सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'अब कम्तीमा २/३ वर्ष ब्याजदर बढ्दैन'

बुधबार, ०२ पुस २०८२, ११ : २८
बुधबार, ०२ पुस २०८२

सारांश

  • बैंक तथा वित्तीय संस्थाहरूले पुस महिनाको ब्याजदर सार्वजनिक गरे, जसमा अधिकांश बैंकले ब्याजदर घटाएका छन्।
  • लामो अवधिको मुद्दती निक्षेपको ब्याजदरमा पनि बैंकहरूले कटौती गरेका छन्, जसले अब २/३ वर्ष ब्याजदर नबढ्ने संकेत गर्छ।
  • बजारमा अधिक तरलता भएकाले ब्याजदर घट्नु स्वाभाविक रहेको छ, तर विज्ञहरूले ठूला परियोजना सुरु गर्नुपर्ने सुझाव दिएका छन्।

काठमाडौँ । सोमबार बैंक तथा वित्तीय संस्थाले सधैँ झैँ नयाँ महिना अर्थात् पुसका लागि ब्याजदर तालिका सार्वजनिक गरे । महिना सुरु हुनु अगावै ब्याजदर तोक्नुपर्ने व्यवस्था अनुसार बैंकहरूले यो दर तोकेका हुन् ।

यसपटक पनि सधैँ झैँ बहुसंख्यक बैंकले ब्याजदर घटाए भने केही बैंकले मात्रै यो दरलाई स्थिर राखेका छन् ।

तर, ब्याजदर परिवर्तनको मामिला यसपटक अरूभन्दा केही विशेष रह्यो । खासगरी लामो अवधिको मुद्दती निक्षेपको ब्याजदरमा संयमित देखाएका बैंकहरू यसपटक गलेका छन् । लामो अवधिका लागि धेरै ब्याज अफर गरिरहेकाहरूले पनि यसलाई तीव्र गतिमा घटाएका छन् । उनीहरूलाई पनि लाग्न थालेको छ– अब २/३ वर्ष ब्याजदर माथि जाँदैन ।

पछिल्लोपटक सार्वजनिक भएको वाणिज्य बैंकको ब्याजदर हेर्ने हो भने पुस महिनाका लागिमात्रै १३ वटा बैंकको ब्याजदर घटेको देखिन्छ । त्यसमध्ये अधिकांशको संस्थागत मुद्दतीको ब्याजदर त फ्लोर रेटमै झरेको देखिन्छ । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा पनि अब बैंकहरू उदार हुन छाडेका छन् ।

  • यस्तो छ ब्याजदरको अहिलेको अवस्था

राष्ट्र बैंकको नियम अनुसार अहिले बचत तथा मुद्दती खाताको ब्याजदरलाई २.७५ प्रतिशतभन्दा कम गर्न पाइँदैन । ब्याजदर करिडोरको तल्लो सीमा मानिने निक्षेप संकलन दर सो विन्दुमा रहेका कारण अहिले राष्ट्र बैंकले त्यही दरमा बजारबाट तरलता खिच्दै आएको छ । बजारबाट सस्तोमा उठाउने र राष्ट्र बैंकमा राखेर ब्याज खाने प्रव‌ृत्ति नमौलाओस् भनेर यस्तो व्यवस्था गरिएको हो ।

यस अनुसार अधिकांश बैंकले बचत खाताको ब्याजदरलाई न्यूनतम तहमा झारिसकेका छन् । तथ्यांक अनुसार लक्ष्मी सनराइज बैंकले २.७८ प्रतिशत, सिटिजन्स, सानिमा र सिद्धार्थ बैंकले २.७७ प्रतिशत तथा नबिल, माछापुच्छ्रे र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २.७६ प्रतिशतबाहेक अन्य बैंकको साधारण बचत खाताको २.७५ प्रतिशतमा झरिसकेको छ । यस अनुसार वाणिज्य बैंकहरूको न्यूनतम ब्याजदरको अ‍ौसत २.७५३ रहेको तथ्यांक छ ।

अहिले बजारमा अधिक तरलता हुँदा साधारण बचत खातामा ब्याजदर कम हुनु अस्वाभाविक होइन । किनभने यसमा जति पनि रकम निकाल्न र अर्काे खातामा सार्न पाइन्छ । अर्काेतर्फ साधारण बचत खाता कारोबार प्रयोजनका लागि खोलिने भएकाले यस्तो निक्षेपलाई ब्याजदरले ठुलो असर पनि गर्दैन ।

तर, ब्याजकै प्रयोजनका लागि खोलिने मुद्दती खातामा समेत अब बढी ब्याजदर पाउन छाडिएको छ । अहिले कृषि विकास बैंक, एनआईसी एशिया बैंक, प्रभु बैंक, एनएमबी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले व्यक्तिगत मुद्दती खाताको न्यूनतम ब्याजदरलाई २.७५ प्रतिशतमा झारिसकेका छन् ।

अहिलेसम्म राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आईएमई बैंकले मुद्दती खातामा न्यूनतम ३.५० प्रतिशतसम्म ब्याजदर तोक्दा अरू ६ वटा बैंकको ३.०० प्रतिशत छ । बाँकी बैंकको यस्तो ब्याजदर तीन प्रतिशतभन्दा कम नै छ ।

संस्थागत मुद्दतीको ब्याजदरको अवस्था त झनै बिजोग छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १६ बैंकको संस्थागत मुद्दती खाताको न्यूनतम ब्याजदर २.७५ प्रतिशत छ । सिटिजन्स बैंकले २.८५ प्रतिशत, नबिलले २.८० प्रतिशत र माछापुच्छ्रेले २.७६ प्रतिशत ब्याजदर तोकेका छन् ।

अधिकतम ब्याजदर पनि ह्वात्तै घट्दै

अहिले बजारमा झन्डै खर्ब रूपैयाँभन्दा अधिक तरलता छ । प्रोभिजनिङ तथा अन्य सबै व्यवस्था समायोजन गर्दा पनि झन्डै साढे ८ खर्ब रूपैयाँ बराबरको रकम लगानीयोग्य अवस्थामा देखिन्छ । अब कुनै निक्षेप संकलन भएन र कर्जामात्रै गइरह्यो भने पनि साढे ८ खर्ब रूपैयाँसम्म लगानी गर्न बैंकलाई कुनै समस्या हुँदैन ।

अहिले प्रवाहित कुल कर्जाको यो झन्डै १५ प्रतिशत हो । राष्ट्र बैंकले यो वर्ष कर्जाको प्रवाह १२ प्रतिशत रहने प्रक्षेपण गरेको अवस्थामा उक्त अनुमान पूरा हुँदासमेत १५ महिनाका लागि लगानी गर्न पर्याप्त रकम रहेको देखिन्छ ।

अझ कर्जा प्रवाहको वास्तविक दर हेर्ने हो भने यो कर्जा खपत हुन २ वर्षभन्दा धेरै लाग्ने देखिन्छ । कात्तिक मसान्तसम्मको अवस्था हेर्ने हो भने कर्जा प्रवाह दर ६.९ प्रतिशतमा मात्रै सीमित छ । त्यसकारण तत्कालीन निक्षेपको ब्याजदर घट्नु पनि अस्वाभाविक भएन ।

तर, दीर्घकालीन प्रकृतिका निक्षेप खातामा समेत अब स्वाभाविक ब्याज पाउन छाडिएको छ । बैंकहरूको ब्याजदर हेर्ने हो भने सबैभन्दा धेरै ब्याजदर अफर गरेको ग्लोबल आईएमईले ३६ महिनाभन्दा धेरै अवधिमा ५.५ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यस्तै, नेपाल बैंकमा ५.१० प्रतिशत ब्याज पाउन पाँच वर्षभन्दा बढीको मुद्दती राख्नुपर्छ । राष्ट्रिय वाणिज्य बैंकले ३ वर्षभन्दा लामो अवधिको मुद्दतीमा ५ प्रतिशत ब्याज दिँदै आएको छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ वर्ष, माछापुच्छ्रे बैंकले ३६ महिना, एनआईसी एशिया र एनएमबी बैंक र सिद्धार्थ बैंकमा त्यही ब्याज पाउन पाँच वर्षभन्दा बढीको मुद्दती खाता हुनुपर्छ । अरू बैंकले जतिसुकै लामो अवधिको खाता भए पनि ५ प्रतिशत पनि ब्याज दिँदैनन् । प्राइम कमर्शियल बैंकले त ४.२५ प्रतिशत ब्याज दिन २ वर्षभन्दा लामो अवधिको खाता हुनुपर्ने भनेको छ ।

संस्थागत खाताको व्याजदरको अवस्था त झनै कमजोर छ । अहिले एनआइएमबीको २ वर्ष र राष्ट्रिय वाणिज्य बैंकको गरेको ४ वर्षभन्दा बढी अवधिको खातामा ४.०० प्रतिशत ब्याजको अफर नै सबैभन्दा बढी देखिन्छ । सिद्धार्थ र एभरेष्ट र एनआईसी एशियाले समान व्याजदर प्रस्ताव गरे पनि यसका लागि ५ वर्षभन्दा लामो अवधिको मुद्दती खाता आवश्यक हुन्छ ।

ब्याजदर घटेको बेला सामान्यतया बैंकहरूले दीर्घकालीन कर्जा उठाउनुपर्ने हो ताकि भोलिका दिनमा ब्याजदर बढ्दा कस्ट अफ फण्ड सस्तो होस्, तर एउटा निक्षेप विभागका प्रमुख अहिले यस्तो अवस्था नरहेको बताउँछन् ।

‘हामीसँग अहिले जुन आकारको लगानीयोग्य कोष छ र जुन हिसाबले निक्षेप संकलन र कर्जा परिचालनको ग्याप बढिरहेको छ, कम्तीमा २/३ वर्षसम्म ब्याजदर बढ्दैन,’ उनले भने, ‘जतिसुकै वर्षको डिपोजिट उठाए पनि दुईतीन वर्ष महँगो लागत व्यहोर्नुपर्छ । अहिलेको अवस्थामा यसो गर्नसक्ने अवस्था छैन ।’

उनका अनुसार दीर्घकालीन ब्याजदर समेत न्यून विन्दुमा झार्नुको कारण यही नै हो ।

राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म समग्र बैंकिङ क्षेत्रको निक्षेप ७५ खर्ब ५० अर्ब पुगेको छ । यही अवधिको कर्जा परिचालन ५६ खर्ब ६७ अर्ब रूपैयाँ बराबर छ । यो अवस्थामा कर्जा निक्षेप अनुपात ७४.२१ प्रतिशत छ । बजारमा अधिक तरलता हुँदा राष्ट्र बैंकले निक्षेप उपकरण जारी गर्दै तरलता प्रशोचन गरिरहेको छ ।

विज्ञहरू अहिलेको तरलताको अवस्था सुधार गर्न राष्ट्रिय महत्त्वका ठुला परियोजनाहरू सुरु गर्नुपर्ने बताउँछन् । अर्थविद् नरबहादुर थापा अहिले बुढीगण्डकी, अपर अरुण जस्ता प्राविधिक तयारी पूरा भएका आयोजनाको निर्माण थाल्नुपर्नेमा जोड दिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप