पार्टी उपाध्यक्ष पक्राउ परेपछि हर्क साम्पाङको एक्सन: देवराज लामा निलम्बित
सारांश
- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टी उपाध्यक्ष देवराज लामालाई निलम्बन गरेका छन्।
- लामालाई पुरानो बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो।
- मेयर साम्पाङले अनुसन्धानमा सहयोग गर्ने र दोषी ठहर भए कानुनअनुसार कारबाही हुने बताएका छन्।
विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टीका उपाध्यक्ष देवराज लामालाई निलम्बन गरेका छन् ।
बम विस्फोटको पुरानो घटनामा संलग्न भएको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेपछि बुधबार साम्पाङले भिडियो सन्देशमार्फत पार्टीको निर्णय र आफ्नो विचार व्यक्त गरेका हुन्।
साम्पाङले राज्यको अनुसन्धानलाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै उपाध्यक्ष लामालाई अनुसन्धान नटुंगिएसम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको घोषणा गरेका छन्।
मेयर साम्पाङले आफू सधैं ‘गलतलाई गलत र सहीलाई सही’ भन्ने पक्षमा रहेको स्पष्ट पार्दै राज्यले गर्ने अनुसन्धानमा कुनै पनि किसिमको दबाब वा प्रभाव नपार्ने बताएका छन्। उनले भने, 'राज्यले निष्पक्ष छानबिन गरोस्। उहाँ (देवराज लामा) दोषी पाइएको खण्डमा कानुन बमोजिम कारबाही हुनुपर्छ। यसमा हाम्रो केही भन्नु छैन।'
साम्पाङले थपे, 'म गलतलाई गलत नै भन्ने मान्छे हो। यदि उहाँ दोषी हुनुहुन्छ भने उहाँलाई कारबाही हुनैपर्छ। तर यदि निर्दोष हुनुहुन्छ भने उहाँलाई दुःख दिन पाइँदैन।'
अनुसन्धान प्रक्रियालाई सहज बनाउन र नैतिकताको आधारमा लामालाई पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको साम्पाङले जानकारी दिए। 'उहाँ निर्दोष साबित भएर बाहिर ननिस्किएसम्मका लागि पार्टीको पदबाट निलम्बन गरिएको छ,' साम्पाङले भने, 'यदि दोषी करार हुनुभयो भने उहाँ पार्टीबाट मुक्त हुनुहुनेछ। तर, निर्दोष भएर आउनुभयो भने हामी पुनः स्वागत गर्नेछौं।' यस विषयमा पार्टीले आधिकारिक प्रेस विज्ञप्ति पनि जारी गर्ने उनले बताए।
उपाध्यक्ष लामा पूर्व माओवादी कार्यकर्ता रहेको र विगतमा सशस्त्र द्वन्द्वमा सहभागी भएको कुरा आफूलाई जानकारी भए पनि अहिले पक्राउ गरिएको समय र सन्दर्भप्रति भने साम्पाङले आशंका व्यक्त गरे।
उनले भने, 'उहाँले विगतमा जेल भुक्तान गरिसकेको भन्ने कुरा पनि आएको छ। २०७९ सालको चुनावमा भाग लिँदा केही भएन, तर अहिले श्रम संस्कृति पार्टीको लोकप्रियता र क्रेज बढेपछि १३–१४ वर्ष वा २०–२५ वर्ष पुरानो कुरा उक्काएर पक्राउ गर्नु राजनीतिक प्रतिशोध र षड्यन्त्रको गन्ध आएको छ।'
साम्पाङले जुनसुकै राजनीतिक षड्यन्त्र भए पनि आफूहरू विचलित नहुने र देश तथा जनताको पक्षमा काम गरिरहने प्रतिबद्धता दोहोर्याएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण