बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सडक कथा

राजधानी नजिकको दुर्गम तरङ्गाको तीन दशक लामो सास्ती : अब कुद्नेछन् पिच सडकमा गाडी

७०० घरधुरी रहेको तरङ्गाको भाग्य र भविष्यसँग जोडिएको सडक
शनिबार, ०५ पुस २०८२, १४ : ००
शनिबार, ०५ पुस २०८२

सारांश

  • वीरेन्द्रनगरदेखि तरङ्गा जोड्ने सडक कालोपत्रको काम सुरु भएको छ, जुन ३७ किलोमिटर टाढा छ।
  • सडक निर्माणले स्थानीयको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ, जसले गर्दा यातायात र आर्थिक गतिविधिमा सहजता आउनेछ।
  • सडकको अभावमा तरङ्गाका बासिन्दाले भोग्नुपरेका समस्या र अब सडक बनेपछि हुने परिवर्तनबारे चर्चा गरिएको छ।
00:00 / NaN:NaN
Audio By AI

सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगरदेखि झन्डै ३७ किलोमिटरको दूरीमा रहेको दुर्गम गाउँ तरङ्गा जोड्ने सडक कालोपत्रको काम बल्ल सुरु भएको छ ।

ट्र्याक खोलिएको करिब तीन दशकपछि उक्त सडक कालोपत्रको काम अघि बढेको हो । यो सडक राजधानी वीरेन्द्रनगरदेखि सुरु हुने कर्णाली राजमार्गअन्तर्गत बराहताल गाउँपालिकाको हुर्केबाट दक्षिणतर्फ कुम्भीकोट हुँदै भेरी नदीको किनार जोड्छ ।

भेरी नदी वारि र पारिका फाँटमा अवस्थित साबिक तरङ्गा गाविस अहिले बराहताल गाउँपालिका–४ मा रूपान्तरण भएको छ । राजधानी नजिकै भए पनि यातायातको सहज सुविधा नभएको तरङ्गामा बल्ल सडक पूर्वाधारको कामले गति लिन थालेको हो ।

अहिले कालोपत्र हुन थालेको सडक हुर्केदेखि तरङ्गाको क्युरेनी (माथिल्लो तरङ्गाको भेरी वारि किनार) सम्म करिब १७ किलोमिटर हो । क्युरेनीबाट साझाघाट–कुटा हुँदै भेरी नदी किनारैकिनार पञ्चपुरी नगरपालिकाको जामु जोड्छ यो सडकले ।

sadak kalopatre hudai photo (1)

जामुबाट कुइने हुँदै कर्णाली नदी पारि सुदूरपश्चिमको कैलारीसँग जोड्ने रणनीतिक मार्ग हो यो । यद्यपि पहिलो चरणमा हुर्केदेखि तरङ्गा क्युरेनीसम्मको मात्रै स्तरोन्नति हुन लागेको हो । लामो समयदेखि उपेक्षित यो सडक बहुवर्षीय तथा केन्द्र र प्रदेश सरकारको सहलगानीमा निर्माण भइरहेको हो ।

कुल ६१ करोड ५९ लाख ३० हजार रुपैयाँ लागत रहेको सडक कालोपत्रको जिम्मा खड्का कृष्ण/श्याम, शङ्कर जेभी काठमाडौँले २०८० असार २० मा लिएको हो । २०८३ असार १७ सम्म समयसीमा रहेकोमा अहिलेसम्म ६५ प्रतिशत भौतिक प्रगति भइसकेको पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक सूर्यबहादुर शाहीले रातोपाटीलाई बताए ।

हालसम्म हुर्केदेखि बरडाँडा दक्षिणको खोलासम्म करिब ४ किलोमिटर कालोपत्र भइसकेको छ । मङ्सिर महिनादेखि कालोपत्रको काम सुरु भएको निर्माण कम्पनीका प्रतिनिधि कमलकुमार केसीले बताए ।

‘हामी धमाधम काम गरिरहेका छौँ, असार १५ को लक्ष्य भए पनि त्योभन्दा अगाडि नै काम सम्पन्न गर्ने हाम्रो प्रतिबद्धता छ,’ उनले भने । क्युरेनीसम्म भनिए पनि त्योभन्दा अगाडि करिब २ किलोमिटर स्ट्रक्चर निर्माणको काम पनि भएको उनी बताउँछन् ।

यस आयोजनाका लागि प्रदेश सरकारले यो वर्ष ६ करोड विनियोजन गरेको छ भने अपुग भए थप व्यवस्थापन गर्ने निमित्त निर्देशक शाहीले बताए ।

ठेलेर बसकाे यात्रा (1)

  • गोरेटोदेखि पक्की सडकसम्मको भित्री कथा र नागरिकको अवस्था

तरङ्गाका स्थानीय समाजसेवी बलबहादुर कठायतका अनुसार २०४८ सालमा विश्व खाद्य कार्यक्रमको सहयोगमा हुर्केदेखि तरङ्गासम्म गोरेटो बाटो खन्ने काम सुरु भएको थियो ।

‘त्यसबेला ज्याला स्वरूप ३ किलो चामल र ५० रुपैयाँ नगद पाएर हाम्रा पुस्ताले पहाड खपेका थिए,’ कठायत स्मरण गर्छन्, ‘माओवादी द्वन्द्वको एक दशक तरङ्गावासीले त्यही गोरेटोमा पैदल यात्रा गरे ।’

२० को दशकमा बसोबासको सुरुवात भएको मानिने तरङ्गा अहिले पनि सञ्चार, विद्युत् जस्ता आधारभूत कुराहरूको पहुँचबाहिर छ । गोरेटो बाटो खनिनुभन्दा अगाडि वीरेन्द्रनगरभन्दा चिसापानीतर्फ निर्भर थियो तरङ्गा ।

शान्ति प्रक्रियापछि २०६३ सालमा जिल्ला विकास समितिको १० लाख र सामुदायिक वनहरूको लगानीमा हुर्केदेखि माथिल्लो तरङ्गासम्म ट्र्याक खोलियो । २०६४ मै कच्ची सडक पुगे पनि त्यसपछि उचित स्तरोन्नति हुन सकेन । घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य साँघुरो सडकले स्थानीयलाई सधैँ सास्ती दियो ।

२०७४ को प्रदेश सभा निर्वाचनपछि सांसद विन्दमान विष्टको पहलमा सङ्घ र प्रदेश सरकारको साझेदारीमा बजेट विनियोजन भएपछि मात्र यसले गति लिन थालेको हो । सुरुमा ३ मिटर चौडाइको परिकल्पना गरिएको यो सडकलाई अहिले ५ देखि ६ मिटर बनाइँदै छ ।

झन्डै ७०० भन्दा बढी घरधुरी रहेको तरङ्गावासीको भाग्य र भविष्यसँग जोडिएको यो सडक खण्डमा अहिले धमाधम कालोपत्रको काम सुरु भएसँगै स्थानीयको मुहारमा खुसी छाएको टीकाराम मल्ल बताउँछन् ।

‘हामी राजधानी नजिक छौँ, तर हामीले अझै दुर्गमता झेलिरहेका छौँ,’ उनले भने, ‘यस क्षेत्रका बासिन्दाका लागि यो सडक विकासको मेरुदण्ड मात्र होइन, आर्थिक गतिविधिको ढोका पनि हो ।’

ठेलेर बसकाे यात्रा (2)

  • गाडी चढ्न पनि सङ्घर्ष गर्नुपर्ने बाध्यताको कथा

अहिले तरङ्गामा गाडी पुगे पनि यात्रा गर्न यहाँका नागरिकलाई सङ्घर्ष गर्नुपर्छ । वीरेन्द्रनगरदेखि तरङ्गा पुग्न एक दिन लगाउनुपर्ने बाध्यता छ ।

स्थानीयका अनुसार वीरेन्द्रनगरको एरिचोकबाट दिउँसो दुई बजेका लागि तरङ्गा जाने बस छुट्छ । तर बसको सिट रोज्न बिहान ९ बजे नै पुगिसक्छन्, तैपनि कहिलेकाहीँ सिट पाउन मुस्किल हुन्छ । बसले मान्छेभन्दा धेरै सामान बोक्छ । चाडपर्वका समयमा त यात्रु क्षमताभन्दा दुई गुणा बढी यात्रु र त्योभन्दा धेरै सामान बोक्छ ।

किनकि यहाँ बसबाहेक सामान बोक्ने अन्य सवारी चल्दैनन् । ‘क्षमताभन्दा धेरै मान्छे र सामान बोकेपछि बस मान्छे हिँडेभन्दा पनि बिस्तारै गुड्छ,’ स्थानीय गगन मगर भन्छन्, ‘अनि बेलुका ७–८ बजेमात्र तरङ्गा पुगिन्छ, जबकि यसको दूरी जम्मा ३७ किलोमिटर मात्र छ ।’

बीच बाटोमा यात्रु ओराल्दै र फेरि बसभित्र ठेल्दै भगवान् भरोसामा तरङ्गा पुग्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । उनी थप्छन्, ‘कुम्भीबोटको अग्लो डाँडाबाट भिरको ओरालोमा यात्रा गर्दा मुटु नै काँप्छ ।’

सडकको अवस्था र यातायातको सिन्डिकेटका कारण यहाँ दैनिक एउटा मात्र बस चल्छ । स्थानीयहरूले यो समस्याबारे नेताहरूमाथि प्रश्न उठाएको वर्षौँ भयो, तर अन्त्य भएको छैन । अझ आश्चर्यको कुरा के छ भने यहाँका नागरिकले बस चढ्नका लागि अघिल्लै बेलुका बसका सिट उप्काएर घरमै लैजान्छन् ।

फाँट भए पनि सिँचाइ अभावका कारण यहाँ पर्याप्त अन्न उत्पादन हुँदैन । खाद्यान्नदेखि हरेक कुरामा तरङ्गा वीरेन्द्रनगरमै निर्भर छ ।

वर्षायाममा पानी पर्नासाथ सडक अवरुद्ध हुन्छ । असार, साउन र भदौ महिनामा सडक बन्द हुँदा तरङ्गामा नाकाबन्दीकै अवस्था सिर्जना हुने गरेको साझाघाटका सुकवीर घर्ती बताउँछन् ।

‘जेठमै तीन महिनाका लागि चाहिने चामल र खाद्यान्न ल्याएर राख्नुपर्छ, नत्र भोकमरी झेल्नुपर्छ,’ उनी भन्छन् । भेरी नदीका दुवैतर्फ रहेका बस्तीहरू अझै पनि शिक्षा, स्वास्थ्य र विद्युत्को सहज पहुँचमा छैनन् । सडक अभावमा बिरामीलाई अस्पताल पुर्‍याउन समेत ज्यानकै बाजी लगाउनुपर्ने अवस्था छ ।

अहिले सडक कालोपत्र भएसँगै यो बाध्यताको अन्त्य हुने विश्वास उनी व्यक्त गर्छन् । सडक बनेपछि गन्तव्यमा समयमै पुग्न र स्थानीय उत्पादनको बजारीकरणमा सहजता आउने घर्तीले बताए । ‘तरङ्गावासीको वर्षौँदेखिको सडक सास्ती अन्त्य हुनेछ र आवतजावतमा सहज हुनेछ,’ उनले भने ।

सडक कालोपत्र सम्पन्न भएपछि तरङ्गाको मुहार फेरिने विश्वास गर्छन्, बराहताल–४ का वडाध्यक्ष बिर्खबहादुर सिजापति । उनका अनुसार कालोपत्रपछि २४ सै घण्टा साना सवारी र एम्बुलेन्स चल्नेछन् । ‘बिरामी पर्दा सहजै अस्पताल पुग्न सकिनेछ र स्थानीय उत्पादनले बजार पाउनेछ,’ उनले रातोपाटीसँग भने ।

सडकको सहज पहुँचसँगै पर्यटकीय क्षेत्र बराहताल पुग्ने पर्यटकको सङ्ख्या बढ्ने र यसले आर्थिक गतिविधिमा तीव्रता ल्याउने वडाध्यक्ष सिजापतिको अपेक्षा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप