मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय परिवर्तन पार्टी खोटाङबाट राईको उम्मेदवारी घोषणा

शुक्रबार, २६ मङ्सिर २०८२, १९ : ५५
शुक्रबार, २६ मङ्सिर २०८२

खोटाङ । राष्ट्रिय परिवर्तन पार्टी खोटाङबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मिरेश राईको एकल उम्मेदवारी परेको छ ।

पार्टीले दिक्तेलमा आयोजना गरेको सभामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम निवासी २५ वर्षीय युवक राईले उम्मेदवारी घोषणा गरेका हुन् । 

महेन्द्र रत्न क्याम्पस बहुमुखी ताहाचलमा शिक्षा शङ्काय लिएर स्नातक तह तेस्रो वर्षमा अध्ययनरत उम्मेदवार राई जेनजी आन्दोलनमा सहभागी युवक हुन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि यसअघि उम्मेदवार भएका जिल्लाका अन्य उम्मेदवारभन्दा राई कम उमेरका रहेका राष्ट्रिय परिवर्तन पार्टीले दाबी गरेको छ ।

युवाको माग र पूराना राजनीतिक दलप्रति जनतामा निराशा बढ्दै गएकाले ती निराशा चिर्नका लागि आफूले राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवारी घोषणा गरेको राईले बताए । आगामी फागुनमा हुने चुनावका लागि राष्ट्रिय परिवर्तन पार्टीले सात बुँदे चुनावी घोषणापत्रसमेत सार्वजनिक गरेको छ ।

चुनावी घोषणापत्रमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली, शून्य भ्रष्टाचार, सुशासन र इमान्दार राजनीति, ‘अबको देश विकासमा नेपालका युवा नेपालमै’, जनताप्रति पूर्ण पारदर्शी सरकार, राष्ट्रिय सार्वभौमिकता र सीमा सुरक्षा तथा नेपाली भेष, न्याय, शिक्षा र स्वास्थ्यको देशलगायत बुँदा समेटिएका छन् । उम्मेदवारी घोषणासभामा सहभागी हुनुअघि दिक्तेल बजारमा चुनाव चिह्न ‘बाँसुरी’ सहितको र्‍याली प्रदर्शन गरिएको थियो ।

उम्मेदवारी घोषणा गर्नुअघि राष्ट्रिय परिवर्तन पार्टी खोटाङले २१ वर्षीय युवक तपसेन राईको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्यसमति गठन गरेको थियो ।

समितिको उपाध्यक्षहरूमा दौमन्ता राई, पवन चौलागाईं र युशन राई, सचिवमा रामकुमार राई, सहसचिवमा सुमन मगर र गङ्गा राई, कोषाध्यक्षमा ऋतु राई र सहकोषाध्यक्ष शम्भू नेपाली रहेका पार्टीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप