नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्ष : महासङ्घ र भियतनाम चेम्बरबिच सहकार्य हुने
सारांश
- नेपाल र भियतनामका व्यवसायीबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल भयो, जसमा लगानीका सम्भावनाबारे चर्चा भयो।
- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षले भियतनामका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्दै निर्यातको सम्भावनाबारे जानकारी गराए।
- भियतनाम र नेपालबीच व्यापार र लगानीका क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको र आगामी दिनमा यसलाई निरन्तरता दिने कुरामा जोड दिइयो।
काठमाडौँ । नेपाल र भियतनामबिच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा नेपाल र भियतनामका व्यवसायीबिच आर्थिक सम्बन्ध बिस्तार गर्ने विषयमा छलफल भएको छ ।
बिहीबार भियतनामको राजधानी हनोइमा भियतनामी चेम्बर अफ कमर्स इन्डष्ट्रिसँगको छलफलमा नेपाली व्यवसायीहरूले नेपालमा पर्यटन, जलविद्युत्, कृषिलगायतका क्षेत्रमा लगानीको ठुलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।
सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्तासमक्ष नेपाल र भियतनामबिच थप आर्थिक सहकार्यलाई अगाडि बढाउनका लागि आग्रह गरे । नेपाल र भियतनामबिच कूटनीतिक सम्बन्ध ५० वर्ष पुगेको उल्लेख गर्दै अध्यक्ष ढकालले अब दुई देशबिच आर्थिक सहकार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
‘दुई देशबिच आर्थिक सहकार्यको क्षेत्रमा ठुलो सम्भावना छ, म भियतनामका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दै नेपालबाट निर्यातको ठुलो सम्भावना रहेको जानकारी गराउन चाहन्छु’, उनले भने, ‘नेपालमा हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना भएकाले त्यसतर्फ पनि लगानी बढाउन म आग्रह गर्दछु ।’
उनले दुई देशका अर्थतन्त्र एक आपसमा पूरक बन्न सक्ने पनि बताए । भियतनाममा कृषि उत्पादन, सी फुड, इलेक्ट्रोनिक्स लगायतका उत्पादनको नेपाली बजारमा सम्भावना रहेको पनि उनको भनाइ थियो ।
‘नेपालमा प्रत्यक्ष विदेशी लगानीको वातावरण बन्दै गएको छ, कानुन पनि लगानीमैत्री छन्, लाइसेन्स, भन्सार र कर प्रशासनमा सुधार भएको छ, साथै विदेशी लगानीको सुरक्षामा पनि सरकार सचेत छ’, उनले भने ।
नेपालमा पर्यटन क्षेत्रमा विशेष गरी होटल, रिर्सोट, केबलकार, साहसिक पर्यटन, वेलनेस सेन्टरहरूमा क्षेत्रीय लगानी बढिरहेको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्तालाई आफूहरू स्वागत गर्न चाहेको बताए ।
उनले भियतनामी टोलीलाई महासङ्घको आगामी वार्षिक साधारणसभामा सहभागी हुन र नेपालको व्यावसायिक वातावरण प्रत्यक्ष अवलोकन गर्नका लागि पनि निमन्त्रणा दिए ।
भियतनामी चेम्बर अफ कमर्स इन्डस्ट्रीका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले आफूहरू पनि नेपालसँग थप आर्थिक साझेदारीका लागि इच्छुक रहेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घलाई भियतनाममा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले दुई देशबिच लगानी र व्यापारका क्षेत्रमा ठुलो सम्भावना रहेको उल्लेख गर्दै आर्थिक साझेदारीलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।
‘दुई देशबिच व्यापार र लगानीका क्षेत्रमा ठुलो सहकार्य छैन, यद्यपि यस क्षेत्रमा सहकार्यका लागि ठुलो सम्भावना छ, आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहनेछ’, उनले भने ।
त्यस अवसरमा थाइल्यान्ड तथा भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको ठुलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गरे ।
नेपाल र भियतनामबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्ष पुगेको उल्लेख गर्दै दुवै देशले व्यापार र लगानीका क्षेत्रमा भएको सम्भावना सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
पछिल्लो समय विश्वको अर्थतन्त्रमा नयाँ नयाँ चुनौती देखिएको उल्लेख गर्दै उनले दुवै देशले एकापसमा आर्थिक सहकार्य बढाउँदै लाभ लिन सक्नुपर्ने आवश्यकता औँल्याए। त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण