शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

नेपालकै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बीआईए विजयी

बिहीबार, ०३ पुस २०८२, २० : ५५
बिहीबार, ०३ पुस २०८२

सारांश

  • काठमाडौंमा पहिलो ह्वीलचेयर रग्बी प्रतियोगितामा बीआईए इन्स्टिच्युटले उपाधि जित्यो।
  • फाइनल खेलमा बीआईएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ ले पराजित गर्यो।
  • प्रतियोगिता गोकर्णेश्वर नगरपालिका र नेपाल रग्बी संघको सहकार्यमा आयोजना गरिएको थियो।

काठमाडौँ । नेपालमै पहिलोपटक आयोजना गरिएको ह्वीलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि बीआईए इन्स्टिच्युटले जितेको छ। बिहीबार काठमाडौँको बौद्धमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा बीआईएले स्पाइनल इन्जरी संघ नेपाललाई ५–३ को स्कोरले पराजित गर्दै इतिहास रचेको हो। 

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ र नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा आयोजना गरिएको यो प्रतियोगिता नेपालमा ह्वीलचेयर रग्बीको पहिलो औपचारिक खेल हो।

विजेता टोली तथा खेलाडीहरूलाई नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा, गोकर्णेश्वर–५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी र अमेरिकी दूतावासका राजनीतिक अधिकृत ब्लेक गिरागोस लगायतले ट्रफी र मेडल प्रदान गरे। प्रतियोगितामा बीआईएका प्रकाश बस्नेत उत्कृष्ट खेलाडी र स्पाइनल इन्जरी संघका अनन्त राई ‘इमर्जिङ प्लेयर’ घोषित भए। दुवै खेलाडीलाई पुरस्कार स्वरूप एयर कुशन प्रदान गरियो।

बीआईएका कप्तान तथा स्पोर्ट्स डिपार्टमेन्टका संयोजक दिलीप सापकोटाले पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई खेलकुदमार्फत समाजसँग जोड्ने र उनीहरूलाई घरबाहिर ल्याएर समावेशी वातावरण बनाउने उद्देश्यले यो खेल सुरु गरिएको बताए। 

उनले ह्वीलचेयर रग्बीलाई अब संगठित रूपमा देशभर विस्तार गर्नुपर्ने र यसका लागि नेपाल रग्बी संघले प्रशिक्षण तथा प्रतियोगिताहरूलाई संस्थागत रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए। बीआईए इन्स्टिच्युटले लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरूको सीप र आत्मनिर्भरताका लागि काम गर्दै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप