछौली गाविस (हाल रत्ननगर नगरपालिका-६) का ४७ वर्षीय बुद्धिराम दराईलाई पक्राउ गरिएको हो। दराईलाई थप अनुसन्धान तथा कारबाहीका लागि आज लमजुङ प्रहरीलाई बुझाइएको छ।
विसं २०८१ चैत ३१ गते लमजुङको बेसीसहर नगरपालिका-२ भकुण्डेस्थित सीता कँडेलको घरमा बाहिरबाट ताल्चा लागेको र सोही घरबाट दुर्गन्ध फैलिएको भनी स्थानीयले प्रहरीमा सूचना दिएका थिए।
सोही सूचनाका आधारमा घरभित्र प्रवेश गरी खानतलासी गर्दा पूर्वप्रहरी सीता कँडेलको शव उनको सुत्ने कोठामा रहेको बक्स पलङको विस्तारामुनी त्रिपालले बेरिएको अवस्थामा फेला परेको थियो। त्यसपछि उक्त विभत्स हत्याको अनुसन्धानका लागि सीआईबीबाट विशेष अनुसन्धान टोली खटिएको प्रवक्ता श्रेष्ठले बताए।
सीआईबीको अनुसन्धानबाट घटनामा चितवनका बुद्धिराम दराई संलग्न रहेको खुल्न आयो। अपराध अभिलेख हेर्दा दराई विसं २०६७ मा गोरखाकी चिनीमाया पाण्डेको हत्या अभियोगमा दोषी ठहर भएका व्यक्ति हुन्। उनलाई गोरखा जिल्ला अदालतबाट विसं २०६८ असार २० गते सर्वस्वसहित जन्म कैदको फैसला भएको थियो।
सजाय भुक्तानका क्रममा दराई भीमफेदी कारागारमा पुगेका थिए। श्रेष्ठका अनुसार, त्यही कारागारमा सुरक्षामा खटिएकी तत्कालीन प्रहरी हवल्दार सीता कँडेलसँग उनको परिचय भएको पाइएको थियो।
पछि दराई कारागारबाट छुटेका थिए। उनले पूर्वप्रहरी हवल्दार कँडेल घरमा रहेका बेला २०८१ चैत ३१ गते हत्या गरेर शव कोठामै छाडी बाहिरबाट ताला लगाएर भागेका थिए।
दराईलाई २०८२ वैशाख १५ गते लमजुङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि ब्यूरोको टोलीले खोजतलास गर्दै रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गर्न सफल भएको श्रेष्ठले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट ल्याएको आधा महिना बित्दा पनि रातो किताब आएन
-
त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाले लिए शपथ
-
पाकिस्तानमा वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते
-
सानिमा बैंकद्वारा देशभरका १०५० गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य सेवा र पौष्टिक खाना वितरण
-
शिखर इन्स्योरेन्स आईक्यानको गोल्ड अवार्डबाट सम्मानित
-
यस्तो अवस्थामा छ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, तस्बिरहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण