सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सिड्नीको बन्डी बिच गोलीकाण्ड ‘आतङ्कवादी घटना’ घोषित : १२ जनाको मृत्यु, २९ घाइते

आइतबार, २८ मङ्सिर २०८२, १७ : १५
आइतबार, २८ मङ्सिर २०८२

काठमाडौँ । अस्ट्रेलियाको सिड्नीस्थित बन्डी बिच क्षेत्रमा भएको सामूहिक गोलीकाण्डलाई प्रहरीले ‘आतङ्कवादी घटना’ घोषित गरेको छ । 

प्रहरीका अनुसार यस घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ र दुई प्रहरी अधिकारीसहित २९ जना घाइते भएका छन् ।

न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले भने, ‘गोली चलाउनेमध्ये एक जना मारिएका छन् र अर्का एक आरोपित व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।’ मिन्सले यो हमला हनुकाह पर्वको पहिलो दिन सिड्नीको यहुदी समुदायलाई निशाना बनाउन डिजाइन गरिएको बताए ।

उनले भने, ‘शान्ति र आनन्दका साथ मनाउनुपर्ने यो समुदायको उत्सव यो भयानक, दुष्ट हमलाले चकनाचूर भएको छ ।’ यो गोलीकाण्डलाई ‘आतङ्कवादी घटना’ घोषणा गरिएको उनले जानकारी दिए।

न्यु साउथ वेल्स प्रहरी आयुक्त माल ल्यान्सनले दुई प्रहरी अधिकारीसहित २९ जना घाइते भएको बताए । उनीहरुलाई सिड्नीका विभिन्न अस्पतालमा लगिएको छ र उनीहरूको अवस्था ‘गम्भीरदेखि अत्यन्त नाजुकसम्म’ रहेको छ । 

ल्यान्सनले गोलीकाण्ड स्थानीय समयअनुसार साँझ करिब ६ः४७ बजे बन्डी प्याभिलियन नजिकै भएको र त्यस समयमा हनुकाह उत्सवमा १ हजारभन्दा बढी मानिस उपस्थित रहेको बताए ।

उनले तेस्रो हमलावरको सम्भावनाबारे अनुसन्धान गर्न विशेष शक्तिहरूलाई अधिकार दिएको र अनुसन्धानमा कुनै कसर बाँकी नराखिने प्रतिबद्धता व्यक्त गरे ।

‘यो शान्त रहने समय हो। म कुनै पनि प्रतिशोध नहोस् भन्ने सुनिश्चित गर्न चाहन्छु। प्रहरीले राम्ररी अनुसन्धान गरिरहेको छ, हामीले तुरुन्तै कारबाही गरेका छौँ, र निर्णायक कदम चालेका छौँ। कुनै पनि कुराको अनुसन्धान गर्न बाँकी रहने छैन,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप